BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

सरकारलाई एनआरएनको पत्र

Published on: Friday, November 25, 2011 //


-चर्चित ढुंगेल
दोहा-श्रीमान्/श्रीमति/सुश्री ६०१ को सरकारमा हामी एनआरएन अर्थात् ‘नव रङ्गी नेपाली’को हार्दिक नमस्कार, ढोग, नमन, साष्टाङ्ग दण्डवत्, सलाम, रामराम, लाल सलाम, जय नेपाल र लास्टाँ सलामवालेकम!
सर्वप्रथम त हाम्रो नामाकरणको रहस्य सरकारलाई सुनाउँन चाहन्छौँ। नयाँ नयाँ देशमा गएर नेपाली राजनितिको नयाँ रङ्गले, नयाँ ढङ्गले प्रचार प्रसारमा लाग्ने भएकाले र समस्यामा परेका नेपालीदेखि कोशौँ टाडा भाग्ने भएकाले हामीले हामीलाई एनआरएन भनेका हौँ र यो एनआरएनको पूरा रुप ‘नव रङ्गी नेपाली’ हो। हामी छेपारोले झैँ रङ्ग फेर्न र चुनावका बेला चेपारो घस्नमा माहिर छौँ। हामी यो नयाँ जमानामा नेपाललाई नयाँ बनाउनमा लाग्ने प्रणले संस्थागत भएकाले पनि हाम्रो नाम सार्थक छ भन्ने हामीलाई लाग्या छ। नामको सार्थकतापछि कामको सार्थकतातिर हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ। 
                   स्थापनाकालदेखि हामीले गर्दैआएका महान उपलब्धीलाई हामी यहाँ बाँढ्न पाउँदा खुसीले गद्गद् भएका छौँ। हामीले गरेको सवैभन्दा महान काम हाम्रो संस्थाको स्थापना हो। पृथ्विनारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेजस्तै ‘हाम्रा साना स्वार्थले आर्ज्याको संस्था होइन’। संस्था गठनपछि हामीले विश्वभरि शाखा खोलेर यो रसियाब्यापी संस्थालाई विश्वब्यापी बनाउन महान भुमिका खेल्यौँ। त्यसपछि हामीले बर्षैपिच्छे नयाँ पार्षद् थप्यौँ र पुराना पार्षद्लाई नविकरण गरायौँ। पार्षद् थप्दा र नविकरण गराउँदा हामीले मोटो रकम बटुल्ने नितिलाई निरन्तरता दियौँ। मोटो रकम असुल्ने तर परिआउँदा लुक्ने हाम्रो रणनितिले गर्दा हामीले उन्नाइसौँ लाख नेपालीमा एक लाखभन्दा कम सदस्य बनाउन सफल भएका छौँ। तर यस्तो हुनुलाई हाम्रो कार्यशैलीसँग बितृष्णा भएर सदस्य नबढेका हुन् भन्ने सरकारलाई लाग्छ भने हामी गम्भिर असहमति जाहेर गर्दछौँ। खास कुरो के हो भने ‘धेरै विरालाले मुसो मार्दैनन्’ भनेर प्रवाशी नेपालीहरुले ‘नव रङ्गी नेपाली’ जस्तो महान संस्थालाई चुस्त, दुरुस्त र तन्दुरुस्त पारीराख्न जम्बो टोली नबनाएका हुन्। चार करोड जनतामा छ सय एक सभाषद् हुनु पनि नेपाली जनताको यस्तै उदार भावनाले हो भन्ने हाम्रो बुझाइ छ। त्यसैले सदस्य संख्या बढाउन नसक्नु भन्दा पनि नचाहनुमा सरकारको पनि हाम्रैजस्तो बुझाइ हुनुपर्छ भन्ने हाम्रो माग छ।
अन्य केही महान उपलब्धीलाई हामीले यहाँ उल्लेख गरेनौँ भने गम्भिर त्रुटी हुने देखिएकाले हतारहतार हामी भनाइ र गराइमा कठिबद्ध नभए पनि यो पत्रमा लिपिबद्ध गर्न चाहन्छौँ। हामीले खाडी र मलेशियामा रहेका नेपालीलाई समेट्नुका पछाडिको कारण गुह्य छ। र त्यो के भने अन्य मुलुकमा भन्दा ति मुलुकमा काम गर्न गएका लाटासिधा नेपालीलाई फस्ल्याङ्गफुस्लुङ्ग पारेर सदस्य बनाउन सकिन्छ भन्ने भित्रि ‘ग्राइनडिजाइण्ड’ हो। यसरी एकपटक चिप्लो घसेर बसमा पारियो भने रकम हातालागी भइहाल्छ। फेरि तिनै देशमा अन्य देशमा भन्दा धेरै संख्यामा नेपाली कामदार छन्। हाम्रा सदस्य पनि तिनै देशमा धेरै छन्। यो यसै निति अनुसार सम्भव भएको हो।
एकसय वियासी दिन कटेकालाई सदस्य बन्न पाउने नियम बनाउनुको पनि बेग्लै कथा छ। हाम्रो मुख्य सदस्य भएका खाडी राष्ट्र र मलेशियामा तिनले चाहेर पनि युरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि देशमा जस्तो ‘ग्रिन कार्ड’ पाउँदैनन्। बरु पाए भने सिधै ‘रेड कार्ड’ पाएर नेपालै फर्किन्छन्। खाडी र मलेशियामा भएका श्रमिकको लागत पनि ख्वाप्पै र खटाइ पनि दह्रो अनि कमाइ पनि कम हुने भएकाले छुट्टिमा आउँदैजाँदै गरे पनि धेरै बर्ष बस्ने गरेका छन्। यसो हुँदा धेरै बर्ष दुहुनु गाईलाई जस्तै तिनलाई हामीले दोइरहन पाउँछौँ। कहिलै थारो नहुने गाईका रुपमा हामीले तिनलाई बर्गिकरण गरेका छौँ। एजेण्ट वा म्यानपावर कम्पनिलाई विदेश्याएवापत दिएको रकम उठाउनै तिनलाई एक सय वियासी दिन भन्दा बढि लाग्छ र करैले पनि बस्नुपर्छ। त्यही मौकामा हामी तिनलाई पार्षद् बनाइहाल्छौँ। खास कुरो यही हो।
हामीले सामुहिक लगानीको कुरो जोडतोडले उठाएका छौँ। किन पनि भने हामी नेपालीमा कहीँकतै कोहीसँग पनि मेलमिलाप छैन। खुट्टा तान्ने, छिर्की हान्ने गर्नमा हामीले ‘पिएचडि’ गरेका छौँ। कहिलै मिल्न नसक्ने नेपाली स्वभाव थाहा पाएर नै हामीले यो कुरोलाई अघि बढाएका हौँ। मिलाउनै नसकिएपछि लगानी गर्नै परेन। त्यसै पनि यो नारा लोकप्रिय भएकै छ। नारा लोकप्रिय हुनु भनेको ‘नव रङ्गी नेपाली’ लोकप्रिय हुनु हो र यो लोकप्रिय हुनु भनेको बर्षेनी पार्षद् बढ्नु र अर्थतन्त्र बलियो हुनु हो। नेपालमा चुनाव गर्नु चाहीँ सरकारलाई जनबल देखाएर मनोवल गिर्न नदिनु हो। यत्ती गरेपछि आलोचित हुनु पर्दैन भन्ने हाम्रो ठम्याइ छ। नेपालमा दर्ता गछौँ भन्ने चैँ ‘हात्तीको देखाउने दाँत’ हो। दर्ता गरेर केही गर्न नसकिने सत्यलाई गोप्य राखे पनि काम नगरेको आधारमा सरकारले खारेज गर्ला र फोकटमा आउने नाम र दामलाई गुमाइएला भनेर हो।
सरकारसँग हाम्रा केही मागहरु छन्। हामी नेपालीहरु म्ाागेरै काम चलाउँछौँ, यो हाम्रो राष्ट्रिय चरित्र हो। त्यही भएर हामीले दोहोरो नागरिकता मागेका हौँ। खासमा यसरी हामीले दोहोरो नागरिकता माग्नुका पछाडिको राज पनि गज्जबको छ। हामीमध्येका उमेद्वारहरु सवै केही न केही ब्यावसाय गर्नेहरु छौँ। यो एनसिसि र आइसिसि दुवैमा लागु हुन्छ। मन मात्रै हुनेलाई हामीले पार्षद्मै थन्क्याएर धन हुनेहरुलाई मेजर पोष्टमा तानेका छौँ। यि सवै पउँचवालाहरुलाई कालान्तरमा ग्रिन कार्ड मिल्ने देशमा ल्याउने हाम्रो योजना हो। त्यसमा पनि खाडी र मलेशियामा भएकाहरुका लागि यो दोहोरो नागरिकताका कुरा सकेसम्म लुकाउने गरेका छौँ। लुकाउनकै लागि तिनले श्रमिक ल्याएर अलपत्र पार्दा पनि ‘तैँ चुप मैँ चुप’ गरेर बसेका हौँ। किनकी हामी पश्चिमी देशमा भएकाहरुलाई बसेको देश र नेपालको नागरिकताको खाँचो छ। खाँचो किन पनि परेको हो भने यो ‘नव रङ्गी नेपाली’को संस्थामा हामीलाई हाम्रो पार्टीका मान्छेले धकेलेर/बोकेर पठाएका हुन्। भोली नेपालमा राजनिति गर्न र त्यो नभए पनि कमसेकम दशैँमा ससुरालीमा टिका थाप्न भए पनि जानै पर्छ। त्यसैका लागि मात्रै दोहोरो नागरिकताको खाँचो हो। दिने भए आउँछौँ, नदिने भए यत्रैसित्ती!
क्यान्सर कार्की
‘दमाहा’ सचिव
तथा नव रङ्गी नेपाली परिवार
अमेरिका/युरोप/रुस/क्यानाड र अष्ट्रेलिया

