BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

किन डराउँछन् स्वदेश फर्किन ?

Published on Saturday, March 26, 2011 12:53 PM //

                                                              -ईश्वर दाहाल किविजी
कुनै कारणबस एकपटक देश छाडेर विदेशिनेहरु केहि समयको अन्तराल पछि चटक्कै विदेशलाई छाडेर देश फर्कन डराउने गरेको पाईन्छ । यसरी आफ्नै देश फर्कन डराउनुका पछाडि मैले मुख्यतयाः दुईवटा कारण देखेको छु । पहिलो छ जुन देशमा गएर आफुले काम गरिएको छ त्यहिको मोहमा भुलिनु । दोश्रो हो देश फर्किए पछि जीवन धान्नको लागि के काम गर्नु भन्ने अन्योलतामा रुमलिनु ।
                                          आफु जहाँ बसीएको छ त्यस ठाउँको माया हुनु स्वभाविकै हो । प्रत्यक्ष या परोक्ष रुपमा आफु बसेको ठाउँमा धेरै किसिमको सम्बन्ध स्थापित भएको हुन्छ । जुन सम्बन्ध आफ्नो क्षमता र विवेक अनुसार हर कसैसंग जोडिएको हुन्छ । के हो त त्यस्तो मोह जसले विदेश मै बसीरहन अभिप्रेरित गर्छ यी मोहहरु मान्छेको स्वभाव हेरी फरक फरक किसिमका हुन्छन । अन्य देशहरुमा कस्तो अवस्था छ म जान्दिन तर म बसेको कतारमा रहेका नेपालीहरुको मोह भने अनौठो किसिमको लाग्छन । 
                               तत्कालीन अवस्था जति कमाई रहेको छौ यसले जिनतिन जीवन गुजारा चलीरहेछ । यहाँको आफ्नो कमाई अनुसार जुन किसिमले सुविधा भोग गरिरहेका छौ नेपाल फर्किए पछि त्यो प्राप्त गर्न अत्यन्त कठिन छ । उदाहरणको लागि यहाँ सामान्य कमाई हुनेले पनि दैनिक जसो मासुभात खान सक्छ । जुन कुरा देश गएपछि सम्भव नहुन सक्छ । यहाँ सामान्य कमाई हुनेले पनि ब्लाकबेरी मोवाइल चलाएर हिड्न सक्छ । सानोतिनो लगानी या भनौ बिना लगानी व्यवसायी बन्न पाएका छौ । कोहि क्याम बोस हौला कोही फोरम्यान कम्पनी कै सहि कार चढेर विचरण गर्न पाएका छौ । आवश्यक पर्दा दुईहजारको खाँचो हुँदैन । आफ्नो सर्कलमा एक किसिमको पहिचान र इज्जत स्थापित गरेका छौ यो सबै कुराहरु नेपाल फर्किए पछि सम्भव नहुन सक्छ । हो यस्तै मोह पनि हामीलाई यहि अल्झएर राख्ने कारण बन्ने गर्दछ । यति मात्रै हैन हामी जहाँ बसेका छौ त्यहँँ एक किसिमको समाज स्थापित भएको हुन्छ र त्यो समाज कतारमा पनि स्थापित भईसकेको छ । त्यहाँ हाम्रो स्थापित सम्बन्ध पनि मोह पैदा गर्ने कारण हो । यो मोह पनि अनौठो किसिमको छ । म्यानपावरको धन्दा गर्नेहरु व्यवसायी समाजसेवीका नामले सम्मानित छौ । सामान्य लेख्न जान्नेहरु साहित्यकार बनेका छौ । गाउँमा वडा अध्यक्ष बन्ने हैसियत नहुनेहरु नेता बन्न पाएका छौ । कहिले लेख्नै नपर्नेहरु पत्रकारको पदमा विराजमान छौ । कम्मर हल्लाउन जान्नेहरु कलाकारको नामले विभूषित छौ । नौ कक्षा पास गरेकाहरु बुद्धिजीवि कहलिन्छौ । तातो न छारोकाहरु गन्यमान्यमा दरिएका छौ हो यहि मोहले हामीलाई अल्झाएर राख्ने गर्छ । यावत कुराहरु स्वदेश फर्किए पछि यति सहजै प्राप्त गर्न सम्भव नै छैन र स्वदेश फर्किहाल्न डर लाग्ने गर्दछ । 
