BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

लाहुरे यात्राको टुंगोतिर

Published on Saturday, April 23, 2011 11:41 PM //

                                                                              -इश्वर दाहाल कविजी 
घर फर्कने निर्णयसँगै म अलि बेसी नै भावनात्मक बनेको छु । मनमा अनेक किसिमका कुराहरु खेली रहेछन । कुनै काम गर्ने जाँगर छैन । मस्तिष्क शुन्यतामा परिणत भएको छ । निन्द्रा लाग्न छाडेको छ । अक्सर रातहरु संझनामा डुब्दा डुब्दै बित्ने गरेका छन । कहिले फिसिक्क हाँस्छु त कहिले दिक्क लागेर आउँछ । छि यो समय पनि कहिल्यै बित्दैन म अनायासै समयलाई गाली गर्न पुग्छु । समय छिटो बितेर जाने दिन आईहाले पनि हुन्थ्यो । संसारमा विज्ञानले कत्रो उन्नति गरी सक्यो तर यो समयलाई किन नियन्त्रण गर्न नसकेको होला । आवश्यक पर्दा छिटो चलाउन र नपर्दा रोक्न मिल्ने समय भई दिए मान्छेले कत्रो प्रगति गथ्र्याे होला मेरो कल्पनाले सिमा नाघ्छ । खै यी वैज्ञानिकहरु पनि के गर्छन कुन्नी भड्कीएको मनले विज्ञान प्रति नै शंका जाहेर गरीदिन्छ । आज आज भोलि भोलि गर्दै पार होला त नी झिनो आशा जगाउँदै कोल्टे फर्कन्छु ।
                                     मनमा कुराहरु सलबलाउन थाल्छन । यहाँको प्रचण्ड गर्मी र वालुवाको थुप्राहरु छाडेर नेपाल पुग्दा कस्तो अनुभूति हुन्छ होला अनागरिक बनेर शुरु गरेको यात्रा नागरिक बनेर टंुङ्गिदा ह्दयमा कस्तो जोस पलाउला यत्रो समय हेयको दुष्टि खपेर बसियो अब नेपाल झर्ने वित्तिकै लाहुरे पो बन्छु त म गजक्क पर्छु । काँधमा टेप रेकर्डर बोकेर लोकगीत बजाउँदै आउने नेपाली लाहुरेहरुको याद राम्रोसँग आउन नपाउँदै आफू नेपालमै रहँदा मानिसहरुले विदेशबाट फर्कनेहरुको लागि गरेको मूल्याङ्कन संझिएर दिमागमा डमरु बज्न थाल्छ । मानिसहरु भन्ने गर्थे यो मान्छे विदेशबाट भर्खरै फर्किएर आएको हो टन्न गाँठ बोकेर आएको होला यसलाई मूर्गा बनाउनु पर्छ । मलाई पनि त मूर्गा बनाउन कतिजना दाउ हेरेर बसेका होलान

म कल्पन थाल्छु यहाँ विभिन्न देशका विभिन्न किसिमका मानिसहरु हेरी रहेका आँखाहरुले नेपाल झर्ने वित्तिकै एकै किसिमका मानिसहरु देख्दा कस्तो लाग्छ होला मेरो गाउँ फेरियो की उस्तै छ म आउँदै बुढो भईसकेको वरको रुख हरियै छ की छैन होला मेरो आगमनलाई स्वागत गर्न उसको कस्तो तयारी होला । घरमा बस्दा सँधै पानी खाने धाराको पानी चिसै छ या तातो भयो संसारको तापक्रम त बढ्यो भन्छन । घरै मन्तिरका सुन्ताला र जुनारको रुखले मलाई देख्ने वित्तिकै कस्तो अनुहार बनाउँलान म आउँदा सानै उमेरको आँपको रुखले म बढे नी भनेर छाति फुलाएर मलाई देखाउला नदेखाउला । धाराको जनिकै झाँगीरहेको उखुले झुकेर अभिवादन गर्ला नगर्ला मेरो कल्पना अनियन्त्रित हुन पुग्छ ।