जय फेसबूक !

Published on: Saturday, September 17, 2011 //

चर्चित ढुंगेल


हाँस्यब्यङ्गयकार गुरु मनोज गजुरेल फेसबूकलाई ‘बेवकुफबूक’ भन्नुहुन्छ । यसलाई तपाईँ ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरुले यसलाई केटी पट्याउने वा केटो लठ्याउने प्रेमजाल भन्लान् । कोही कोही यसलाई विज्ञापन गर्न सकिने गतिलो थलो मान्लान् । कसैका लागि यो भात/पानी विर्सिने ठाऊँ बन्ला । कसैले यसलाई जुवा/तास, जाँड/रक्सीकै नशाजस्तै ठान्लान्/मान्लान् । धेरैलाई यो ‘म्यारिज ब्यूरो’ होला । जसले जे नाम दिए पनि मैले चाँही फेसबूकलाई एउटा विशेष नाम दिएको छु । यो नाम चित्त नबुझे दावी/विरोध हाल्नु होला ।
                              तर मलाई तपाईँले दावी/विरोध हाल्नु होला भन्ने ‘सय मनमा एक मन’ पनि लागेको छैन । त्यत्रो गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद्को आसन्न अधिवेशनका अगुवा उमेद्वारहरुले ‘फलानो संस्थाले मलाई फलानो पदमा जा भनेकाले मैले फलानो पदमा जाने निर्णय गरेको छु, हाम्रो संस्थाले हामीलाई फलानो पद चाहिन्छ भन्दै आएको छ र मलाई त्यो पदको उमेद्वार बनाएर पठाएको छ, त्यसैले मलाई त्यही पद चाहिन्छ’ भनेर आफ्नो विचार नभएका र आफ्नो बलबुताले नभ्याएर संस्थाको बुइ चढेर हाक्काहाकी उभिँदा त तपाईँले दावी/विरोध गर्नुभएन भने मेरो कुरोमा के को दावी/विरोध गर्नुहुन्थ्यो त ‘खजुर खाएर ?’ राजनितिक, जातिय, क्षेत्रिय, ब्यावसायिक संस्थाको प्रतिनिधिले भुत्राको श्रमिकको हितमा काम गर्छ ? गरे पनि आफ्नै पार्टीको, आफ्नै जातिको, ब्यावसायी ब्यावसायीको र निकटका नातेदारको उद्धार, सहयोग र सम्मान गर्ला । सवैलाई समेटेर, सवैको प्रतिनिधित्व गर्न नसक्ने भनेकै बुइ चढेर आउनेहरु हुन् र तिनका पछिल्ला अभिब्यक्तिले नै तिनको भावी छवी दर्शायो । ‘बोकेको कुकुरले मृग मार्दैन’, ‘प्वाल परेको डुङ्गाले पारि तार्दैन’ ।
फेसबूकलाई मैले ‘सामाजिक जञ्जाल’ भन्ने गरेको छु । मैले यसलाई सामाजिक जञ्जाल भन्नुका पछाडिको कारण पनि काइदाको छ । भैँसी दुहुन गएको भैरव भण्डारीले पाडोले थुन नपगारुञ्जेललाई एउटा ‘स्टाटस’ लेख्न बस्यो । स्टाटस लेखेपछि उसलाई अरुले छोडेका स्टाटस र ‘नोट’ हेर्न हतार भो । केही नोट र फोटामा ‘कमेन्ट’ ग¥यो । तीन जना साथीलाई ‘ह्याप्पी बर्थडे’ लेखिभ्याउँदा पाडोले फाँचोभरीको दुध खाइभ्यायो । त्यसपछि श्रीमतिको सत्तोसराप मिसिएको गाली, कालो चिया र निस्तो भात खायो । अव आफैँ भन्नुस्, यो ‘सामाजिक जञ्जाल’ हो रहेछ कि नाइ ?
                               राती अबेरसम्म, दिउँसो जागिर खानेले कार्यालयमा, बेरोजगारीले घरैमा, ससुरालीमा, माइतमा, यात्रामा, गोठालोमा, गाडीमा, आँगनमा, पिँडीमा, मझेरीमा, पँधेरीमा, खेतमा, सिँडीमा जहाँ पनि फेसबूक चलाउनेको कमी छैन । विहान आँखा मिच्दै, राती नसुती, दिउँसो उङ्दै फेसबूक चलाउँदै गरेको देखिन्छ । फेसबूक चलाउँन नपाउँदा ज्यानै दिने/लिनेहरु पनि देखिएका छन् । कम्प्युटरमा झुत्तिनेहरुको संख्यामा असंख्य बृद्धि भएकाले फेसबूकले धेरैको बुद्धिमा बिर्को लाएको छ । झन् मोवाइलमा पनि दनन चल्दिनाले ओछ्यानमै दिमाख फनन घुम्छ र निदा्रदेवीको ध्यान भंग गरेको छ ।
उपन्यासकारले आधा उपन्यास यही फेसबूकले गर्दा पूरा गर्न सकेको छैन । महाकविले महाकाब्य, खण्डकविले खण्डकाब्य, आदिकविले आधा काब्यलाई अघि बढाउन सकेको छैन । कथाकारले कथाको सार नै बिर्सियो । कविले धेरै कविताहरुलाई फेसबूकमा साथी बनाएर असली कविता लेख्नै सकेन । निबन्धकार फेसबूककै परिबन्धमा परेको छ । गीतकारले गीतिचेत हरायो । गजलकार फजलकार भएर विलय हुँदैछ । नियात्राकार त झन् फेसबूक वाहेक अन्त यात्रा गर्नै छाड्यो । यसरी हेर्दा गँजेडीलाई गाँजाले गाँजेजस्तै फेसबूकले मान्छेको दिमाख र दिललाई अँठ्याको छ । हामीलाई फेसबूक लोग्ने/स्वास्नीभन्दा प्यारो भएको छ र नै लोग्नेले/स्वास्नीले फेसबूक चलाउँदै गर्दा एकअर्कालाई बोलाउँदा बोल्न गाह्रो भएको छ । यसैका कारण धेरैको घर बिग्रेको र सम्पत्ति निख्रेको छ ।
हेर्दाहेर्दै यो फेसबूक चोर, डाका, फटाहा, जाली, धुर्त, ढाँट, अत्याचारी, ब्याभिचारी र भिखारीको बैठक अड्डाजस्तो भएको छ । चोर र डाकाहरुले इनबक्समा म्यासेज गरेर कहाँ, कसरी, कैले चोरी गर्ने योजना यही फेसबूकमार्फत् बनाउँदा हुन् । डाकाहरुले मात्र होइन, डाकाका काकाहरुले पनि डकैटीको योजना र खजानाका बारेमा यही फेसबूकमा छलफल गर्दा हुन् । फटाहा, जाली, धुर्त र ढाँटहरुले यही फेसबूकमा फटाईँ, जालझेल, धुत्र्याइँ र ढाँट्ने कर्म गर्दा हुन् । अत्याचारी र भ्याभिचारीहरुले सदाचार र ब्यावहार शुद्धिको ज्ञान यही फेसबूकमा बाँढ्दा हुन् । भिखारीहरुले पनि भिख माग्ने गतिलो थलो यही फेसबूकलाई बनाउँदा हुन् । नोट बाँढेर भोट माग्नेहरुले पनि यही फेसबूकलाई सारथी बनाएका होलान् ।
एउटा ब्यापारी चाउचाउको विज्ञापन यही फेसबूकमा गर्दो छ । एउटी कथाले मागे/नमागे अनुसारको शरिर देखाउने मोडल यही फेसबूकमा हेर्न नहुने गरी जिउ देखाउँछे । तीन जना छोराछोरीकी आमा र छ जना छोराछोरीको बाऊ यही फेसबूकमा कुमार/कुमारी भएको जिकिर गर्छन् । एउटा अ/कवि दशजना कविका सयवटा कविताबाट एक एक लाइन कपि गरी पूर्ण कविता बनाउँछ र यही फेसबूकमा महान कवि कहलाउँछ । उसको कविता पढ्नेले लेखिदिन्छ— ‘महाकविपछिको कवि तपाईँ नै हो ।’
वादविवाद गर्ने अखडा भएर लोग्ने स्वास्नीको झगडासम्म यही फेसबूकले गराउँछ । तरुनी तन्नेरीहरुले यही फेसबूकलाई स्कुल, कलेज मान्दिन्छन् । धेरैले पढाइ हापेर फेसबूक अपनाएका छन् । खसी मरेकोदेखि तारा झरेकोसम्म, बच्चा जन्मेकोदेखि छोरी अन्मेकोसम्म, विदेशिएकोदेखि रक्सी पिएकोसम्म, भात हानेकोदेखि लात हानेकोसम्मका स्टाटस र फोटाले फेसबूकको पर्खाल पोतिदिन्छन् मनुवाहरु । हाकिमले हप्कायो भने यही फेसबूकले दुःख पाउँछ । प्रेमीले सतायो भने यही फेसबूकको अनुहार कालो हुन्छ । रिङ्गटा चल्दा र तालुमा आलु फल्दा पनि यही फेसबूकमा लेखिदिन्छ मान्छेले । एकजना अमेरिकीले यो फेसबूक बनाएर संसारकै दिमाखलाई कैद गरेर राखे वा ! अमेरिकीहरुको दिमाखलाई मान्नै पर्छ गाँठे । खप्पर उस्तै भए पनि तिनको दिमाख अलि उच्च कोटीको हो कि क्याहो ? एउटा दिमाखले अरबौँ दिमाखलाई नियन्त्रणमा लिनु र भएको अलिकति बुद्धिमा पनि बिर्को लाइदिनु सानो कुरो होइन । आऊ कैद गर मेरो दिमाखलाई पनि मार्क जुकर्बर्ग ! जय मार्क, जय फेसबूक !!

