BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कृति प्रकाशन र रहर

Published on Thursday, August 11, 2011 12:22 AM //


                                                    -तीर्थ संगम राई


सर्जकको चिनारी र अमरत्व उस्को सिर्जना हो । रचना जबसम्म रहन्छ तबसम्म रचनाकार बाँच्दछ । रचना या सिर्जनाको अन्त्य सँगै स्रष्टाको बिस्रजन हुनेछ । वास्तवमा सिर्जना सर्जक या स्रष्टाहरुको बिचार, दर्शन र उच्च कल्पनाशील्प हो जस्ले जगत र जीवनको प्रतिनिधित्व गरेको हुनपर्दछ । निर्जीव र चेतनाबिहिन सिर्जनाको स्थाईत्व हुनै सक्दैन । कृतिकारले तयार पारेको कृतिमा सम्पूर्ण  पाठकहरुको जीवन पद्धति हुनुपर्दछ र साहित्य बिधाको कुनै न कुनै संरचनाले बाधिएर साहित्यिक सिमाकंनभित्र रहेको हुनुपर्दछ । सिर्जना गन्थन हैन बिचार, चिन्तन र मनोरन्जपरक होस तब मात्र त्यो सिर्जना र कृतिको अस्तीत्व हुनेछ । जसरी हरेक आमाबाबालाई सन्तानप्रति मायाँ हुन्छ त्यसरी नै हरेक सर्जकहरुलाई आफ्नो सिर्जनाप्रति गर्व र महत्वकांक्षा हुनु अस्वाभाबिक हैन । राम्रो सन्तानको चाह राख्ने अभिभावकहरुले राम्रो संस्कार र शिक्षा दिनुपर्छ सन्तानलाई, त्यसरी नै उत्कृष्ट सिर्जना र कृति पस्कनलाई सर्जकहरुले त्यतिनै साधना र अध्ययन गर्न जरुरी हुन्छ । 

कतार अब देशले बुझे जस्तो पैसा कमाउने थलो मात्र रहेन । भाषा साहित्य र कलासंस्कृतिमा धेरै सर्जकहरु र संस्थाहरु सकि्रय भईरहेका छन् । तर दुःखका साथ मैले लेख्नै पर्ने हुन्छ धेरै भन्दा धेरै सर्जक र नवोदित लेखकहरु सस्तो लोकपि्रयता र पदीयमोहले यो क्षेत्रमा हामफालीरहेका छन् । साहित्य लेखन भुराभुरीको चकचक अथवा कुनै सिमित जत्थाको हैकम चलाउने निजात्मक कार्यशाला हुदैहैन/हुनुहुदैन । साहित्य साधना टुकि्रएका सपनाहरु, धोकेवाज प्रेयसीका प्रेमपत्रहरु या कसैप्रति रोष प्रकट गरिने तानाशाही या ब्यक्ति पुजक अभिब्याजना पनि हैन । साहित्य साधना जो कोहिको लागि सरल र सहज बन्नै सक्दैन । साधकले सबै भन्दा पहिला यो बुझ्न जरुरी छ आफुमा साहित्यको के छ त्यस्तो जस्ले गर्दा आफु यो क्षेत्रमा लाग्नुपरोस् साहित्यबाट के लिन सक्छौ हैन साहित्यलाई के दिन सक्छौको उदेश्यले उत्प्रेरित भएर यो पाठशालाको प्राङ्गणमा छिरियो भने मात्र साँचो अर्थमा साधक बन्न सकिने छ । डायस्पोरामा कतारको आफ्नो बिशिष्ट स्थान बनि सकेको छ । कतारमा भएका साहित्यिक गतिबिधिहरुले यसो भन्छ तर के कतार अन्य देशले सोचे जस्तै साधक र कृतिकारहरुको भण्डार हो र यो प्रश्नको जवाफ यति बेला म खोजिरहेको छु । इतिहासलाई पल्टाउने हो भने यहि भूमिबाट नेपाली साहित्यको भण्डारले अनगिन्ती कृति पाएका छन् । 'चीरशव' कथा संग्रह 'अनुभूतिका विम्बहरु' कथा संग्रह 'अदृश्यका प्रतिविम्बहरु' कविता संग्रह 'रेगिस्तान डायरी' र पछिल्लो समयमा 'टुहुरो बस्तिको कथा' खण्डकाब्य यी सबै कतार साहित्यका प्रतिनिधि कृतिहरु हुन् । संख्यात्मकरुपमा यो भन्दा धेरै कृतिहरु प्रकाशन भएकाछन् तर कोहि मध्यम कोहि सामान्य र धेरै जसो रहरको बिस्कुन यानेकी लज्जास्पद जस्लाई कृति स्वीकार गर्न नसकिने खालकाछन् । केहि बर्ष अगाडि सम्म कृति प्रकाशन गरेर कतार आईपुग्दा अगि्रम बिक्री भईसकेको हुन्थ्यो । तरवारगेट र जैद्धापार्कमा हाताहात बिक्दथ्यो तर अहिले त्यो अवस्था छैन पुस्तक बिकाउनलाई नातागोता र साथीभाईहरुलाई जब्बरजस्ती थमाउनु पर्ने अवस्था छ । यसले राम्रा कृतिहरुलाई प्रत्यक्ष असर पारेको छ । यसको असर यति भयावह हुदैछ अहिले पैसा नहुने साहित्यनुरागीहरु कुनै साहित्यिक कार्यक्रममा र साहित्यिक ब्यक्तित्वहरुको समिपमा जान सम्म डराउँछन् । अथवा हामी हिडिरहेको बाटो पर कोहि परिचित अनुहारहरु आउँदैछन् भने कि बाटो काटेर हिड्छ्न कि अब कुन नयाँ कृति थमाउँछन् भनेर अनुहार खुम्च्याउँछन् । अहिले दोहाको कृति नियती यो छ । यो सबै किन भई रहेको छ त यस्को समाधान के होला यो प्रश्नको उत्तर हामी सजिलै दिन सक्छौ कृतिको स्तर र कृतिकारको सिर्जना नै फितलो हुनु हो । हामी साहित्यलाई जुन हिसाबले सरल सोच्छौ कृतिलाई नाम कमाउने माध्यम ठान्छौ त्यो नै हाम्रो गलत मानसिकता हो । मैले नवोदित लेखकहरुलाई हतोउत्साहित गर्न यो लेखेकै हैन केहि अग्रजहरुमा पनि धेरै सुधार गर्नु पर्ने र अध्ययन गर्नु पर्ने कुराहरु छन् तर यतिबेला लेख्नै पर्ने सत्य कुरा के हो भने सामाजिक साजाल र केहि साथीहरुको वाह्वाहीले नवोदित सर्जकहरु च्ााडै लोकपि्रय हुने धाउन्नमा यो गल्ति गरिरहेकाछन् । कृतिमा कृतिकारले दिन खोजेको बिचार सन्देश मनोराजन र बिश्लेषण कलिला र कच्चा हुनुले पनि कृति कमजोर बन्न पुग्दछ ।

