BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

जय फेसबूक !

Published on Saturday, September 17, 2011 1:44 AM //


चर्चित ढुंगेल


हाँस्यब्यङ्गयकार गुरु मनोज गजुरेल फेसबूकलाई ‘बेवकुफबूक’ भन्नुहुन्छ । यसलाई तपाईँ ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरुले यसलाई केटी पट्याउने वा केटो लठ्याउने प्रेमजाल भन्लान् । कोही कोही यसलाई विज्ञापन गर्न सकिने गतिलो थलो मान्लान् । कसैका लागि यो भात/पानी विर्सिने ठाऊँ बन्ला । कसैले यसलाई जुवा/तास, जाँड/रक्सीकै नशाजस्तै ठान्लान्/मान्लान् । धेरैलाई यो ‘म्यारिज ब्यूरो’ होला । जसले जे नाम दिए पनि मैले चाँही फेसबूकलाई एउटा विशेष नाम दिएको छु । यो नाम चित्त नबुझे दावी/विरोध हाल्नु होला ।
                              तर मलाई तपाईँले दावी/विरोध हाल्नु होला भन्ने ‘सय मनमा एक मन’ पनि लागेको छैन । त्यत्रो गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद्को आसन्न अधिवेशनका अगुवा उमेद्वारहरुले ‘फलानो संस्थाले मलाई फलानो पदमा जा भनेकाले मैले फलानो पदमा जाने निर्णय गरेको छु, हाम्रो संस्थाले हामीलाई फलानो पद चाहिन्छ भन्दै आएको छ र मलाई त्यो पदको उमेद्वार बनाएर पठाएको छ, त्यसैले मलाई त्यही पद चाहिन्छ’ भनेर आफ्नो विचार नभएका र आफ्नो बलबुताले नभ्याएर संस्थाको बुइ चढेर हाक्काहाकी उभिँदा त तपाईँले दावी/विरोध गर्नुभएन भने मेरो कुरोमा के को दावी/विरोध गर्नुहुन्थ्यो त ‘खजुर खाएर ?’ राजनितिक, जातिय, क्षेत्रिय, ब्यावसायिक संस्थाको प्रतिनिधिले भुत्राको श्रमिकको हितमा काम गर्छ ? गरे पनि आफ्नै पार्टीको, आफ्नै जातिको, ब्यावसायी ब्यावसायीको र निकटका नातेदारको उद्धार, सहयोग र सम्मान गर्ला । सवैलाई समेटेर, सवैको प्रतिनिधित्व गर्न नसक्ने भनेकै बुइ चढेर आउनेहरु हुन् र तिनका पछिल्ला अभिब्यक्तिले नै तिनको भावी छवी दर्शायो । ‘बोकेको कुकुरले मृग मार्दैन’, ‘प्वाल परेको डुङ्गाले पारि तार्दैन’ ।
फेसबूकलाई मैले ‘सामाजिक जञ्जाल’ भन्ने गरेको छु । मैले यसलाई सामाजिक जञ्जाल भन्नुका पछाडिको कारण पनि काइदाको छ । भैँसी दुहुन गएको भैरव भण्डारीले पाडोले थुन नपगारुञ्जेललाई एउटा ‘स्टाटस’ लेख्न बस्यो । स्टाटस लेखेपछि उसलाई अरुले छोडेका स्टाटस र ‘नोट’ हेर्न हतार भो । केही नोट र फोटामा ‘कमेन्ट’ ग¥यो । तीन जना साथीलाई ‘ह्याप्पी बर्थडे’ लेखिभ्याउँदा पाडोले फाँचोभरीको दुध खाइभ्यायो । त्यसपछि श्रीमतिको सत्तोसराप मिसिएको गाली, कालो चिया र निस्तो भात खायो । अव आफैँ भन्नुस्, यो ‘सामाजिक जञ्जाल’ हो रहेछ कि नाइ ?
                               राती अबेरसम्म, दिउँसो जागिर खानेले कार्यालयमा, बेरोजगारीले घरैमा, ससुरालीमा, माइतमा, यात्रामा, गोठालोमा, गाडीमा, आँगनमा, पिँडीमा, मझेरीमा, पँधेरीमा, खेतमा, सिँडीमा जहाँ पनि फेसबूक चलाउनेको कमी छैन । विहान आँखा मिच्दै, राती नसुती, दिउँसो उङ्दै फेसबूक चलाउँदै गरेको देखिन्छ । फेसबूक चलाउँन नपाउँदा ज्यानै दिने/लिनेहरु पनि देखिएका छन् । कम्प्युटरमा झुत्तिनेहरुको संख्यामा असंख्य बृद्धि भएकाले फेसबूकले धेरैको बुद्धिमा बिर्को लाएको छ । झन् मोवाइलमा पनि दनन चल्दिनाले ओछ्यानमै दिमाख फनन घुम्छ र निदा्रदेवीको ध्यान भंग गरेको छ ।