कुरो बुझे मारिदिनु !

Published on: Wednesday, August 24, 2011 //

 -चर्चित ढुंगेल

                                                      
चतुरेलाई हरेक विहान कसै न कसैले उठाउनु पर्छ । उसलाई उठाउनु हेमानेको मुढो उठाउनु जस्तै गाह्रो हुन्छ । कुम्भकर्णको पछिल्लो सन्तान भन्दा फरक पर्दैन उसलाई र ऊ पनि सहमतिले नै होला कसैले यसो भनिदिँदा सर्पले फँणा फिँजाएजस्तै गरेर गिजा देखाएर हाँस्छ । मानौँ कुम्भकर्ण साँच्चै नै उसैको जिजुबाजे हो र ऊ उसैको साखासन्तान ।
                   चतुरे यसरी भुस भएर सुत्नुको पछाडिको कारण पनि काइदाको छ । परदेश आएको पचास दिन नभइ उसले पाएसम्मका तरुनीका फोन नम्बर यहाँका रौथाने ठिटाहरुबाट उठायो । खानलाई पाएको करिब चार हजार नेपाली रुपैयाँ उसले पालैपालो नेपालदेखि यहाँसम्मका तरुनीलाई÷अर्काका स्वास्नीलाई फोनेर सकेछ र कालो अनुहार पारेर झन्डै झन्डै आँशु नै झारेर ऋण माग्न थालेछ । दाताहरुको कमी नभएको यो नेपाली समाजमा उसले मागे अनुसारको रकम पाएको छ र त्यो रकम फोनेर सदाएको छ ।
                                     दिनभरि ताता घाममा लखतरान भएर परान जाने गरी खटेर फर्किएपछि नहुहाइ शुरु हुन्छ उसको फोन संवाद । साथैमा छँदैछ चुरोटको सर्को र लुमाको सुर्को चिरिप्प । पकाएर खानुपर्ने उसको भान्छाघरमा खान बाहेक ऊ पकाउन औँशी-पुर्णेँमा पस्छ । प्रायः अरुले नै उसलाई ज्वाईँ मेजमान गराउँछन् । घरमा आमाबुवा श्रीमति र तीनजना सन्तान छन् भन्छ । तिसँग बोलेको थाहा पाउने देख्ने पुरै कम्पनिमा कोही छैन । तर हरेक दिन फोनमा झुण्डिएको नदेख्ने कोही छैनन् । मागेर चलाएको कम्प्युटरमा लण्डनदेखि लाओससम्मका तरुनीसँग च्याट गर्छ । कसैलाई दिदी÷बहिनी आमा÷सानिमा भनेको मैले मात्र होइन कसैले देखेकै÷सुनेकै छैन ।
                     अहिलेको इन्टरनेटको जमानामा फेसबूक चलाएर बेवकूफ हुनेहरुमा ऊ पनि अघिल्लो पंतिमा पर्छ । तरुनी बाहेकका साथी नबनाउने तर हरेक तरुनीका लागि अलग अलग खाता खोल्ने निति छ उसको । रेगिस्तानमा बसेर च्याट गरिरहँदा ऊ उसको ठेगाना रसिया बताउँछ । कतारको कुनै पार्कमा राम्ररी नघुमेको उसले धेरैलाई सार्क राष्ट्रमा परिभ्रमण गरेको सुनाइरहेको हुन्छ । थर मिल्ने मन्त्री वा नेता वा सभाषद्को छोरो भनेर उसले आफुलाई चिनाइरहँदा छेवैको म हिनहिनाइरहेको हुन्छु । कुनै तरुनीले कामका बारेमा सोधिन् भने "अक्सफोर्ड युनिभरसिटीमा पढ्छु भन्दिन्छ । पचास दिनमै पाँच सय बढि तरुनीलाई साथी बनाउन सक्नु कमसेकम मजस्ता तन्नेरीका लागि जीवनभरीको प्रयासले पनि असम्भव होला । यसमानेमा उसलाई धेरैले गुरु थपना गरेका छन् कसैकसैले त "मलाई पनि मिलाइ दे न !" भनेर उसको नामै जपन थालेका छन् ।
अव पत्रिका मात्रै रहेन उसले पनि त्यही उपाधि पाएको छ- "प्ले ब्वाई" । यसको नेपाली अर्थ हुन्छ- "खेल्ने केटो" । यही शब्दलाई सार्थक पार्न ऊ मोवाइल र कम्प्युटरमा आधारातसम्म खेलिरहन्छ- हरेक दिन नयाँ नयाँ तरुनीसँग । राती अबेरसम्म अनिदो बसेकाले ऊ विहान कुम्भकर्ण सुत्छ । यसो गरेर कतिपटक ड्युटी हापेर सुतेको छ ऊ । कतिपटक उसलाई लाने गाडीले छोडेर हिँडेका छन् । कतिपटक त तरुनीसँग च्याट्टिन उसले जानीजानी छुट्टि मारेको छ । ड्युटी नगएको दिनको तलब कटाएर अरु ऊसँगै काम गर्नेको भन्दा आधाउधी तलब थाप्छ उसले र त्यो फोनेर सिध्याउँछ । नेटमा देखेको र बोलेकै भरमा उसले धेरैलाई किम्ति उपहार पठाएको छ । घडी मोवाइल कि्रम र पाउडरादि ।
                                  चनमति इन्टरनेटकी किरो हो । दिनमा दर्जन बढि तन्नेरीसँग च्याट नगरी÷मोवाइलमा कुरा नगरी उसको मन भरिँदैन । ऊ रेगिस्तानमै कार्यरत छे । तर ज्यान जाला ऊ आफुले आजसम्म मिसकल बाहेक एककल कुनै तन्नेरीलाई गरेकी छैन । उसले इन्टरनेटमा बनाएका केटा साथी जत्ति छन् ति सवैको मोवाइल नम्बर राखेकी छे उसले । त्यसैले पैसाको खनखाँचोपर्दा मिसकल गर्न उसलाई सजिलो भएको छ । नेपालमा भएको श्रीमान्लाई पनि ऊ महिना महिनामा मिसकल गर्छे । उसको श्रीमान्ले उतैबाट फोन फर्काउँछ तर उसले यताबाट पैसा नफर्काएको बर्षौँ भयो । पछिल्लो सातादेखि चनमतिले चतुरेजस्तो ुदिलफेँक आसिकु पाएकी छे । चनमतिको मिसकल आउने बित्तिकै चतुरे अचेल चम्किलो चेहरा पार्छ र फोन मार्छ । धेरैचोटी चतुरेले चनमतीको मोवाइमा रिचार्ज कार्ड हालिदिएको छ । धेरैचोटी चतुरेले चनमतीका मोवाइलमा ब्यालेन्स ट्रान्सफर गरेको छ । भर्खरै मात्रै पनि चतुरेले चनमतीका लागि जोडदार सपिङ्ग गरीभ्यायो । सपिङ्ग महलमै हुँदा चतुरेकी घरकीले छोराछोरी नाङ्गै भएको खबर सुनाइथी तर उसले श्रीमतिको कुरो एक कानले सुनेर अर्को कानले उडाएको थियो ।
                         चतुरेले चनमतीजस्ता धेरै तरुनीसँग च्याट्यो तर उसलाई चनमतीजस्ती चाखलाग्दी कोही लागेनन् । त्यही भएर उसले चनमतीका लागि दिलोज्यानले खर्च गरेको छ । यो खर्च गराइमा उसले उसका घरका बाआमा श्रीमति र छोरछोरीलाई कहिल्यै सम्झेन । उसलाई "यसो नगरु भनेर सम्झाउनेलाई पनि कट्टर दुश्मन सम्झ्यो । अचेल कम्पनिमा ऊ कसैसँग बोल्दैन । ऋण दिनेहरुले बेल्चाको बिँढ देखाइसके । उसकी श्रीमतिले यो थाहा पाएर अर्को समाती । सुनिन्छ छोरछोरीको बिचल्ली छ रे ।
                           चनमतीले चतुरेजस्ता दर्जन बढि तन्नेरीको साथ पाएकी छे । उसको मोवाइल र थैली कहिल्यै खाली रहँदैन । उपहारादिले कोठा भरिभराउ छ । ऊ कुनै तन्नेरीलाई पनि "खर्च नगर परदेशमा कमाउन आएका तपाईँ दाजुभाइले कमाएको यतै सकेपछि घरमा के पठाउने " भनेर कहिल्यै सम्झाउँदिन । बरु चतुरेजस्ता धेरै धतुरेले ढाँटेजस्तै उसले पनि आफु अविवाहित भनी ढाँटिदिन्छे र कुरैले सवै थोक आँटी दिन्छे । यो कुरो थाहा पाएर चनमतीको घरबुढाले दुई छोरी पुलबाट खोलामा फलेर हिँड्यो जेलतिर । सुन्छु चनमतीका बुढा सासुससुराको हरिविजोक छ रे ।
                     विचरा चतुरे धतुरे र फतुरेहरु चनमती मनमती र धनमतीहरुका चिल्ला कुरामा फसेर घुँडा धसेर कमाएको स्वाहा पारिरहेछन् । दयालाग्दा चनमती मनमती र धनमतीहरु पनि चतुरे धतुरे र फतुरेहरुलाई डसिरहेछन् तिनका बाचा र कसममा फसाइरहेछन्÷फसिरहेछन् । छँदाखाँदाको घर बिगारेर श्रृंगारिएर परपुरुष÷परस्त्रीसँग नारिएर हिँड्नुभन्दा आफ्नै पौरखले कसैलाई नठगी गौरवले खानुमा जुन सुख छ त्यो कुनै र कोही मान्छेबाट पाइन्छ भने आफ्नै घरकी÷घरकोबाट पाइन्छ ।
                      उप्रान्त चतुरे र चनमतीहरुले गती नफालुन् । घर जलाएर आगो नतापुन् । मझेरी खनेर आँगन नपुरुन् । कसैलाई नठगुन् । कसैलाई नढाँटुन् । मेरा यि हात्ती कानले कसैको घर बिग्रेको सुन्नु नपरोस् । कसैको घर बिगारेर कसैलाई केही फाइदा छैन । एक पति÷पत्नी एक प्रेमी÷प्रमिका मानवका लागि काफी छ । बहुललाई घुमाउँदा आफैँ घुमिन्छ । कुरो बुझे मारिदिनु !
                                                                       

