BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतारको अन्तिम रात

Published on Monday, May 16, 2011 12:44 AM //


                                                                                                -ईश्वर दाहाल कविजी


आज मिति ११ मई २०११ कतार बसाईको अन्तिम रात मनमा अनौठो अनुभूति गरिरहेछु । निन्द्राको कल्पनासम्म पनि गर्न सकिएको छैन । आज त बिहान देखि खाएको पनि केहि हैन । कहिले हाँसुहाँसु लाग्छ कहिले डाँको छाडेर रुन मन पनि । मनमा अनेक तरहका कुराहरु खेली रहेछन । आज म आफूलाई विवाह गरेर पहिलो पटक घरजान लागेकी नव दुलहीसँग दाँजी रहेछु । नवदुलहीहरुको मनमा कति कुरा खेल्दा हुन । नयाँघर कस्तो होला त्यहाँको समाज र परिपाटी पारिवारीक संस्कार आदिअदि । उनी सोच्दिहुन सासु कस्तो स्वभावकी होलीन नन्द आमाजुहरुले म प्रति कस्तो व्यवहार गर्दाहुन । ससुराको बानी व्यहोरा कस्तो होला ? उनी सोच्दिहुन त्यो समाजमा आफू कसरी भिज्ने ,धेरै बोले फतौरी भन्लान थोरै बोलुँ भने घोसे भनेर कुरा कट्दाहुन । छिटो हिडुँ भने ठडौरीको संज्ञा पाईएला बिस्तारै हिड्यो भने लुम्सी नभन्लान भन्न सकिन्न । धेरै दिए संघारे भनिन सक्छ थोरै दिए कन्जुस । एउटा समय तालिका र प्रणालीमा जीउन बानी परेको मान्छेलाई अर्काे समय तालिका र प्रणालीमा चल्न कठिन त अवश्य हुन्छ नै । हो यस्तै यस्तै कुराहरु देवलबाट छिचिमिरा निस्किए जस्तो मन भित्र उब्जिरहेछन । कतार बसाई एक किसिमको जीवनशैली हो भने नेपाल अर्कै किसिमको । यहाँ जे कुरा छ त्यो नेपालमा सामान्य नागरिकका लागि नहुन सक्छ नेपालमा जे पाइन्छ त्यो यहाँका सामान्य कामदारका लागि सहज छैन ।