                                         फर्कि्रएर देश जाने भन्ने वित्तिकै दिमागमा एक किसिमका तरङ्गहरु पैदा हुने गर्दछन । स्वदेश फर्किए पछि जीवन गुजाराका निम्ति हामीले के काम गर्छाै भन्ने यक्ष प्रश्न हाम्रो अगाडि खडा हुन्छ जसको उत्तर पाउनु भनेको कस्तुरीले सुगन्ध खोज्दै भौतारिनु जस्तै हो । देश संक्रमणकालबाट गुज्रीरहेको छ । तरल राजनीतिक अवस्थाले निकास पाउन सकेको छैन । मंहगी आकाशिएर हामी जस्तो सामान्य नागरिकलाई जीवन धान्नै कठिन बनेको छ । दिनको १६ घण्टा लोडसेडिङ्ग व्यहोर्नुपर्छ । शान्ति सुरक्षाको प्रत्याभूति छैन । पत्रु कर्मचारीतन्त्रले विमानस्थलमा झरे देखि नै पिरोल्ने गर्छ । सम्पूर्ण समाजिक राजनीतिक आर्थिक प्रशासनिक व्यवस्थाहरु बिना प्रणाली अन्धधुन्ध चलेका छन । रोजगारीका कुनै सम्भावनाहरु छैनन । 
हामी भित्र नै प्रचुरमात्रमा कमजोरीहरु जरो गाडेर बसेका छन र सोही कारणले डराउने गर्दछौ । यदि हाम्रो सोचाईमा परिवर्तन ल्याउने हो भने यसरी डराईहाल्ने अवस्था भने नआउन सक्छ । तर नानी देखि लागेकॊ बानी सुधि्रहाल्ने अवस्थामा छैन । गहिरिएर नहेरौ सरसर्ती हेर्ने हो भने नै हाम्रा कमजोरी यत्रतत्र छरिएको पाउँछौ । हामी यहँँ बसुन्जेल मजाले पचास केजीको भारी उठाई रहेका हुन्छौ तर नेपालको एयरपोर्टमा झर्ने वित्तिकै आफ्नो झोला उठाउन कुल्लीको जरुरत पर्छ । अर्काको निर्देशन अक्षरंस पालना गर्दै वालुवा खनेर फूल रोप्ने हामीलाई आफ्नो खेत जोत्न लाज लाग्छ । यहाँ बसुन्जेल मिठो मानी मानी खबुज खाने हामी नेपाल पुगेपछि गहुँको रोटी खानुपरे इज्जत गएको सम्झन्छौ । दुईचार सयको लोभमा अरुको बाथरुम सफागर्ने हामीलाई घर गएपछि गोबर सोहोर्दा हात गन्हाउँछ । हामी आफुसंग जे छ त्यसैमा रम्न भन्दा देखावटीको पछि लाग्न बानी परिसकेका छौ । आफ्नो योग्यता कति छ त्यसलाई नियाल्दैनौ यहि कारणले होला धेरै ठाउँमा धेरै किसिमका दुःखहरु भोग्नु पर्दछ । हामी यहाँ धेरै दुःख गरेर थोरै पैसा कमाउँछौ तर यसरी कमाएको रकम पनि सदुपयोग गर्न जान्दैनौ । विमानस्थलमा झरे देखि नै हामीलाई लाहुरे बन्नुपर्छ । सान देखाउन गएको एकदुई दिनमै मंहगो मोटरसाईकल किन्छौ र कुदाउँछौ । केहि समयपछि कमाएर लगेको सकिएर चना खाने पैसा पनि हामीसंग बाँकी रहँदैन । अनि आधा मूल्यमा वाईक बेचीदिन्छौ केहि साहु काढ्छौ र म्यानपावरलाई अनुरोध गरी फेरी विदेशिन्छौ । या लाखौ खर्च गरेर तामझामले विवाह गरेर भुक्का बन्छौ अनि नवदुलहीलाई चटक्कै छाडेर फेरी विदेशिन बाध्य बन्छौ । अथवा खेती गर्नु हुँदैन यो त हाम्रो इज्जत भन्दा तलको कुरा हो भन्ने ठानेर गाउँघर जग्गा जमिन छाडेर शहरमा भाडामा बसेका हुन्छौ । त्यो खर्च धान्न नविदेशिई धरै छैन यसरी विदेशिनुलाई आफ्नो नियति ठान्दै धिकार्ने हाम्रो साझा बानी छ ।
                           हामी सबैले अनिवार्य बुझ्नु पर्ने कुरा के हो भने आफ्नो धरातल कहिल्यै बिस्रन हुँदैन । हामी ठण्डा दिमागले सोच्ने गरौ हामी अहिले फर्किएर केहि गर्न सक्दैनौ भने यहि कमाईको स्तरले अबका दश वर्ष पछि झन केहि गर्न सक्दैनौ । अबका केहि वर्ष भन्दा आज नै केहि गर्ने आँट मनमा जगायौ भने अवश्य केहि होला । पछि झन हाम्रो उमेर ढल्कँदै जान्छ व्यवहार बढ्दै जान्छ अनि झन माकुराको जालो जस्तै चारैतिर घेरिने छौ । 
थाक्ले ४ ओखलढु¨ा

Email : birdus2062@gmail.com
Now : Doha,Qatar-- 

Tags:

0 comments

Leave a comment