BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

मध्यपूर्वमा एनआरएन

Published on Saturday, July 30, 2011 7:14 AM //





-ईश्वर दाहाल कविजी


अहिले प्रवासी नेपालीहरु एकाएक तातेका छन् कारण बडो सजधजका साथ निकट भविश्यमै काठमाडौंमा एनआरएनको नयाँ नेतृत्वको चयन हुँदैछ । आजभोलि हरेक सँँझ तारे होटलहरुमा कक्टेल पाटी हुने गरेका छन् । उम्मेदवारहरुले मैले जिते भने यसो गर्छु र उसो गर्छु भन्दै पत्रपत्रिका र वेवसाइटहरुमा लामा-लामा विज्ञेप्तीहरु प्रकाशित गरिरहेछन् । दैनिक जसो हुने कार्यक्रममा प्रवासमा कार्यरत नेपाली मजुदुरका हकहितका बारे घण्टौ भाषण दिने गरिन्छ । आफूले चुनाव जित्नको लागि भोटर तान्न मारामार भएको छ यानेकी यति बेला प्रवासमा एनआरएनका उम्मेदवारहरुले पैसाको खोलो बगाएका छन् । भएका पास्रद किन्ने मात्रै हैन पैसाको बलमा नयाँ पास्रदहरु भर्ना गर्न पनि लुछाचुडी रहेको सुनिन्छ । तर मध्यपूर्वमा रहेका अधिकांश नेपालीहरुको लागि एनआरएनको चुनाव कागलाई बेल पाके सरह हो ।
                   मैले बुझे अनुसार एनआरएनको परिभाषामा मध्यपूर्वका नागरिकहरु पर्दैनन् । उनीहरु प्रवासी नेपाली हुनभन्दा शुद्ध नेपाली हुन मै गर्व गर्छन । जबरजस्ती मुठ्ठीभर नेपाली मूलका भगौडाहरु र पैसामा बिक्ने नेपाल सरकारले सबैलाई होलसेलमा एनआरएनको दायरमा ल्याउन चाहन्छन् भने त्यो उनीहरुलाई मान्य पनि हुने छैन । मध्यपूर्वमा नेपालीहरुको बसाई स्थायी हैन । यो बसाई रहर न भएर जीवन चलाउने बाध्यता हो । उनीहरु जतिसक्दो छिटो देश फर्किएर आफ्नो परिवारसँग जीवन बिताउन चाहन्छन् । उनीहरुलाई एनआरएनले उठाउँदै आएका परिचय पत्र र नागरिकता जस्ता वाहियात कुरासँग कुनै सरोकार छैन । खासमा मध्यपूर्वको एनआरएन सामान्य मान्छेहरुको लागि हैन र जो कोहि एनआरएनमा प्रवेश गर्न सक्दैनन तथा चाँहँदैनन । मध्यपूर्वमा रहेका अधिकांश नेपालीहरुको बुझाईअनुसार एनआरएनमा मूलतः तीन किसिमका मानिसहरु सहभागी हुने गर्दछन् । पहिलो टन्न पैसा हुनेहरु दोस्रो एनआरएनलाई प्रयोग गरेर राजनीति गर्न चाहनेहरु र तेस्रो एनआरएनको छत्रछायँँमा रहेर आफ्ना काला कर्तुत छोप्न लालायितहरु ।
                      रसिया, युरोप र अमेरिकामा एनआरएनको कस्तो भूमिका छ भन्न सक्दिन तर मध्यपूर्वमा भने राजनीति गर्ने र गरीब नेपालीका छोराछोरीलाई ठगी गर्नेहरुकै बाहुल्यता रहेको छ । मध्यपूर्व्रको एनआरएन हाँक्नेहरुद्वारा पीडित हजारौ नेपालीहरु गैरकानुनी रुपमा भौतारिरहेको भेटिन्छ । आफ्नो घरखेत बेचेर धनकमाउन जाने नेपालीहरु कयांै एनआरएन नेताहरुको दुहुनो गाई बनेका छन् । नेतृत्व पंत्तिका कतिपय पदाधिकारीहरुका काला कर्तुत आज पनि दुतावासको अभिलेखमा सुरक्षित छ भने कयौ पदाधिकारीहरुलाई दुतावासले समस्या समाधान गर्न ताकेता गरिरहेको अवस्था छ । कयांैले दुतावासले एक्सन लिएपछि मजदुरलाई तबल र टिकट दिन पनि बाध्य भएका छन् । नामै किटान गर्न जरुरी छैन मध्यपूर्वमा पुगेर फर्कनेहरुसबैलाई राम्रोसँग थाह छ ।
     
