BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

मोह समाजसेवीको काम ?

Published on Sunday, March 27, 2011 8:33 AM //

                                                        -गणेश बानियाँ
प्रत्येक बिहिवार घाम अस्ताए देखी शुक्रवारको मध्य रात सम्म मेरो लागि व्यस्त समय भएको छ । म बुर्बरो पनि दोहामा आजकल समाजसेवी भई टोपलेको छु । अरु कसैले समाजसेवी नभनिदिए पनि मलाई समाजसेवी भन्न मन लाग्छ कसैले स्वघोषितको पगरी नै किन मलाई नलगाइदिउन । म समाजसेवी हुँ र मलाई समाजसेवी बन्नुमा गर्व छ । मन भरी रंगिन सपनाहरुको चाङ्ग लगाएर यो रेगिस्तानलाई आफ्नो कर्मभुमी बनाएको पनि करिव चार बिस महिना भइसकेछन् । दोहाको शहरमा बर्षे झरीमा च्याउ उम्रे सरी उम्रेका बिभिन्न संघ संस्थाहरु यत्र तत्र छन् । कति संघ संस्था सकुशल छन् कति को अस्तु बिलाई सकेका छन् तै पनि संघ संस्था बिलाएर के भयो र म त्यही संघ संस्थाको भुतपुर्ब हर्ता कर्ताको नाताले मेरो समाजसेबीको पगरी कसैले खोस्न सकेका छैनन् क्यार । व्यापार व्यबसाय वाट बनेको खानदानीया समाजसेवी बन्न नसके पनि मलाई अफसोच छैन म सानै समाजसेवी हुँ र यसैमा चित्त बुझाएको छु ।
                                     हप्ताको छ दिन सम्म एक छाक खव्वुजको भरमा मैले बगाएको पसिनाले कतार धेरै सििाचत भएको छ । कहिले काही लाग्छ ति बनेका ठुला ठुला गगनचुम्वी भवनहरु मेरै पसिनाका प्रतिफल हुन् । मलाई यो पसिना र यसवाट आर्जेको सानो द्रव्यवाट आफ्नो सुदुर भबिष्य सोच्ने कुनै लालच छ्र्रैन । मलाई लालच त बर्षमा एक पटक आउने संघ संस्थाहरुको साधारण सभामा लाग्छ । संघ संस्थाको कुनै पदमा भइयो भने बर्ष भरीका लागि मैले नबिकरण गर्न पर्दैन मेरो समाजसेवी पदका लागि । त्यसैले साधारण सभाताका मेरो अन्य बेलाको भन्दा चुरीफुरी अलि बढी नै हुने गर्छ । म त्यसताका आफ्नो केही भएको इमान्दारीता मात्र हैन मान्छे पनि किनबेच गर्न पछि पर्दिन । मलाई मात्र पद चाहिएको छ । पदको भोको भन्नुस् या अन्य कुनै उपनामलाई मैले पचाउन सक्छु र पचाई रहेको पनि छु । नेपालमा हँुदा दुई चार जना मान्छेका अघि उभिन डर लाग्ने मलाई आज भाषण गर्न आसन पनि मिल्छ । यो मेरै समाजसेवी पदको कमाल हो । मलाई त्यसैले त यो पद छोड्न मन लाग्दैन कतिले त लिसो पनि भने होलान् खैर मलाई कुनै प्रवाह छ्र्रैन काग कराउदै जान्छ पिना सुक्दै जान्छ ।
                                                  संघ संस्थाद्धारा आयोजना गरिएका कुनै कार्यक्रमहरुमा हामी सबै छ्यासमिसे समाजसेवीले भरिएका हुन्छौं । पार्टी जिल्ला गाउ पेशा आदी इत्यादीको एक- एक जना प्रतिनिधी बोलाउदा पनि धन्दै एक सौ त अतिथि नै हुने रहेछ । दर्शक भन्दा अतिथिले भरिएको कार्यक्रमको रौनक नै अचम्मको बर्णन गरि नसक्नुको हुने रहेछ । कुनै दोहोरी कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरिरहेको आभास दर्शकहरुलाई होला न होला तर मलाई भने पक्कै हुन्छ । केही समाजसेवीले तीखो