BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

गृहको गाँठो

Published on Sunday, April 17, 2011 1:12 PM //



    अखण्ड भण्डारी
    Akhanda
    ए उटा परिवारमा तीन सदस्य रहेछन् । बाबुको नाम चुपलाग्, आमाको नाम नकरा र छोराको नाम
    निहुँ । एक दिन छोरो हराएछ । खोज्दाखोज्दा पार नलागेपछि बाबुआमा प्रहरीकहाँ पुगेछन् । र, आफ्नो समस्या राखेछन् ।
    रिपोर्ट लेख्न बसेको प्रहरीले बूढो मान्छेलाई सोधेछ- 'हजुरको नाम ?'
    'चुपलाग्', बूढाले जवाफ दिएछ ।
    किन यो त रिसायो भन्ठानेर उसले आमालाईर्    सोधेछ- 'हजुरको नाम नि ?'
    'नकरा', उसले उत्तर दिइछ ।
    प्रहरी रिसले आगो भएछ । र, झ्वाँक्किँदै सोधेछ- 'तपाईंहरू यहाँ के खोज्न आउनुभएको ?'
    'निहुँ खोज्न', उनीहरूले भनेछन् ।
    ---------------------
    कुनै समय मसँगै काम गर्ने तीन जना साथी थिए । तीमध्ये दुई जनालाई जोक खुब भन्नुपर्ने । अर्को निकै गम्भीर हुन चाहने, हरेक कुरालाई वैज्ञानिक ढंगले विश्लेषण गर्ने । दुई जनाले गरी दिनमा दुई दर्जनै
    जोक भन्थे होला । जो भेटियो, चियासँगै जोक सुरु भइहाल्थ्यो । तर, जब जोक सकिन्थ्यो, तेस्रो साथी भन्थ्यो- 'यो हुनै सक्दैन !'
    हामी भनिदिन्थ्यौं- जोक पनि हुन सक्ने कहाँ
    हुन्छ त ?
    -------------------
    तर, हाम्रो देश यस्तो अवस्थामा आइपुगेको छ, अब जोकचाहिँ साँचो र सत्य कुराचाहिँ जोक हुन थालेको छ । देशमा असुरक्षा यति बढिसक्यो- प्रहरी र जनताको सम्बन्ध अब 'असमझदारीपूर्ण' भइसकेको छ, माथिको जोकजस्तै ! अर्थात्, एउटाको कुरा अर्काले नबुझ्ने ! जनता जोकका पात्र 'नकरा' र 'चुपलाग्' बनेका छन् । उनीहरू 'निहुँ' खोज्न गए पनि नबुझेको स्वाङमा प्रहरीले उल्टै हप्काएर पठाइदिन्छ । देशमा नहुने-नहुने काम हुन्छन् । हुनुपर्ने काम भने हुन दिइँदैन । त्यसैको मारमा परेको छ शान्ति-सुरक्षाको नेतृत्व ।
    महिनौंदेखि देश गृहमन्त्रीविहीन छ । माओवादी र एमालेको आन्तरिक किचलोको सिलौटोमा देशको शान्ति-सुरक्षाजस्तो संवेदनशील यो विषय पिसिएको छ । ठूला दलका ठूला टाउका आआफ्नै स्वार्थमा तल्लीन छन्, जनताको विषय कसैको नजरमा परेको छैन । सरकार भन्छ- अपराधीलाई तत्काल कानुनको कठघरामा उभ्याइनेछ । प्रहरी-प्रशासन भन्छन्- अपराधी तत्काल पक्राउ गरिनेछ । त्यसो भन्न नपाउँदै उनीहरूकै आँखाअगाडि अर्को अपराध हुन्छ ।
    सुरक्षाकर्मी भन्छन्- गृहमन्त्री नहुँदा समस्या पर्‍यो । सत्तारूढ दलहरूले गृहमन्त्री दिन सक्दैनन् । गृहको आफैं जिम्मेवारी लिएका प्रधानमन्त्री घटनामा डटेर लाग्न सक्दैनन् । प्रहरी प्रमुख भ्रष्टाचारको बयान दिइरहेका
    छन् । यस्ता कारणले अपराधको वातावरण बनेको हुन सक्छ । तर पनि राजनीतिक क्षेत्र गृहमन्त्री तानातानमै अल्भिmएको छ ।