कुन एनआरएन पदाधिकारी के सँग सम्बन्धित छ । म्यानपावरका दलालहरु एनआरएनको नेतृत्वमा छन् । सात महिनासम्म मजदुरलाई तलब नदिएर सिआई डी लगाउनेहरु मजदुर हकहितका सम्बन्धमा भाषण हाँक्दै हिड्छन । पैसाको बलमा एनआरएन भित्र उनीहरुको दवदवा छ । बडो अचम्मको कुरा त यो छ उनीहरु एनआरएनलाई प्रवासी नेपालीहरुको छाता संगठन मान्दछन र आफूलाई उपल्लोकोटीको । यो सब सोझालाई अल्मल्याउने दाउ मात्रै हो एनआरएन त मुठ्ठीभर मानिसहरुमा मात्रै सिमित छ । यो छाता संगठन हुनै सक्दैन । मैले सबैलाई भनेको हैन एनआरएनमा केही राम्रा र इमान्दार मानिसहरु पनि छन् तर तिनीहरुलाई कहिल्यै माथि उठ्न दिइन्न बरु उल्टै उनीहरुको नाम बेचेर नाजायज फाइदा उठाउने गरिन्छ । मध्यपूर्वमा नब्बे प्रतिशत मजदुरहरु कार्यरत छन् । मध्यपूर्वको एनआरएन यदि साच्चै सबै प्रवासीहरुको छाता संगठन बन्न चाहन्छ भने दोहोरो नागरिकता या परिचय पत्र हैन मजदुर अधिकारका लागि लड्नु पर्छ । प्रवासमै रहेर मजदुर शोषण गर्नेहरुलाई नङ्ग्याएर कानुनी दायरामा ल्याउन पहल गर्नु पर्छ । अन्य सामाजिक संघसंस्थाहरुसँग समन्वय गरी वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन पहल गर्नु पर्छ । छानविन समिति गठन गर्दैमा गधा गाई हुन्न । यदि समिति गठन गर्नेहरुको कारवाही गर्ने हिम्मत छ भने दुतावासको अभिलेख पल्टाऊ चरम शोषण व्यहोरीरहेका विभिन्न ठाउँका मजदूरहरुलाई भेट नेपाल सरकारले तोकेको हद भन्दा बढी रकम असुलेर विदेश पठाउने मध्यपूर्वमा रहेका म्यानपावर प्रमुखहरुलाई एनआरएनबाट निकाल । हैन भने नेपालमा आएर म्यानपावर खोलेर बढी भन्दा बढी रकम असुल्ने र मध्यपूर्व फर्किए पछि मजुदूर हितमा भाषण गर्नुको औचित्य छैन ।
मध्यपूर्वमा कार्यरत एनआरएनको राजनीति गर्नेहरुले निम्न कुराको जवाफ दिनुपर्छ ।
१) एनआरएनको विधानमा व्यख्या गरिए अनुसार नेपाली नागरिक लामो सयमसम्म विदेशमा बसेर अहिले त्यही देशको नागरिक भई सकेकालाई बुझाउँछ । मध्यपूर्वमा कुन चाहि नेपाली कुन देशको नागरिक बनेको छ ? हैन भने शुद्ध नेपालीहरुलाई गैर आवासीय नेपाली भनेर व्याख्या गरिनुको उद्देश्य के ? नेपाल सरकारलाई दवाव दिएर विदेशमा कार्यरत सम्पूर्ण नेपालीहरु गैर आवासीय हुन भन्न लगाउनुको पछाडि गरिब नेपालीहरुको ठाल देखाएर देश र राज्यलाई लुट्न भन्दा अर्काे उद्देश्य भए जस्तो देिखंदैन ।