आजको सन्दर्भमा डायस्पोरिक कृतिहरुलाई केन्द्रले कमजोर आक्न मिल्दैमिल्दैन डायस्पोरामा एकजना सर्जक बीस बर्षको साधना पछि जन्माउछिन् 'लुङमारी मिथक' अर्को सर्जक निरन्तर साधना पछि कविता मार्फत दन्काएर बाल्छिन् 'आगो' । हरेक जीवनको भोगाईहरुलाई 'फ्युजन प्रतिबिम्ब' कवितामा समेट्छन् प्रखर कवि । रातको जूनमा कलम चलाएर सिर्जना हुन्छ 'टुहुरो बस्तिको कथा' । निरन्तर पत्रकारिताको कर्तब्यबोध र साहित्यको अभिरुचिले बल्ल कोरिन्छ 'रेगिस्तान डायरी' तर हामी किन हतार गर्छौ कृति प्रकाशनको लागि ? थाईल्याण्डमा अमूर्तबोधिदर्शनको चिन्तक दशौं बर्ष देखि एउटा उपन्यासमा रंग भरिरहेकाछन् तर अझै पुरा भएको छैन । निरन्तर अनेसास कतार च्याप्टर हाकिरहेका एक जना साहित्यधर्मी एक बर्ष सम्म कुनै उपन्यासको प्लट तयार गरेर मात्र कृति तयारीमा लागेको जानकारी पाउदा नेपालका प्राध्यापक डा. प्रा. अभि सुबेदी खुसीले दङ्ग हुन्छन् । भुमध्य रेखाको समकालिन देशमा रंगकवि समदर्शी काईला रंगबादलाई कविताहरुमा श्रृंगारिरहेका छन् उनले केहि अगाडिको बिधुतिय सम्बादमा मलाई कविता संग्रह प्रकाशन गर्न आग्रह गरिरहदा मैले 'कविज्यू कविता संग्रह निकाल्नलाई मेरो उमेर पुग्यो र ?' भन्दा मौन रहनु भयो यस्को मतलब मैले केहि बर्ष अध्ययन र साधना गर्न अझै बाँकी नै छ । केहि महिना अगाडि देश जादा मेरा पि्रय कवि भाईले कृति प्रकाशन गरेर कतार ल्याउनु भयो तर भाईले सत्य सिकेर कृति बुझेर आउनु भएछ मलाई खुसी लाग्यो । धेरै जसो हामी कतारका सर्जकहरु कृति रहरले या हतारले प्रकाशन गर्छौ जस्को फलस्वरुप बिश्वमा कतार जसरी कविता प्रतियोगितामा प्रथम भएर होस् या साहित्यिक गतिबिधिहरु गरेर होस् चर्चामा छ त्यसरी नै कतारभित्र साहित्यको स्तर खस्कदो छ । कतारमा रहने हामी नवोदित लेखक सर्जक र स्रष्टाहरुले युग हाक्न सक्ने साहित्य परिवर्तित् आयमहरुको बिचार दर्शन सन्देश र स्वच्छ मनोराजन दिन सकिने सिर्जना पस्कन जरुरी छ । नवोदित साथीहरुले सबै भन्दा पहिला म के लेख्दैछु कस्का लागि लेख्दैछु साहित्यको कुन बिधामा रहेर लेख्दैछु र मैले कुन बर्गको पाठकलाई लक्षित् गरेर लेख्दैछु जस्ता जानकारीका साथ साहित्यको सिर्जना गर्न जरुरी छ । सके सम्म अग्रज स्रष्टाहरुको सुझावलाई आत्मसाथ गरेर तयार पारिएको कृति उत्कृष्ट हुने कुरामा दुईमत छैन । साहित्यको पाठशालाका कोहि पनि प्रथम र अन्तिम हुदैनन् हुन्छ भने सर्जकको सिर्जना मात्र उत्तम र उत्कृष्ट हुन्छ । उत्कृष्ट सिर्जनाहरुद्धारा निर्मित कृति रहर मात्र हैन अवश्य पठनीय र प्रशंसनीय हुनेछ ।

( यो लेख कान्तिपुर प्रबास साप्ताहिकको अगस्ट ४ मा कतारबाट प्रकाशित भईसकेको हो । )

Tags:

0 comments

Leave a comment