                                         केही सम्हालिदै परिवार तिर फर्कन्छु ध्यान पिताजीमा गएर अडिन्छ । ओ हो पिताजीको पनि अब त कपाल फुल्यो होला । बिहान पूर्व फाट्नु भन्दा अगाडि नै उठेर नुवाईधुवाई गरी पूजा कोठामा बसेर त्वामेव पिता च पिता त्वामेव को भजनले हामी सबैलाई जागा गराउनु हुन्थ्यो । अब बुढो हुनु भयो बिहान छिटै उठ्न सक्नु हुन्न होला । कस्तो जुनी होला है मान्छेको फेरि दिक्क लाग्छ । बुढो हुनु पर्ने कपाल फुल्नु पर्ने दाँत झर्नु पर्ने । दाँत सम्झने वित्तिकै मेरो मन भरङ्ग भयो । उफ् आमाका पनि दाँत झरे होलान । म घरमा पुग्दा चुरीफुरी गरेर मिठो परिकार बनाउन थाल्नु हुन्थ्यो । घरको वार्दली भरि आमाले बनाएका अचारका भरिभराउ बट्टाहरु हुने गर्थे । खै अब त्यहि अवस्था छ या छैन केही गर्न नसकेर तातो पानी मागेर खाने अवस्थामा पुग्नु भयो की म छोराले हो यति बेला बाबु आमाको सेवा गर्नुपर्ने तर आफु भने विदेशको भूमिमा पराईलाई सेवा गर्न विवश छु । मलाई डाको छाडेर रुन मन लाग्छ । यदि यसै गरी बाबुआमा एकातिर छोराछोरी अर्काे तिर बसेर जीवन यापन गर्ने हो भने सन्तान हुनुको के माने हुने र न हुनेमा कहाँनिर भिन्नता छ सन्तान भनेर मरिमेट्नुको औचित्य के म अलि बढी नै गहिरिन पुग्छु ।
                                जुरुक्क उठेर सिरानी छेउमा राखेको चिसो पानी पिउँछु । छ्या यो पानी पनि कति नमिठो मलाई पानीको स्वच्छतासँगै शंका लाग्न थाल्छ । फेरि ओछ्यानमै आएर निदाउने प्रयास गर्छु तर सफल बन्दिन । म यहाँ भए पनि बहिनीहरु त पितामाताजीसँगै छन नी सामान्य रेखदेख त गर्न सक्छन थोरै सान्त्वना मिल्छ । अब त उनीहरु पनि ठुला भई सके होलान । म घरमा जाँदा काखमा लुटुपुटु गर्ने मेरा बहिनीहरु अब छेउमा आउन पनि लजाउँदा हुन । कहिल्यै कुरा गरेर थाक्दैन थिए अब त कुरा पनि खटाई खटाई गर्ने भए होलान । समय पनि कति छिटो बितेको है म फिसिक्क हाँस्छु ।
                                          अँ हँ निन्द्रा पर्दैन श्रीमतीजीको हँसिलो मुहार अगाडि उभिए झै अनुभूति हुनथाल्छ । उनीसँग विवाह गर्दाका दिनहरु सम्झेर रमाउन थाल्छु । आहा विवाहको त्यो रात म उनीसँग र उनी मसँग कस्तो लजाएका थियौ । प्रत्यक्ष भेटघाट नभएको लामै समय भयो अब फेरि भेट हँुदा पहिले जस्तो लाज लाग्ला की नलाग्ला समुन्द्रमा थोपा विलाए जस्तो म यादमा हराउँदै जान्छु । भित्रभित्रै कुत्कुती लाग्न थाल्छ । शरिर हल्का भएर हावामा उडुँ जस्तो लाग्छ । जोड जोडले हाँसु हाँसु लाग्छ जोडजोडले रोउ रोउ लाग्छ । रुने कुराले मेरा खुशीका महलहरु हावाले पत्कर उडाए झै कता पुर्याईदिन्छ कता । यहाँका पट्यार लाग्दा रातहरुबाट मुक्ति पाउने समय आउन लागेको छ । अब मिलनको विन्दु