हयाप्पी “भालेटायम ” डे !

Published on: Sunday, August 14, 2011 //

-चर्चित ढुंगेल
१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोजु थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, विनोदे ,लालु ,कमले, गब्बा ,अम्बरे ,मालु ,रने, मिाजले ,चक्रे, बले ,सुन्सा ,कर्ने ,निशान, राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर÷ब्वाइफ्रेण्ड हौ ।”
उसले थपि- “तिम्रो यो खाइलाग्दो जिऊ देखेपछि मलाई घिऊसँगको भात पनि रुच्न छोडेको थियो र फुकी माग्न जोगवीरे धामीको छोरा मानवीरेलाई भेट्न सातामा तिन चोटीसम्म गएकै हुँ । घरैको धाराको पानी नरुचेर लभडाडाँमुनीको पँधेरोमा उतैको ऐँठेसँग पानी लिन नगएकी हैन । हेर मलाई निद्रा नपरेर चुम्बकध्वजकी छोरीकामा जाने बहाना बनाएर गोबरध्वजका चार छोराहरु पिलन्धरध्वज लम्पटध्वज खप्परध्वज र पापडध्वजसँग चार रात विताएकै हुँ । रै पनि तिम्रो सम्झनाले रनाको छुटाएपछि म तिमीलाई भेट्न आएकी छु ।”
उसले जोड दिँदै भनि- “आजैका मितिमा तिमीले मलाई र मेरो पवित्र÷पहिलो प्रेमलाई स्वीकार गर् यौ भने म आफुलाई धन्य ठान्नेछु । जीवनमा आफुले रोजेको बर पाउनु र खोजेको घर पाउनु ठूलो कुरा हो भनेर मेरी आमाले पोइला जानुअघि भनेकी थिइन् । तिम्रो पहाडजस्तो छाती र दरबारजस्तो घर देखेर म यो काँडैकाँडाको बाटो टेकेर आएकी छु । तिमीले मलाई तिम्री धर्मपत्नि मान्यौ भने म तिमीलाई कहिल्यै गुनासो गर्ने ठाऊँ नदिने बाचा गर्छु महावीरेलाई जस्तै । बैदारचोकको रमेशे शुक्रबारेको रजुवा र बेलडाँगीको बाघेलाई दिनमा एकचोटी पनि याद गर्ने छुइँन । बरु तिमी मेरो छोरो पोष्टेलाई अस्वीकार गर बिन्ति म सुकुमारीलाई स्वीकार ।”
उसले नम्र भएर सम्हालिँदै एकै सासमा थपी- “हाम्रो खान्दानमा चोखो प्रेम गर्ने परम्परा छ । मेरी ठूली दिदीले तेस्रो घरबार नबिग्रेको भए सातौँसम्म पुग्नुपर्ने नै थिएन । पछिल्ला भिनाजुले ६ जना भण्ट्या¨भुण्टु¨सहित दिदीलाई नयाँ दुलहीका रुपमा िभœयाएकै हुन् । तिमी नै सोच न मेरी दिदीले कत्रो कृति राखी । मान्छेलाई नाम राख्न कति गाह्रो छ अचेल !
उसले नम्र भएर भनी- “झन् माइली दिदीको त के कुरा गर्नु उसको प्रेम कहानी त देश विदेशमै चर्चित छ । दिल्लीमा दुई बर्ष बिताएर आएकै महिनामा बम्बइ गएर छत्तिस महिनापछि फर्किए लगत्तै खाडी गएकी छे । उसले त पैसा मात्र हैन परिवार पनि कमाएकी छे । नपत्याए मेरी सानीमालाई अहिले फोन गरेर सोध । उसका तिनजना अनेक रंग र वर्णका छोरा घरैमा हुर्िकँदैछन् । भर्खर भन्दैथिइ पेटमा अर्को पनि बढ्दैछ रे । पैसा पनि आठ महिनामा तीस हजार पठाइसकी ।”
ऊ आत्मसम्मानका साथ अगाडि भन्दैगइ- “मेरी साँइली दिदीको पनि जिन्दगी कम्ती जोशिलो छैन । ऊ भनेपछि त गाऊँका मात्र हैन सहरका जोईटंग्रेको पनि होषहवास उड्थ्यो । उसका पछि लाग्नेको ताँती देखेर सजै जिल पर्थे । तर उसले कहिल्यै नराम्रो काम गरिन । बरु सवैका रहर पुर् याइदिइ । अहिले एउटा नेपाली निलो फिलिममा पनि मुख्य भूमिकामा अभिनय गरेकी छे । अचेल त उसको चर्चाले चुली चुमेको छ । सवै दिदीहरुले नाम राखेका छन् । सवैको हाइहाइ छ जताजतै । हाम्रो खानदानको नाम नलिने कोही छैन भन्दा पनि खेर जाँदैन बुझेयौ ! आजबाट म पनि त्यसैलाई निरन्तरता दिन चाहन्छु । तिमी मेरो स्वच्छ पवित्र पहिलो र चोखो मायालाई स्वीकार गर ।” यति भनेर केही छिन अघि उसलाई नेत्रेले सुम्पेको गिफ्ट प्याकु विरुपेलाई दिएर उसले कुरा सकी ।
