BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

नेपालमा खेर जाने बुङ्गो खाडीमा मूल्यवान

Published on Tuesday, April 26, 2011 3:28 AM // , ,


दिनेश रेग्मी
pic
दोहा (कतार), वैशाख ११ - नेपाल केराको घरी काटेपछि त्यत्तिकै मिल्क्याइने केराको बुङ्गो (बनाना फ्लावर) खाडी देश कतारमा मूल्यवान फलका रूपमा लिने गरिएको छ । यहाँका तरकारी व्यापारीहरूले यसलाई बाहिरी मुलुकबाट ल्याएर बिक्री गर्दै आएका छन् ।
राजधानी दोहास्थित फलफूल तथा तरकारीको थोक तथा खुद्रा बजारमा यसको खरिद-बिक्री हुने गरेको छ । घरमा हुँदा बुङ्गाको कुनै प्रयोजन हुँदैनथ्यो,' पर्वतको चुवा ५, पन्द्रमुरेका तरकारी व्यवसायी रमेश क्षेत्रीले कान्तिपुरलाई भने, 'सोच्दै नसोचेको बुङ्गो यति मूल्यवान रहेछ भन्ने कतार आएरै थाहा पाएँ । उनी १२ वर्षदेखि कतारमा छन् । नेपालमा कतै यसलाई अचार बनाउन प्रयोग गर्ने गरे पनि अधिकांश ठाउँमा खेर जाने गरेको छ ।
कतारमा बुङ्गो प्रतिकेजी ८ रियाल (१ सय ६०) मा बिक्री हुने गरेको छ । क्षेत्रीले बुङ्गो विशेषगरी भारतीय, श्रीलंकाली, फिलिपिनो र इन्डोनेसियालीले बुङ्गो किनेर लैजाने गरेको बताउँछन् । भारतीय र श्रीलंकालीले अचार तथा तरकारीको रूपमा र फिलिपिनोले सुप (चिकन सुपमा मिसाएर समेत) प्रयोग गर्ने उनको अनुभव छ ।

तरकारी बजारका बिक्रेता एक भारतीयले आफूहरूले बुङ्गालाई तरकारीमा प्रयोग गर्ने सुनाए । 'यसलाई उमालेर तावामा तेलसँगै भुटेपछि गजबको तरकारी बन्छ,' उनले भने । कतारमा केराको पातसमेत त्यत्तिकै बिक्री हुने गरेको छ । तरकारी बजारका एक सेल्सब्वाई झापा, बाहुनडाँगी ४, का गमनसिंङ लुंगेगी मगर केराको पात बिक्री हुने देखेर अनौठो मान्छन् । 'घरमा बुङ्गोको अचारसम्म खाइन्थो, यहाँ त त्यसको बिक्री हुँदो रहेछ । पातको समेत किनबेच देख्दा आश्चर्य लाग्छ ।'
पात विशेषगरी, भारतको केरला र मद्रासका बासिन्दाले पार्टीका अवसरमा प्रयोग गर्ने व्यवसायी क्षेत्रीको अनुभव छ । उनका अनुसार पातको मूल्य प्रतिकेजी १० रियाल (२ सय रुपैयाँ) छ । 'पातको बिक्री ठूलाठूला टुक्राको रूपमा हुन्छ, जहाँ झोल पदार्थबाहेक सबै खानेकुरा एउटै पातको वरिपरि राखेर खाइन्छ,' उनले सुनाए । बुङ्गो र पात कतारमा भारत र श्रीलंकाबाट आउने गरेको छ ।
shabhar : ekantipur.com

0 comments

Leave a comment