    आखिर किन गर्छन् गृहमै यिनीहरू लडाइँ ? भएका मन्त्रालयमध्ये अपजसिलो हो गृह । देशमा शान्ति र अमनचयन ल्याउन नसक्दा गृहमन्त्रीकै आलोचना हुन्छ । त्यो ल्याउन सजिलो पनि छैन । आन्दोलन र झैझगडा मिलाउने दायित्व पनि यसकै हो । देशका ठूलठूला घटनाका दोष गृहकै थाप्लामा आइलाग्छन् । तर पनि दलहरू यसैका लागि तानातान, हानाहान र भनाभन गर्छन् । दलदलको लफडा यसैमा छ । आन्तरिक झगडा यसैमा छ ।  
    किन होला यस्तो ? किनकि, यसमा अचम्मको सुगन्ध छ जसले राजनीतिक शक्तिलाई लट्ठै पार्छ । त्यही भएर त प्रधानमन्त्री सुम्पेको माओवादी गृहको घिडघिडोमा अल्झेको छ । प्रधानमन्त्री पाएको एमाले गृहकै नाममा फेरि सती जान लागेको छ । यसमा हिसाब-किताबै गर्नु नपर्ने गरी पाउने अथाह बजेट हुन्छ । गृहमन्त्री त्यस्तो शक्ति हो जसले प्रहरीदेखि प्रशासनसम्म हाँक्न पाउँछ । वडा प्रहरी कार्यालयदेखि चुङ्गी उठ्दै केन्द्रसम्म आइपुग्ने सञ्जालयुक्त निकाय यही हो । देशको डाडुपन्यु यही
    हो । त्यही भएर त चुहुन्छ यसमा सबैको र्‍याल !
    प्रधानमन्त्री कुर्सीमा बस्न पाएको हुँदैन, राजीनामा माग्न सुरु हुन्छ । बाहिरियाले माग्नु त ठीकै छ, दलैभित्रबाट खुट्टामा समातेर भुइँमा पछार्न थालिन्छ । राजीनामा दिएपछि नयाँ सरकार छान्न नसकेर सात महिनाभन्दा बढी देश अल्झाइँन्छ । अन्त्यमा चमत्कारपूर्ण समीकरणबाट सरकार त बन्छ, तर मन्त्रिमण्डल पूर्ण हुन उस्तै महिनौं लाग्छ । त्यसमाथि शान्ति-सुरक्षा हेर्ने मन्त्रालयमा सबैको दाउ चल्छ । त्यसैले अब त यस्तो लाग्न थालिसक्यो- गृहमन्त्री पहिला छानिन्छ कि सरकार पहिला जान्छ !
    -----------------------
    अन्त्यमा, अर्को एउटा जोक-
    दाहाल- तपाईंलाई मैले प्रधानमन्त्री बनाएँ, मलाई नाथे गृहमन्त्री किन दिन सक्नुहुन्न ?
    खनाल- म त दिन्थेँ नि ! के गर्नु, नेपालजी र ओलीजी मान्दै मान्दैनन् !
    दाहाल- पार्टी अध्यक्ष भएपछि त्यति सानो कुरा पनि मनाउन सक्नुहुन्न ? मनाउनुपर्‍यो नि !
    खनाल- सक्छुजस्तो लाग्थ्यो, सकिनँ । बरु तरिका सिकाइदिनुस् न !
    दाहाल- त्यसो भए गएर ओलीजीलाई भन्नुस्- 'माओवादीलाई गृहमन्त्री दिने हो भने अर्कोपल्ट तपाईंलाई प्रधानमन्त्री बनाइदिने रे !'
    खनाल खुसी भए र सम्झँदैसम्झँदै बल्खु हानिए । सोझै ओलीलाई भेट्टाए र भने- 'एउटा आकर्षक
    प्रस्ताव छ ।'
    'जति आकर्षक प्रस्ताव भए पनि हुटिट्याउँले सगर थाम्दैन, सुँगुर रूख चढ्दैन, भ्यागुताको धार्नी पुग्दैन', सनक्क सन्किँदै ओलीले भनेछन्, 'त्यही पनि भन्नुस्, के हो त्यस्तो ?'
    ओलीको कुरा सुन्दा खनाललाई भाउन्न भएछ । दाहालले सिकाएका केही कुरा उनले बिर्सेछन् ।
    अनि, मरीतरी सम्झँदै भनेछन्- 'माओवादीलाई
    अर्कोपल्ट प्रधानमन्त्री दिने हो भने तपाईंलाई गृहमन्त्री बनाइदिने रे !'
    Shabhar ; ekantipur.com

    Tags:

    0 comments

    Leave a comment