बाण रुपी बचन प्रयोग गर्छन् ठग दलाल र मानव तस्करहरु अनि केही आफुलाई लगाइएका आरोप निराधार हुन् भन्नमा नै समय खर्च गर्छन् । हावा नचलि पात पक्कै हल्लिएनन् होला तै पनि तिनीहरुको मधुर बोलीले दिएका प्रष्टीकरणहरु निराधार हुन् या आधार दैब जानुन । कोही बोल्न दिइएन भन्छन् कोही मान हानी भन्छन् कोही आसन पुगेन भन्छन् बिचरा आयोजकहरु समाजसेवीको चित्त बुझाउन नसकेर खिन्न हुनु सिवाय अरु कुनै उपाय छैन ।
                            कति कार्यक्रमहरुमा म आफै पनि खिन्न भएको छु । संगै ड्यासमा बसेका समाजसेवीहरुले खादा ओड्दा मलाई पनि खादा ओड्ने रहरको भुत सवार नभएको पक्कै हैन । अमिलो मन लगाएर कति पटक मैले पनि अरुले खादा ओड्दा ताली बजाएको छु । कहिले सोच्थे कतै आफै गएर बजारमा खादा किनेर आयोजकलाई खादाद्धारा मलाई सम्मान गर्नका लागि आग्रह गरौं कि अरु समाजसेवीले के गर्थे खै आफै किन्न पैसा दिन्थे या आयोजकले नै किनि दिन्थे तर मलाई खादा ओड्न नपाउँदाको रिस यहा उल्लेख गरिसक्नुको पक्कै छैन । अझ त्यहा सहयोगका नाममा पैसाको बोल कवोल गर्दा को परिदृष्य बताई सक्नुको छैन । कुनै ठुलै सरकारी कामको आयोजनाका लागि टेन्डर हुदै छ । सहयोगका लागि नाम लेखाउनेहरुको तछाड मछाडको रमिता पनि अचम्मैको हुने रहेछ । ति सबै बोल कवोल गर्नेहरुले पैसा दिन्थे वा दिन्थेनन् त्यो त आयोजक या कवोल गर्ने समाजसेवीहरु नै जानुन् त्यै पनि आयोजकले चर्को स्वरमा दर्शक माझ तालीको लागि आग्रह गरिहदा मलाई भने तालीको आवाज पनि कर्कश स्वर जस्तो लाग्दथ्यो । आफु संग पनि तिनै पैसावाल समाजसेवीको जस्तै पैसा भएको भए बिसेक हजार नेपाली रुपैयाले नाम लेखाउने इच्छा जागिरह्यो तिर्न पछि उधारो या किस्तावन्दीमा तिर्दै गरे पनि ।
                                     म आफ्नो समाजसेवी पद जोगाउन सबै चिज गुमाउन तयार भएको लिसोलाई कति पटक त इज्जत भए पो बेइजेत हुन्छ भन्नेहरुको बद्ख्वाई नसुनेको कहाँ हो र नगद नारायणका अघि महादेवको पनि त्रिनेत्र बल्छ भन्थे हो रहेछ यहँँ पनि त्यो सुत्रले धेरै हद सम्म काम गर् यो । कतिलाई त एक तुर्कोको भरमा नै मैले आफ्नो वनाएँ । कतिलाई माग बढी भएर भाउ बढाउन सोकेसमा राखिएको समान जस्तो पटक पटक मोलतोलले आफ्नो बनाए । कतिलाई बच्चालाई फकाए जसरी फकाएँ हप्काँए अफसोच आफ्नो बन्न सकेनन् । बैगुनीलाई गुनले मार्नु पर्छ भनेर बाराम्वार म पछि लागि रहे हप्काइरहें सम्झाइरहें । तिनै बच्चा ठानिएकाहरु आज मेरो समाजसेवी पद खोस्न लागि रहेका छन् रे । हिजो तिनीहरुलाई स्याल ठाँने आज िसंह भएका छन् रे । हिजो मेरो एक छत्र रजाईको समाजसेवी पद आज कतै पत्झड बृक्ष जस्तो उराठ बनाउने पो हो कि भन्ने डरले मेरो मनमा ठुलो घर गरेको छ । साम दाम दण्ड भेद जे पनि गर्न तयार छु म समाजसेवी हुँ र समाजसेवी बनिरहनु पर्छ । बाघ बुढो र स्याल तन्नेरी कदापी हुन सक्दैन सबैलाई चेतना भया ।
गोरखा
 हाल -कतार
इमेल-ganeshbaniya@gmail.com

Tags:

0 comments

Leave a comment