२) पच्पन्न देशमा फैलिएको एनआरएनका हरेक भेलाहरुमा देश भित्र लगानी गर्ने कुरा जोडतोडका साथ उठाइन्छ । कुन देशको एनआरएनले नेपालको कुन क्षेत्रमा कति लगानी गरेको छ र कति प्रवासबाट फर्किएकाहरुलाई रोजगारी दिएको छ ? स्पष्ट पारिन्छ कि पािरंदैन । कि एनआरएनको लगानी गर्ने कुरा भगौडा नेपालीहरुले नागरिकता पाउन गरेको वार्गेनिङ्ग मात्र हो ? नेपाली कला र साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका दार्जिलिङ्गका कलाकारहरुले नेपाली नागरिकताको कहिले अक्षेपा गरेनन् । नेपालको कानून अनुसार कुनै पनि देशको नागरिकलाई नेपालमा लगानी गर्न कानूनी अड्चन छैन । यी एनआरएन भनाउँदाहरुलाई बाधा भएको कुरो के हो लगानी गर्ने हैसियत छैन भनेर सिधै भन्न नसकेको हो यो कुरा विदेशमा कार्यरत सच्चा नेपालीहरुलाई प्रष्ट्याउनु पर्छ कि पर्दैन
३) एनआरएनहरुले सधंै आफूहरुले सरकारलाई सहयोग गरेको तर सरकारले आफूलाई वास्ता नगरेको आरोप लगाउँछन् । उनीहरुले जवाफदिनु पर्छ सरकारका कुन कुन योजना सफल बनाउन कहिले कहिले उनीहरुले के कस्तो सहयोग गरे ?
४) मध्यपूर्वमा लाखौं नेपालीहरु कार्यरत छन् । सबैभन्दा बढी स्कूल जीवन समाप्त गरेर विदेशिन बाध्य हुनेहरुको बाहुल्यता रहेको छ । यी युवाहरुले पढ्न चाहेर पनि त्यस ठाउँमा नेपाली शैक्षिक संस्थाको अभावमा पढाइलाई अगाडि बढाउन पाएका छैनन् । मध्यपूर्वको कुन एनआरएन शाखाले यस बारेमा सोचेको छ ? नेपाल सरकार र सम्बन्धित देशको सरकारसँग समन्वय गरेर पुलको भूमिका निर्वाह गर्ने प्रयास गरेको छ कि छैन ?
५) वैदेशिक रोजगारलाई सुरक्षित र मार्यादित बनाउन नेपाल सरकारबाट कस्तो किसिमको व्यवस्था गरिनुपर्छ भन्ने सम्बन्धमा एनआरएनको आधिकारिक धारणा प्रवासका आम नेपाली श्रमिकबीच र नेपाल सरकार समक्ष पुग्न सकेको खै ?
              एनआरएनले विदेशमा कार्यरत नेपालीहरुको मूल मुद्दालाई छाँयामा पार्ने दुष्प्रयास गरेको छ । आम नेपालीहरुको चाहना विदेशमा गएर पुन नेपाली नागरिकता हासिल गर्नु हैन उनीहरुको चाहना भनेको सरल र सहजसँग विदेशसम्म पुगेर कामगर्न पाइयोस भन्ने हो । वैदेशिक रोजगारको सम्पूर्ण जिम्मा म्यानपावर दलालहरुले हैन नेपाल सरकारले लिनुपर्छ भन्ने हो । विदेशबाट फर्कनेहरुलाई उसले जानेको सीप अनुसारको काम नेपाल सरकारले उपलब्ध गराउनु पर्छ भन्ने हो । विदेशमा विभिन्न कारणबश मृत्यु भएका नेपालीहरुको शव एयरपोर्टदेखि उसको घरसम्म नेपाल सरकारले पुर् याइदिनु पर्छ र कल्याण कोषबाट राहातस्वरुप उचित रकम उपलब्ध गराउनु पर्छ भन्ने हो । तर एनआरएनका मुठ्ठीभर मानिसहरुको स्वार्थका कारण यी मुद्दाहरु पछाडि परेका हुन् । जसको प्रत्यक्ष मार विदेशमा कार्यरत आम नेपालीहरुले भोगिरहेका छन् । यसैगरी निहित स्वार्थलाई अगाडि सारेर मूल मुद्दालाई पछाडि धकेलिरहने हो भने एनआरएनको पनि भविष्य लामो छैन । विदेशमा कार्यरत नेपालीहरुको लागि एनआएन अभिशाप नबनोस् । चेतना भया !

थाक्ले ४ ओखलढुंगा
हालः काठामाडौं

(२८ जुलाई २०११ मा कान्तिपुर प्रवास साप्ताहिकमा प्रकाशित )



Tags:

0 comments

Leave a comment