प्रतिउत्तरमा विरुपेले भन्यो- “मैले पनि तिमीलाई डान्स बारमा देखेदेखि हुरुक्क भएको मनलाई सम्हाल्न सकेको छैन । तिम्रो रुपरंग देखेर म त्यतीवेलै दंग परेको हुँ । झन् क्याविन रेष्टुरेण्टमा तिमीलाई देखेपछि त मैले मास्तिरकी सुन्तली, तल्तिरकी मनमाया, वर्तिरकी पातली र पर्तिरकी जूनठुलीलाई त हेर्नै छोडेको छु । त्यती मात्र कहाँ हो र ! भट्टीवालनीहरु उँभोकी साइँली ,उँधोकी काइँली, तलकी कान्छी र माथिकी ठूलीकान्छीलाई त भर्खरै विसर्िसकेँ । त्यसमाथि पनि पल्लो गाऊँकी पार्वती ,वल्लो गाऊँकी ऐँशेलु, डाँडागाऊँकी जुनेली र गैरागाऊँकी गायत्रीलाई त म चिन्दा पनि चिन्दिन । सुन्छ्यौ दोबाटोकी दिलमाया ,तिनबाटोकी टिकुली ,चौबाटोकी चाँदनी र मुलबाटोकी मारुनी त झन् को हुन् को हुन् धरोधर्म म तिनलाई देखे पनि चिन्दिन । बोले पनि बोल्दिन ।”
उसले अगाडि थप्यो- “तिम्रै कसम भो जुवाघरकी जेसिका ,पँधेराकी पुर्णिमा, नस्ररीकी नर्बदा ,बगैँचाकी बाटुली र खेतखलियानकी खस्रीलाई अबदेखि यादै गर्दिन । याद मात्र हैन तिनेरका बारेमा सोच्दा पनि सोच्दिन । तिमीलाई दोहोरी साँझमा तिनपल्ट भेटेदेखि फिल्महल मालिककी छोरी पर्दा र गेटकीकी छोरी टिकटीको त मलाई मत्ालब नै छैन । हेरन मैले ड्राइभरकी छोरी टायरी ,पुलिसकी छोरी लौरी ,घुम्तीवालकी छोरी गुट्खी र माष्टरकी छोरी डस्टरलाई नभेट्ने बाचा नै गरिसकेँ नि !
उसले सालिन शैलीमा भन्यो- “मेरो खान्दानको पनि कुरा गरी साध्य छैन बु¤यौ ! मेरो ठुल्दाजु त भाउजुले आत्महत्या गरेदेखि सानदार जेलमा छ । उसले भाउजुलाई कति माया गथ्र्यो भने खाना पकाउने लुगा धुने घर सफा गर्ने आदि सवै काम भाउजुलाई गर्न लाउँथ्यो । त्यति मात्र कहाँ हो र ! राती सुत्दा पनि भाउजुलाई साह्रोगाह्रो पर्छ भनेर अर्कै सुसारे राखेको थियो । उसैसँग धेरैजसो सुत्थ्यो । भाउजुले माइतमै बसौँ भन्दा पनि खुरुक्क गएर उतै बस्दै गरेको मेरो दाजु कति स्वाभिमानी थियो तिमी आफैँ मनन् गर ।”
माल्दाजुको प्रेम कथा सुन्यौ भने त तिमी छक्क पछ्र्यौ । ऊ त छिमेकीकी श्रीमति भगाएर गाऊँभरि साहसी युवा भनेर चिनिएको छ । प्रवासिएको लोग्नेकी जोइलाई भगाउन कुन आँट चाहिन्छ ! तिमी अनिभ¡ा छैनौ । तिनै माइली भाउजुका खाताको पैसा झिकेर लाहुरेनीलाई लिएर हिँडेको दाजु आजसम्म घर आएको छैन । हिजै मात्र लाहुरेनी चाहीँ आइपुगी । गाऊँकी आइमाइलाई विहानै मात्रै दाजुले उसैकी छोरीलाई लिएर हिँड्यॊ भनेर भन्दैथिइ रे ।”
ऊ भन्दै गयो- “साँल्दाजुको कुरा त भो नसोध । हरिलम्फुका घरमा हली बस्न गएको बर्ष दिन भएको छैन हरिका पाँचै जना छोरीहरु जो केटा माग्न आए पनि ¤याइँ नपार्ने भनेर भन्दैछन् भनेर माइतमा छोडेकी मेरी साइँली भाउजुले फोनमा भन्दै थिइन् । हरिका मरन्च्यासे छोरीहरु के खाएर हो अहिले त माटाको गाग्री जस्तै मोटाएका छन् भन्ने कुरो सुनेको छु । हरि पनि हारदिक्क भएर भिरबाट हाम्फाल्यो अरे भन्ने समाचार त अलिअघि बकम्फुसे रेडियोले फुकेको थियो । नपत्याए मेरा बुवालाई सोध मलाई त रेडियोले सुनाउनु अघि नै मेरी तेस्री आमाले भनेकी थिइन् । अब तिमी आफैँ बिचारविमर्श गर हाम्रो खान्दान कति चर्चित र लोकपि्रय रहेछ ।”
उसले बिट मार्नेगरि भन्यो- “
तिमीसँग म जीवनको शुरुवात गर्न चाहन्छु यसअघि कालीमायासँग जस्तै । मेरो निश्चल मायाको कदर गरेकीले तिमीलाई म आजैबाट मेरी पत्नि स्वीकार गर्दछु । साथै तिमीले जसरी मेरी पतिब्रता हुन्छु भनेर भनेकी छौ त्यसरी नै म पनि तिम्रो मात्र पतिब्रता हुनेछु अरु कोही पछि नलागेसम्म ।” यत्ति भनेर बिरुपेले पनि आफुलाई दुई घण्टाअघि मालतीले दिएको “रेड रोजु कुसुन्तीलाई थमायो र फूलमायाले दिएको गिफ्ट ह्याम्परु हातमा राखी दियो । त्यसलगत्तै दुवै जना “हग” गर्न थाले ।
मेरा र बबुगोर्खालीको तर्फबाट पनि देशविदेशमा हुने करोडौँ कुसुन्ती र बिरुपेहरुलाई- हयाप्पी “भालेटायम डे “!
(१७ फेब्रुअरी माँ राजधानी अन्तरास्टीय साप्ताहिकमाँ प्रकाशित)

