BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

सम्झना सुनिता थारुको

Published on Tuesday, April 12, 2011 8:14 AM //



                                                                                   -देबेन्द्र भट्टराई
यो कुनै कहानी होइन न कल्पनाका बुट्टाले भरिएको कथा नै । बरु एउटा मान्छेको जिन्दगीमा कहिले नसाचेको र नखेपेको बिपत्तीको श्रृङ्खला कस्तोसम्म हुनेरहेछ भन्ने घटनाको विवरण मात्रै हो । सत्य कथा यसरी सुरु हुन्छ । भैरवहा बिमानस्थलबाट झण्डै ८० किलोमिटर टाढा पर्ने कपिलबस्तुको बुढ्ढी गाबिस-१ मा एउटा थारु परिवारको बसोबास छ । सुकुम्बासी हैसियतमा रहेको थुके थारु र कमली थारु दम्पत्तिले बनिबुतो भरमा आफ्ना तीन छोराछोरीको रेखदेख गरिरहेका थिए । तीनमध्ये जेठी छोरी सुनिता भर्खरै १२ बर्षमा लागिन् उनी स्थानीय स्कुलमा ४ कक्षाकी बिद्यार्थी हुन् । तर दैवको लिला भन्नुपर्छ यी सानी सुनिता गएको भदौ महिनामा सानो दुर्घटनामा परिन् । गाउँघरमा साथीभाइसँग मिलेर बनाएको बाल क्लबबाट फुटबल खेल्दै गर्दा उनी लडेर देबे्र घुँडामा घाउ भएको त्यसबेला कुनै ख्याल भएन । गएको तिहारसम्म पनि सुनिता साथीभाइको हुलमा बाँधिएर भैली खेल्न गाउँघर कुदिरहेकी थिइन् । तर मंसीरदेखि भने स्थिती अलिक भिन्न रह्यो । 
                            उनको घुँडा सुन्निदै गएको देखियो िहंड्दा खुट्टा खोच्याएको देखि थाल्यो । त्यसपछि थारु दम्पत्तिले छोरीको घुँडामा गाउँले झारपात र औषधीको लेपन लगाइहेरे । धामीझाक्री सबै गरे तैपनि बिसेक भएन । त्यसपछि अनेक ऋणपान खोज्दै उनीहरु बुढ्ढी गाउँबाट भरतपुर क्यान्सर अस्पतालसम्म आइपुगे । त्यहाँ परीक्षण गराउँदा रगतको क्यान्सरले आक्रमण गरिसकेको र रगतको कालो सेल घुडामा जम्न थालिसकेको पाइयो । अनि चिकित्सकले तत्काल खुट्टा काट्नुपर्ने र यसका लागि २ लाख रुपैंया लाग्ने जानकारी दिए । पैसोको कुरा आएपछि एउटा सुकुम्बासी परिवारले के गर्न सक्थे र २ लाख रुपैंया नभएपछि उनीहरु फेरि गाउँ फिरे । 
                                        दिनहरु बित्दै गए । शारीरिक रुपमा अशक्त सुनिता घरमैं बस्न थालिन् स्कुल जान समेत रोकियो । यसैबीच चैतको दोस्रो सातामा मात्रै अंग्रेजी प्रकाशन काठमाडौं पोष्टमा सुनिता थारुको सुन्निएको घुँडासहितको तस्वीर छापियो "सहयोगको खाँचो" भनेर । त्यो तस्वीर हेर्नेमा एकजना सज्जन पनि रहेछन् भक्तपुरमा पर्यटक बनेर आएका जर्मन नागरिक । "सुलेन फ्युवर नेपालु नामक संस्थाका एक संचालक रहेछन् यी राइनर भन्ने जर्मन सहयोगी । जर्मनमा रहेका नेपालप्रेमी जर्मन नागरिकहरुको स्वयमसेवी संस्था रहेछ यो । भक्तपुरे अर्का सज्जन एवं सम्पदा-अन्वेषक रविन्द्र पुरीले कान्तिपुर पत्रिकाका मित्रजनलाई फोन गरेर सुनिता थारुका बारे बिस्तृत बुझ्न चाहेछन् । यसरी सुनिता थारु सम्पर्कमा आइन् कपिलबस्तुका कान्तिपुर संवाददाता मनोज पौडेलमार्फत । अनि सुनिता बाबुआमासहित पहिलोपटक प्लेन चढेर काठमाडौं आइन् । 
                            यता सिनामंगलस्थित पाथिभरा आयुर्बेदिक अस्पतलाका चिकित्सक डा.बीपी ति_िम्सनादेखि बी एण्ड बी अस्पतालका क्यान्सर बिशेषज्ञ डा.राजेन्द्र बरालसम्म परामर्शका कामहरु ज्ाारी रहे । आयुर्बेद बिज्ञानले सुनिताको नाडी छाम्दै भन्यो- अब दैबी चमत्कार भएमा मात्रै जीवन पाउन सकिएला । क्यान्सरबिद् डा.बरालले पनि भने-यी नानीको क्यान्सरको सेल फोक्सोसम्म पुगिसकेको छ अब चमत्कारै भएमा मात्रै सबै कुरा ठीक हुन सक्छ । खुट्टा काट्ने प्रयास भएमा सुनिताको अझ छिटो जीवनलीला टुङ्गिनेछ । 
सकेसम्म गर्न खोजिएको हो तर धेरै ढिला भएको स्थिती रहेछ । सुनिताको घुडो सुन्निएर झण्डै २७ इन्च औसत कम्मरजत्रो भएको छ भने उनको शरीरमा रगत सकिएको छ । गर्नेजति खर्च र उपायका लागि दौडधुप गरेर पनि केही हुन नसक्ने अवस्थामा जर्मन सहयोगी राइनर पनि निकै उदासिन देखिए । अनि के गर्ने डाक्टरका अनुसार अब केही महिनासम्म सुनितासँग कायम रहने पीडा र हैरानीका लागि केही निवारक औषधीहरु दिने काम भयो । र छोरी सरितालाई लिएर बाबु थुके र आमा कमली अहिले बुढ्ढी गाउँ फिरिसकेका छन् । उता सुकुम्बासी जीवनको मागजुँग-हालत उसैगरी सुरु भइसकेको हुनुपर्छ यतिखेर । 
                एउटा मान्छेको जीवनमा भाग्य ठूलो हो कि पैसा ? अथवा समय बलवान हो कि गरिबी ? प्यारी सुनिता थारुको जीवन-लीला सम्झँदा यस्तै अनेक जिज्ञासाहरु उब्जिरहेका छन् । 
-- 

Tags:

0 comments

Leave a comment