नजिकै छ । पहिले विछोड हुँदाका समयमा उनले झारेका आँशुका बुँदहरु आज पनि मानसपटलमा ताजै छन । तिनै आँशुहरुले मलाई गलत बाटोमा हिड्न दिएका छैनन धन्य छन ती आँशुहरु ! मलाई केहि राहात मिल्छ । कुनै समय बाटो विराउन खोजे पनि काँडेतार बनेर अगाडि खडा हुने तिनै आँशुको कारणले त म बिग्रनको बदला सुधि्रन अग्रसर बन्छु । अब फेरि मिलनमा पनि उनका आँशु निश्चय नै झर्ने छन र ती आँशुले मलाई झन राम्रो बाटो हिड्न प्रेरित गर्नेछन । वास्तवमै आँशु महान हुने गर्दछन मलाई आँशुसँग गर्व लाग्न थाल्छ । अहिलेको आधुनिक संसारले जति प्रगति गरेपनि आँशुलाई जित्न सकेको छैन । आँशुको महत्व बुझ्न सकियो भने यसले सफलता तिर डोर्याउने रहेछ बुझ्न सकेन भने बगाएर नष्ट पारिदिन्छ ।
                                                     म फेरि कोल्टे फर्कन्छु मन छोरा छोरी तिर तानिन्छ । आहा टुकुटुकु हिड्ने नानीहरु पनि अब त ठुला भई सके होलान । फोनमा कति मजाले कुरा गर्छन बाबा कहिले आउने छिटै आउनु न । आउँदा खेलौना ल्याईदिनु ल आदि आदि । मलाई देख्दा कति खुशी हुन्छन होला तर मलाई देख्ने वित्तिकै चिन्लान र अचानक मनमा गहिरो त्रासले डेरा जमाईदिन्छ । एकजना दिदीले सुनाउनु भएको तितो कहानी दिमागको वरिपरि घुम्न थाल्छन । उनको श्रीमान लामो समय पश्चात विदेशबाट फर्किएको पहिलो दिनको बेलुका सानी छोरीले भनीन रे आमा यो मान्छे बिहानै देखि हाम्रो घरमा छ अहिले पनि यहि खाना खायो अब त हाम्रो सुत्ने बेला भयो यसलाई जा भनिदिनुस न । मलाई पनि नचिनेर यसै भनी दिए भने के गर्ने होला खल्खल पसिना छुट्न थाल्छ । सिरक फ्याकेर जुरुक्क उठ्छु । आफु बाँच्नुको औचित्य प्रति नै प्रश्न गर्न मन लाग्छ । एकजना बाबुले दैनिक आवश्यकता पुरा गरीदिनु मात्रै कर्तव्य पालना हो र खै मैले बाबु हुनुको दायित्व निर्वाह गर्न सकेको आफैलाई धिक्र्कान पुग्छु । गत दशैमा श्रीमतीजीले सुनाएको कहानीले मलाई अरु वेचैनी पारिदिन्छ । सबैका बाबु दशैमा घर आएको देखेर हाम्रो छोरा पनि बाबु आउने आशमा दशै भरिजसो नै बस आउने सडकमा गएर बस्यो रे । कयौ बस आए गए तर उसको बाबु आएन । बेलुका निराश बनेर घर फर्कदा बाटोमा मान्छेहरुले सोध्छन रे तेरो बाबु आयो त रुन्चे मुख लगाएर आज त आउनु भएर भोलि आउनु होला भन्दै घरमा गएर कसैसँग पनि नबोली दिन बितायो रे । उफ् जीन्दगी मलाई जीवन सँग नै घोर रिस उठ्छ । मिल्ने भए कोर्रै कोर्रा लगाउँ जस्तो लाग्छ । भगवानले दुःख पाउने गरी यो जीन्दगी खै कसरी बनाए बनाए । दैवको श्रृजना प्रति शंका जाहेर गर्दै बालकृष्ण समले लेखेको कविता बर्वराउन पुग्छु ।
दुःखीको घरमा मात्रै तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।

Tags:

0 comments

Leave a comment