प्रेस विज्ञप्ती

Published on: Tuesday, July 12, 2011 //
                                                           -चर्चित ढुंगेल
आजको यो समय कालगतिले राँगो मर्दादेखि अधोगतिले बसाईँ सर्दासम्म पानी नपरेर खेत बाँझै हुँदादेखि बानी नपरेर स्वास्नीको पेट बाँझै हुँदासम्म छोरी पोइला जाँदादेखि बाहुनले छोइला खाँदासम्म छिमेकीले हकारेकोदेखि ममवाजले डकारेरकोसम्म पत्रकार कुट्नेदेखि विश्वबैँक लुट्नेसम्मका घटना र यस्ता घटनाका जन्मदाताले प्रेस विज्ञप्ती निकाल्ने समय हो । त्यत्ति मात्र कहाँ हो र ! अचेल त सुडान घोटलाका नाइकदेखि खलनायकसम्म नक्कली विल प्रयोग गरि भन्सार छल्नेदेखि रुवेल चौधरीले कमाकोमा जल्नेसम्म नेता अभिनेता कानुनविद्ध पत्रकार नागरिक समाज मानव अधिकारवादी अरौटे भरौटे कुरौटे हर्ताकर्ता कार्यकर्ता डन गुप्तचारी बलात्कारी र भातको भकारीसम्मले प्रेस विज्ञप्ती निकाल्ने जमाना आयो । प्रेस विज्ञप्ती विनाको जीवनको कल्पनासम्म पनि गर्दा अर्को प्रेस विज्ञप्ती निकाल्नु पर्ने हुनआउँछ । त्यसैले हरेक नेपालीलाई प्रेस विज्ञप्तीको महत्व घ्याम्पेलाई जाँड जत्तिकै हो ।
                    यो मन पनि विचित्रकै हुँदोरहेछ । अरुहरुकै जस्तो आज मलाई पनि यो मनले प्रेस विज्ञप्ती निकाल्न हुकुम दियो । रोल्पा र रुकुमबाट थालेको माओवादी जन÷धन युद्धनेपालकै धनी पार्टी भएकाले सफल भएपछि मलाई पनि र बाटै उठेको रेगिस्तानबाट रवाफिलो प्रेस विज्ञप्ती निकाल्न मन लागेको हो । तर के विषयमा निकाल्ने त प्रेस विज्ञप्ती भन्दा असारमासे आकाशमा चट्ट्याङ्ग गर्जनुअघि विजुलीको झड्काले छिमेकी खड्काको घर हाने जस्तै दिमाखको दैलोमा ढ्याक्क हान्यो र दिमाखले दिलमा आन्द्रावाणी गर् यो- आशन्न गैर आवाशिय नेपाली संघ-अन्तर्राष्ट्रिय समन्वय परिषद्को कुनै हुकुमी पदको चुनाउमा भाग लिनका लागि उमेद्वारी दिएको विषयमा ठोकिदे केटा । ठोक्न त ठोक्ने तर कुन पदका लागि ठोक्ने भन्ने अन्योलमा परेको छु । तर बाउ धामी भएकाले बाउको बिँढो थाम्नलाई जोखाना हेरेर ल्याउँदा र भात खाने थाललाई ढ्याङ्ग्रो मानेर ठटाउँदा अध्यक्षकै पदका लागि उमेद्वारी हान्ने शुर कसेँ र बसेँ प्रेस विज्ञप्ती लेख्न । मेरो प्रेस विज्ञप्ती यस प्रकार छ ।
                                  आदरणीय÷अनादरणीय गैर आवाशिय नेपाली हजुरबा-हजुरआमा बुवा-आमा काका-काकी दाजु-भाउजु दिदी-भिनाजु भाइ-बुहारी बहिनी-ज्वाईँ मामा-माइजु ससुरा-सासु जेठीसासु-साली साला अनुहारका मात्र हैन मनका पनि काला मेरा कट्टर दुश्मन सहोदर जार खोइरो खनुवा र मेरो उछित्तो काड्ने परिचित तथा अपरिचित छरछिमेकी ,इष्टमित्र ,कुलकुटुम्भ, नातागोता र मलाई गोता ख्वाउने र रुवाउनेहरु !
विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवाशिय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई कावुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरि डस्ने उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य हुने र रजगज्ज गरेर बस्ने मनसायले यो संघको स्थापना गरेको कुरोमा दुई मत छैन हदै भए चार मत होला । तपाईँहरुलाई विदितै छ यो संघ आफ्नै देशमा कहीँकतै दर्ता छैन । नेपालमा नाम निसान नभएको यस्तो महान संघको आन्तर्राष्ट्रिय अध्यक्ष हुन पाउनु राँगोले पाडो पाउनु र सरकारका तर्फबाट सामान्य नेपालीले प्राडो पाउनु उस्तैउस्तै हो- हात्ती र हात्तीछाप चप्पल जस्तै । अर्को महान उपलब्धी भनेको यो संघको चुनाउ नेपालमा हुनु पनि हो । जहाँ दर्तासम्म छैन त्यहाँ गएर भोट हाल्नुपर्ने यो महान अभियानको म घोर प्रशंसा गर्न चाहन्छु । आजको इन्टरनेटको जमानामा पनि नेता चुन्ने चुनाउ जस्तो तत् ठाउँमा गएर हाल्नुपर्ने भोटको महत्व ज्वाइँलाई मेजमान जत्तिकै महत्वको छ । त्यसैले मैले यो थोत्रो कम्प्युटर फुटाएर कचडामा हाल्दिने र इन्टरनेटको तार चुँडाएर स्वदेशमा बाख्रा बाँध्न पठाइदिने निधो गरेको छु ।

अध्यक्षमा मेरो उमेद्वारी किन ?
विगत लामो समयदेखि नेपाली श्रमिकहरुलाई कपाली तमशुक गराएर विश्वका विभिन्न देशहरुमा कमिशनमा बेचेर बटुलेको ठग्ने अभियानको अनुभवलाई अझ बढी नेपाली श्रमिक ठग्न उपयोगी हुने देखिएकाले मैले अध्यक्षमा आफ्नो नाम प्रस्ताव गरेको हुँ । त्यसैगरि भाषण गर्दा श्रमिककै हितमा मात्र बोल्ने र ब्यावहारमा पनि श्रमिकलाई कसरी बढिभन्दा बढि विदेश ल्याउने र कमिशन पड्काउने चिन्तामा डुब्ने भएकाले पनि मेरो उमेद्वारी सार्थक हो । सानदार होटलमा पत्रकार सम्मेलन गर्ने रकम मैले श्रमिकको हकहितमा खर्चेको भए तपाईँले मलाई नमागीकनै भोट दिनुहुन्थ्यो होला तर बेलामा बुद्धिको बिर्को नखुलेकाले आज भोट माग्नु परेको हो । यो कुरो त सर्वविदितै हो नि ! यसैगरि लामो समयसम्म यो संघका विभिन्न खटनकारी पदमा रहेर पुर् याएको योगदानको हरहिसावले हेर्ने हो भने पनि मेरो उमेद्वारी अपरीहार्य भएको हो ।
                              पहिले नेपाली श्रमिकलाई अलपत्र पार्ने र पछि अलकत्रे इज्जतमा सेतो पालिस लाउन "आफैँ धामी आफैँ बोक्सी" शैलीमा फिर्ती टिकट आर्थिक सहयोग गर्ने मेरो परोपकारी मनलाई मै आफुले दक्षिण फर्केर नमन गर्नु पर्ने भएको हो । यसउसले पनि मेरो उमेद्वारीको तपाईँले हार्दिक सदासयताले स्वागत गर्दै मेरै नाममा भोट खसाल्नु अनिवार्य छ । अर्को भन्न नछोड्ने भनाइ के हो भने सयौँलाई मैले मेरै खर्चले पार्षद् बनाएको छु र भोट हाल्न जाँदा पनि टिकट हाल्दिने भएको छु ।
                       म अध्यक्ष भएँ भने यो संघलाई बिगतका अध्यक्षले झैँ नेपालमा दर्ता गर्ने कुरोलाई अगाडि बढाउने छु । यसो गर्दा यसले म्यानपावरकै जस्तो कार्य गर्न सक्दछ । म अध्यक्ष भएपछि अघिल्ला कार्यसमितिले गरेका सवै खुराफाती निर्णयको कार्यान्वयन गर्नेछु । विश्वमा नेपाली पुगेका सवै देशहरुमा यो संघको डेस्क बनाउने छु । नामैले पनि त्यहाँ समस्या लिएर आउने श्रमिक बस्ने बेाच हुने छैन मात्र डेस्क हुनेछ र त्यो डेस्क पछाडी म र हामीजस्ता मान्छे बस्ने कुसर्ी हुनेछ । यस्तो महान कार्य गर्ने म अध्यक्ष नभए बिर्खेको बाउ हर्के अध्यक्ष हुन्छ त ! तपाईँ मलाई भोट दिनुहोस् म तपाईँलाई बरु नोट दिउँला । मेरो विजय होस् ! तपाईँको जय होस् !