उपन्यासकारले आधा उपन्यास यही फेसबूकले गर्दा पूरा गर्न सकेको छैन । महाकविले महाकाब्य, खण्डकविले खण्डकाब्य, आदिकविले आधा काब्यलाई अघि बढाउन सकेको छैन । कथाकारले कथाको सार नै बिर्सियो । कविले धेरै कविताहरुलाई फेसबूकमा साथी बनाएर असली कविता लेख्नै सकेन । निबन्धकार फेसबूककै परिबन्धमा परेको छ । गीतकारले गीतिचेत हरायो । गजलकार फजलकार भएर विलय हुँदैछ । नियात्राकार त झन् फेसबूक वाहेक अन्त यात्रा गर्नै छाड्यो । यसरी हेर्दा गँजेडीलाई गाँजाले गाँजेजस्तै फेसबूकले मान्छेको दिमाख र दिललाई अँठ्याको छ । हामीलाई फेसबूक लोग्ने/स्वास्नीभन्दा प्यारो भएको छ र नै लोग्नेले/स्वास्नीले फेसबूक चलाउँदै गर्दा एकअर्कालाई बोलाउँदा बोल्न गाह्रो भएको छ । यसैका कारण धेरैको घर बिग्रेको र सम्पत्ति निख्रेको छ ।
हेर्दाहेर्दै यो फेसबूक चोर, डाका, फटाहा, जाली, धुर्त, ढाँट, अत्याचारी, ब्याभिचारी र भिखारीको बैठक अड्डाजस्तो भएको छ । चोर र डाकाहरुले इनबक्समा म्यासेज गरेर कहाँ, कसरी, कैले चोरी गर्ने योजना यही फेसबूकमार्फत् बनाउँदा हुन् । डाकाहरुले मात्र होइन, डाकाका काकाहरुले पनि डकैटीको योजना र खजानाका बारेमा यही फेसबूकमा छलफल गर्दा हुन् । फटाहा, जाली, धुर्त र ढाँटहरुले यही फेसबूकमा फटाईँ, जालझेल, धुत्र्याइँ र ढाँट्ने कर्म गर्दा हुन् । अत्याचारी र भ्याभिचारीहरुले सदाचार र ब्यावहार शुद्धिको ज्ञान यही फेसबूकमा बाँढ्दा हुन् । भिखारीहरुले पनि भिख माग्ने गतिलो थलो यही फेसबूकलाई बनाउँदा हुन् । नोट बाँढेर भोट माग्नेहरुले पनि यही फेसबूकलाई सारथी बनाएका होलान् ।
एउटा ब्यापारी चाउचाउको विज्ञापन यही फेसबूकमा गर्दो छ । एउटी कथाले मागे/नमागे अनुसारको शरिर देखाउने मोडल यही फेसबूकमा हेर्न नहुने गरी जिउ देखाउँछे । तीन जना छोराछोरीकी आमा र छ जना छोराछोरीको बाऊ यही फेसबूकमा कुमार/कुमारी भएको जिकिर गर्छन् । एउटा अ/कवि दशजना कविका सयवटा कविताबाट एक एक लाइन कपि गरी पूर्ण कविता बनाउँछ र यही फेसबूकमा महान कवि कहलाउँछ । उसको कविता पढ्नेले लेखिदिन्छ— ‘महाकविपछिको कवि तपाईँ नै हो ।’
वादविवाद गर्ने अखडा भएर लोग्ने स्वास्नीको झगडासम्म यही फेसबूकले गराउँछ । तरुनी तन्नेरीहरुले यही फेसबूकलाई स्कुल, कलेज मान्दिन्छन् । धेरैले पढाइ हापेर फेसबूक अपनाएका छन् । खसी मरेकोदेखि तारा झरेकोसम्म, बच्चा जन्मेकोदेखि छोरी अन्मेकोसम्म, विदेशिएकोदेखि रक्सी पिएकोसम्म, भात हानेकोदेखि लात हानेकोसम्मका स्टाटस र फोटाले फेसबूकको पर्खाल पोतिदिन्छन् मनुवाहरु । हाकिमले हप्कायो भने यही फेसबूकले दुःख पाउँछ । प्रेमीले सतायो भने यही फेसबूकको अनुहार कालो हुन्छ । रिङ्गटा चल्दा र तालुमा आलु फल्दा पनि यही फेसबूकमा लेखिदिन्छ मान्छेले । एकजना अमेरिकीले यो फेसबूक बनाएर संसारकै दिमाखलाई कैद गरेर राखे वा ! अमेरिकीहरुको दिमाखलाई मान्नै पर्छ गाँठे । खप्पर उस्तै भए पनि तिनको दिमाख अलि उच्च कोटीको हो कि क्याहो ? एउटा दिमाखले अरबौँ दिमाखलाई नियन्त्रणमा लिनु र भएको अलिकति बुद्धिमा पनि बिर्को लाइदिनु सानो कुरो होइन । आऊ कैद गर मेरो दिमाखलाई पनि मार्क जुकर्बर्ग ! जय मार्क, जय फेसबूक !!

0 comments

Leave a comment