हुन त आज बिहानै देखि निन्द्रा खुलेको हो । समान्यतयाः सात बजे उठ्ने रुटिन विपरित ६ बजे नै निन्द्रादेवीले विदा लिईन । भोक पनि बिहानै विदा मागी नेपालमा भेट्ने वचन दिएर हिड््यो । कतार छाड्ने समयमा सबैले मलाई आ आफ्नै किसिमले विदाई गरे । कसैले भरपुर माया दिएर विदाई गरे कसैले उपहारहरु दिएर विदाई गरे कसैले फेसबुक फोन र म्यासेजद्वारा विदाई गरे कसैले आश्वासनहरु बोकाएर विदाई गरे कसैले कुनै रेस्पोन्सै नगरी र एकादुईले ढाँटेर भए पनि विदाई गरे तर निन्द्रादेवीलाई के भएछ कुन्नी केहि नभनी विदा लिइन ।
दिनभरि कामै नगरेर निन्द्रा नलागेको पनि हैन । उठेदेखि नै काममा व्यस्त छु । ५० कल जति फोन उठाएँ बीसकल जति आफैले गरे हिजो रातीदेखि आजसम्म ४० वटा जति म्यासेज आदान प्रदान भए । कपडामा आईरन लगाएँ । अफिस गएर कागजपत्रहरु ल्याएँ पॊको पुन्तुरो कसे दिनमा दीपक सर आउनु भयो वहाँसँग राजधानीको अफिसमा गएँ बाबु आए उनीसँग गफगाफ गरे साँझ विजयदाई आए अल्मानासम्म गएर चिया पिएँ मित्र बालकृष्ण जी आए दसमन सेन्टर गएर रेडबुल पिउँदै गफ चलाएँ साँझ बाबु महेश्वर प्रेम र जगतजी आए उनीहरुसँग कर्निस घुमेर कोठा फर्कदा पनि इक्सरसाइज पुगेन भनेर कसरी भन्ने र छेउ मै बाबु निदाई रहेछन । पल्लोखाटमा नन्दु सिला जस्तै अचेत निन्द्रामा म आफूलाई भने के भएको हो के ?
साँच्चै भन्ने हो त कतारको रात घातक सिद्ध सावित भएको छ हामी नेपालीहरुलाई । हरेक रातले एकजना सत्यसावित्री नेपाली नारीलाई विधवा बनाएको छ । एक निर्दाेश बालकलाई टुहुरो बनाएको छ । बृद्ध आमाबाबुलाई आँशुले बगाएको छ । यति नभए पनि कतारका रातहरु बयान गर्न लायक रात छैनन । नितान्त निष्ठुरी रात । निश्चित समयमा सेक्स गर्नुपर्ने प्राकृतिक नियम विपरित अश्लिल भिडियो हेर्दै हातमा कैद गरेर बिताउनु पर्छ रात साहुको ऋण बिस्रनलाई खजुरबोटेमा लुकेर बिताउनु पर्छ रात । समग्रमा भन्नुपर्दा कतारमा सकुशल बिहान उठ्नु भनेको नयाँ जीवन प्राप्त गर्नु जस्तै हो । धार्मिक पण्डितहरुका अनुसार मानिसले चौरासी लाख जुनी भोग्नुपर्छ । त्यसको केहि प्रतिशत त मैले पनि कतारमा व्यतित गरीसके । कतारको डरलाग्दो यो अन्तिम रातलाई पनि मैले पराजित गरेको छु । आफुलाई पहिलो विश्वयुद्ध पछिका जापानिज सेना भन्दा कमजोर पक्कै ठानेको छैन । एक जना व्यक्तिले करिब १२ सय डरलाग्दा कालसँग लड्नु चानचुने कुरा त पक्कै हैन र यस अर्थमा म स्वघोषित विजेता बनेको छु ।
अबको केहि घण्टा पछि कतारलाई अनिश्चित समयको लागि छाड्दैछु । मनमा घरपरिवार र अर्का कै राज्य भए पनि आफ्नो देश फर्कन लागेकोमा खुशीको सिमा छैन । ठुलो ठुलो स्वरले चिच्याउँ जस्तो लागेको छ जननी जन्म भूमिश्चः स्वर्गादपी गरियसीः अर्कातिर कतारमा तमाम मेरा प्रीय मित्रहरुलाई छाड्नु पर्दा यो समयको असमान कानून विरुद्ध आन्दोलन चर्काउँ जस्तो लागेको छ । मायाका धेरै विशेषता मध्य आँशु प्रमुख रहेछ । आँशु बिनाको माया यो संसारमा सायदै कसैले पाए होलान ।
आज मलाई मनप्रति नै ठुलो शंका उत्पन्न भएको छ । मानिसहरुको मन एउटा हुन्छ भन्छन यो थोरै जान्नेहरुले धेरै व्याख्या गरेर सरासर भ्रममा पार्ने कुरा गरेको हुनुपर्छ भन्ने मेरो तात्कालीन अनुभव हो । यदि एउटा मन भए की खुशी हुुन्थ्यो की दुःखी तर आज म खुशी पनि छु दुःखी पनि । यो दुवै एउटै मनबाट कसरी सम्भव छ उत्तर पाउन सकिरहेको छैन ।
नापतौलको दायरामा अटाउन नसकिने दायित्व बोकेर म कतार छाडिरहेछु । जीवन समाज र परिवार चलाउन आवश्यक पर्ने दायित्व एकातिर छ भने यहाँ प्राप्त भएको मायालाई आदर गर्ने दायित्व अरु थपीएको छ । शुभचिन्तकहरुको अपेक्षा मर्न नदिने विरोध गर्नेहरुलाई अझै प्रगति गरेर देखाउने दायित्व र प्रयोग गर्न चाहनेहरुसँग सचेत बनेर बस्नुपर्ने दायित्व आदि । हामी जस्तो सामान्य मान्छेसँग योजना हैन सम्भावना मात्र रहँदा रहेछन । यिनै सम्भावनाहरुलाई आत्मसाथ गर्दै यहाँहरुबाट भौतिकरुपमा केहि समय ओझेल पर्ने अनुमति मागे । 

0 comments

Leave a comment