सभासदहरुलाई निम्तो कुकुर तिहार मा

Published on: Tuesday, June 21, 2011 //

सरोज  थापा 
श्रीमान सभासद ज्युहरु ,
तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।
                  म स्वस्थ छु तर आरम छैन तपाइहरु जस्तै बन्न सक्ने हो भने दुख्ने कुनै बिराम छैन् ,छतीभरी देश दुख्छ के गरु बर्शौ भयो खोजेको निदान छैन तर लाचर जिउदै छु अनी तपाइहरु आरम हुनु हुन्छ होला सायद।"बेरोजगारी"बिरामीको लक्षण देखा परेको थियो त्यो पनि तीन महिना सम्मको लागि ओखती पाइहाल्नु भएछ खुशी लाग्यो यो खबर सुन्न पाउदा अनी साथै श्री पशुपतिनाथसग तपाइहरुको यस्तै शुभ समाचार सुन्नपाऊँ भनि कामना गर्दछु यहि रेगिस्तानबाट ।
बिशेष लेखनिय र उल्लेखनिय खबर त केनै छ र जुन तपाइहरुले सुन्न बाँकी होस् र देख्न बाँकी होस।तथापी देश छोडेर हिंडेको आज झन्डै तीन साल बितेछ त्यो बीचमा तपाइहरुलाई सम्झिएर पनि आरम बिरामको खबर सम्म पनि पठाउन सकिन आफ्नै बाध्यताहरु थिए त्यसैले आज अतिनै न्यास्रो लागेर एउटै पत्रमा भए पनि सबैजनालाई सम्झिने कोशिस गरेको छु।हुनत पहिले मैले चिट्ठी खबरनै गरेको भए पनि हजुरहरु सग पढ्ने समय पनि त हुन्न थियो होलानी हैन र?ती लाखौं जनताहरुले जिम्मा लगाएको संबिधान लेख्ने कामलाई त कुनामा थुपारेर सहमती खोज्नमा ब्यस्त हुनु भएको तपाइहरुलाई मेरो चिट्ठी त झन गौण हुन्थ्यो होला । 
                       शायद भुल्नु पनि भयो होला मलाइ तपाइहरुले धेरै पो भएछ त तपाइहरुले नयाँ संबिधान दिन्छौ भन्दै भासण गर्दै हिंडेको अनी म कहीले कुन पार्टीको त कहीले कुन पार्टीको झोला बोकेर पछि लाग्दै हिंडेको । मैलेत भूली सकेछु हिजो अस्ति भर्खरसम्म संबिधान हुँदा हामि कानुन भित्र बाधिएर बसेको दिनहरु,अहिले त गाऊघर बस्ती अनी सिंगो देशमानै कानुन छैन कति स्वतन्त्र छौ हामि न कुनै बाधा ब्यबधान छ,न कुनै रोकथोक जे गरे पनि हुन्छ धन्यबाद् तपाइहरुलाई अनी आभारी छौ त्यति ठुलो स्वतन्त्रता दिनु भएकोमा । खै कुन राजाको पालामा हो प्रजाहरुलाई मनमा लागेका कुराहरु बोल्ने मौका प्राप्त होस् भनेर एकदिनको लागि "गाईजात्राको" ब्यबस्था गरिएको थियो रे अनी त्यसैलाइ प्रजाहरुले मनोरन्जनकानीम्ति दुई दिन मनाउन थाले बिस्तारै सात दिन अर्थात "गाईजात्रे सप्ताह" मनाउन थालेका थिए तर जब तपाइहरुले ठाउँ पाउनु भयो त्यसलाई लतक्कै बढाएर तीन बर्ष पो बनाउनु भयो अझ त्यसलेपनि नपुगेर तीन महिना अरु थप्ने योजना अनुरुप थप्नु पनि भयो वास्तबमै हामि धेरै भाग्यमानी रहेछौ लगभाग चालिस महिना गाईजात्रा मनाउन पायौ,त्यस्मा पनि अती खुशी छु शायद सबै नेपालीहरु खुशी छन् र त्यहि खुसियालीमा दिपावली मनाउने रहर पालेर बसेका होलान बरु हजुरहरुलाई अप्ठेरो लाग्दैन भने एकदिनको लागि खुसियाली साथै दिपावली मनाउनको निमित्त भनेर झ्याली पिटाइ दिनुस् ,देशमा समाचार बोक्ने परेवा र कागहरु सकिए पनि प्रसस्त एफ एम रेडियो र टी भी च्यानल हरुत खुलेकै छन् क्यारे ।
                                           ए म त मेरो आफ्नो औकात भन्दा बाहिर गएर तपाइहरुलाई सुझाब पो दिन थालेछु , एउटा जाबो जनतासग तपाइहरुलाई सुझाब दिने अधिकारनै कहाँ हुन्छ र?उनीहरु त केबल आफ्नो बहुमुल्य मतलाई दान गर्ने मात्र हुन,अनी तपाइहरु त्यहि मत बेचेर सत्ता किन्नु हुन्छ धेरै माथी पुग्नु हुन्छ तर त्यो आफूसग भएको मत पनि दिएर पठाउने जनताहरु कुकुरले कहीले कवाफ पकाएर खान बोलाउछ र पेटभरी खाएर आनन्दले निदाउला भनेर हातमा खाली थाल बोकेर कुरी रहन्छन आस्वशनको छहारीमुनी,धन्य हौ हामी जनताहरु।
माननिय ज्युहरु,आज तपाइहरुलाई बिशेष गरेर निम्ता गर्नको नीम्ति चिट्ठी लेख्न लागि रहेकोछु। थाहा होलानै अङ्रेजी पात्रो अनुरुप "मे" महिनाको अन्त्य भई सकेको छ ।"जुन" महिना त तातो महिना त्यस्तै नेपालमा पनि तातो त बढी सकेको होला तर पनि हामि यो सिउडी फूल्ने बगरमा दिन बिताउनेहरु लाई त्यहा को तातो केही होईन।त्यहा जति तातो हुन्छ यो गर्मीको मौसममा अनी हाम्रा चेलीहरु त्यहि गर्मीको बहानाले थोरै कपडा लगाएर हिड्छन त्यति तातो त यहाँको जाडो महिना हुन्छ तर पनि यहाँका सबै मान्छेहरु बार्हैकाल उस्तै कपडा लगाएर हिड्छन।खै यिनीहरुलाई गर्मी हुदैन होला र? हुदो होनि तर बिचराहरु के गरुन् यहाँको कानुननै त्यस्तै छ।हाम्रो जस्तो भाग्य कहाँ छ र यिनीहरुको मनोखुशी गर्न पाउने ।अनी कानुन कार्यान्यन गर्ने हरुपनि तपाइहरु जस्ता छैनन "सुताहा"।माननिय ज्युहरु मैले यहाँ ठुला ठुला बगरहरु खाली देखेको छु।अनी नेपालीहरु पनि उत्तिकै छन सम्भवत युबाहरुको कुरा गर्ने हो भने त त्यहा भन्दा यहाँ नै बढी छौ तर बच्चा र ब्रिद्धहरुको पनि गणना हुने भएकोले त्यहिको जनघनत्व बढी होला तर राष्ट्रको दु:ख बुझ्ने र अभिभारा बोक्ने छाती चै यहि छन् त्यहा भन्दा बढी, फरक यति हो की बिबसताका कारण दौरा सुरुवाल लगाएर भाशण गर्न सक्दैनन पाउदैनन तपाईं हरुले जस्तो।त्यसैले यो तपाइहरुले थप्नु भएको गाईजात्राको समयावधीमा आउनुस् यहाँ अनी सबै सगै बसेर मनाउ यो गाईजात्रा त्यहा बसेर त त्यो काठमाडौंको चिसो मौसम अनी ए/सीको हावाले तपाइहरुको निन्द्रानै नहट्ने रैछ!शायद यो पचास भन्दा बडी तापक्रम भएको मरुभुमीमा केही दिन तौली धानलाई बिस्कुन लगाएझै उटहरुको बिस्टाको गन्ध र सिउडीको घोचाइसग बिनापानी तड्पिदा रास्ट्रियताको तिर्खा जाग्छकी ?
                                     अर्काको कानुनभित्र कैदी जस्तो बनेर घरको दु:ख सम्झिदै जे भने पनि सहेर पसिना बगाउनु पर्दा आफ्नो देशमा बढिरहेको अराजकताले चिमोट्छ की?त्यो लिदी भरिएको सत्ता मोह र भत्ता भक्तिले गाजिएको खोपडीभित्र कानुन र संबिधानको अर्थ र महत्व घुस्छ की?त्यस पछि थाहा हुन्छ की परदेशमा रहेका नेपालीहरु किन दुख्छन यो देशको दु:ख भनेर।त्यसैले हे भात खाने गोरुहरु हो मेरो निम्तोलाई स्विकारेर यहाँ आउनु यहिको कठोर कानुनको जोतारोले कस्छौ तिमीहरुलाई, बाध्यताको हलुडमा गरिबीको हलो झुन्डाएर सिउडी घारीमा खस्रो बालुवा माथी पुच्छर निमोठेर जोत्छौ अनी बल्ल कायल भएर लेख्छौकी संबिधान। हैन भने त यो थप तीन महिनामा तिमीहरुले कुर्सीको भाग बन्डा पनि गरि सक्दैनौ अनी के लेख्छौ तीन बर्षमा नलेखेको संबिधान । 
जिउ भरी काडा उम्रिए होलान् यो रेगिस्तानको दु:खको बख्यान सुनेर।तिमीहरुले यहाँ आउने त सम्झिने पनि आट गर्न सक्दैनौ किनकी जति जोतिनु त हामि जोतिएर पालेकै छौनी तिमीहरुलाई अनी तिमीहरुका बिलाशी परिवारलाई त्यसैले मैले तिमीहरु यहाँ आउछौ भन्ने आश त कत्ति पनि राखेको छैन तर पनि भनि टोपलेको मात्र हुँ।मलाई थाहा छ तिमीहरु गरि खाने हुती भएका मान्छे हैनौ यदि हुती थियो भने यो समयावधी भित्र संबिधान दिएर फर्की हाल्थ्यौ नी आफ्नो हलो कोदालो स्यिहार्न।त्यो आट नआएर त हो नी तिमीहरुले म्याद थप गरेको।बिचरा तिमी हरुको पनि त आफ्नै बाध्यता छन् नी है।परिवारको दुईछाक टार्नै पर्‍यो।बाल बच्चा पढाउनै पर्‍यो। चाडबाढ आउछ नयाँ नयाँ फेशनका कपडा र गहना निस्कन्छन श्रीमतीलाई हालिदिनै पर्‍यो।हिजो महङी उस्तै बढायौ जुन भोलि सभासद भवन छोडेर बाहिर निस्कने बित्तिकै तिमीहरु माथी पनि आइलागि हाल्छ अरिङालको गोलो खन्निए झै । यी सबैबाट बाँच्न पनि भित्रै बस्नु उचित छ, सम्बिधान त लेख्दै गरुला नी आखिर काम चलेकै छ।त्यसैले जे गर्यौ राम्रै गर्यौ भाग्यले दिएको आप हो सकेसम्म चुस्नु पर्छ नत्र नेपालमा रोजगारीको स्थिति त्यहि हो,हामिले झै मरुभुमीको बालुवा चपाउनु पर्छ हरेक साझ बिहान लालाबालाको पेटमा जाउलो हाल्न।गुलामी र निगाहको राशन खाएका तिमीहरुसँग कहाँ छ र बालुवा पचाउने क्षमता ।।   
                                     तिमीहरु आउदैनौ।संबिधानपनि लेख्दैनौ भन्ने जान्दा जान्दै पनि निम्ता गर्ने म पनि उस्तै मुर्ख हुँ।तर यति धेरैपनि हैनकी तिमीहरु नआउँदैमा हाम्रो भेटनै हुन्न सम्म भनु। यदि तिमीहरुकै कारण मेरो देशका सबै जोशिला युबाहरु बिदेशमा पशिनासग पैसा साटिरहेको अनी देश बिना कानुन बर्सौ लागाम बिनाको घोडाझै यता उती लर्खरी रहेको मौका पारेर सत्रुले आक्रमण गरेर मेरो सथमा भएको राहदानी यो संसारमा आमान्य भएनछ भने,म जहाँ पशिना बगाइ रहेको छु त्यहि शरणार्थी भइनछु भने यो बर्षको दशैंमा घर फर्किने योजना बनाइ रहेको छु।त्यति बेलात पक्कै भेट होला।दशैमा त तिमीहरु सग बसेर के रमाइलो गर्नु र?तर त्यति बेला सम्म पनि संबिधान लेखेनौ भने तिहारमा चै पक्कै तिमीहरुसग रमाइलो गर्छु।म स्कुले जीवन बिताइ रहेको बेला होला एउटा सानो कुकुर पालेको थिए।खुब माया गरेर राखेको थिए तिमीहरुलाई जस्तै तर धेरै जान्ने भएर फ्याउ फ्याउ भुकी हिडेछ चितुवाले न्याकी दियो ।त्यो हुँदानै होला शायद  कुकुर तिहार राम्रोसग मनाएको थिए।त्यस पछि त अरु कुकुरहरु  मनाउन पनि मन लागेन समय ले पनि साथ दिएन तर यो साल भने रहर पनि जागेको छ र समयले पनि साथ् देला जस्तो छ ।बाध्यताले परदेश हिंडेको छु तीन बर्ष पछि मनाउने योजना हो,मेरि बहिनिपनि खुब खुशी छिन,मेरानीम्ति माला गास्न मखमली र सयपत्रीका बेर्नाहरु श्यिहार्न थाली सकेकी छिन रे,तर मैलेपनि भनि सके की मखमली माला बरु गास्न भ्याएनौ भने ठिकै छ मेरो शिरमा एक थुङा फूल राखी दिए हुन्छ तर यो साल धेरै कुकुर फूल हरु फुलाएर ६०१ वटा माला गास्नु कुकुर तिहारको बिहान सम्ममा जसरी पनि,भाइटिका मनाउने भन्दा पनि कुकुर तिहार मनाउने खुब ठुलो सोख छ मलाई।
                                        बैनी त एउटी मात्र हो अलिक भ्याउन्न की भनेर भुन्टेकी आमालाईपनि यो सालको तिहारमा माइत नजानु भनेको छु।उसले पनि हुन्छ भनेकी छे,शायद यति धेरै कुकुरहरुको एकै पटक पुजा गरिएको रमाइलो हेर्न होला नत्र त यो मामिलामा कम्ती कडा थीइ र उ । त्यस्तै तिमीहरुको स्वागतमा मेरो परिवार अहिले देखिनै जुटेको छ रे साथै छर छिमेकीहरुलाई पनि सहयोगको नीम्ति बोलाएको छु,बहुत उत्साह देखाएका छन्।सबैतिरको बाताबरण हेर्दा यो सालको कुकुर तिहार खुब रमाइलो र भब्य हुने आशा राखेको छु,त्यसैले माननिय ज्युहरु जसरी पनि उपस्थित भई उक्त पुजाको शोभा बढाइ दिनु होला। यो ऐतिहासिक कार्य मेरो मात्र रहर नभएर मेरा सम्पुर्ण गाऊलेहरुको ईच्छा हो अनी तपाइहरु जस्ताका नीम्ति देशकानीम्ति केही बनेर देखाउने स्वर्णिम मौका पनि हो।आगामी चुनावमा मत माग्ने लगानी पनि हो।।  
एउटा ठुलो आशा अनी विश्वाश छ मेरि बहिनिले दु:ख गरेर गासेकी ६०१ कुकुर फूलका मालाहरु ओइल्याउने छैनन। तपाइहरुका गलामा चड्न पाउदा शायद ती कुकुर फूलहरुले पनि आफूलाई धन्य सम्झने छन्। मेरो घरसम्म आउन त्यति दु:ख पनि त छैन । बसमा त चड्नु हुन्न होला सबैलाई पुग्ने पजेरो छैन होला नेपाल सरकारसग त्यसैले सरकारी हवाइ जहाज चल्छ त्यहा तपाईंहरुलाई पैसा पनि लाग्दैन टिकेट नपाउने डर पनि छैन। त्यसैले जसरी भए पनि आउनु होला,मेरो चुले निम्तो छ संबिधानसभालाई यो आउदो कुकुर तिहारको दिन पुजा ग्रहण गर्न।।
आउने समयमा बाटोमा कुनै समस्या पर्‍यो अथवा संबिधान बनेर रोक्यो भने यहि पत्र प्रेशण भएको ठेगानामा संपर्क गर्नु होला म तपाइहरुको सहयोग र सेवामा हरपल तयार छु । 
जय संबिधान सभा अनी सभासदहरु ।।। 
जय होस् नेपाली को ।।।। 


यो चर्को घाम देशको नाम लिएर जिउछु ।। 
यो मरु भुमी पाहिन्न पानी पसिना पिउछु ।। 
घरको दु:ख परको बास आँखामा बलेनी ,
यो पापी धन फाटेको मन सुस्तरी सिउछु ।।


उही तपाइहरुले भुलेको जनता रेगिस्तानबाट
प्रबासी नेपाली ।।