BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

भट्टराईलाई इमेल प्रिय प्रधानमन्त्री

Published on Saturday, September 17, 2011 4:11 AM //


सुरज कुँवर
baburam

काठमाडौ, भाद्र ३१ - 'मेरो प्यारो देशका प्रधानमन्त्री ज्यू,' कीर्तिपुर मूलघर भई तीन महिनाअघि अमेरिका पुगेका एक चिकित्सकले बाबुराम भट्टराईलाई इमेलमा लेखेका छन्, 'राजेन्द्र महतो सजिलै बिक्नसक्ने भएकाले हजुर स्वयंले ध्यान दिनुहोला ।' शिक्षण अस्पताल महाराजगन्जमा पनि अनुगमन गर्न सुझाउँदै डाक्टर विनयरमण दाहालले मेडिकल काउन्सिलमा हुने चरम गुन्डागर्दी र अनियमितता हटाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । शिक्षण अस्पताल महाराजगन्जबाट एमबीबीएस सकेर हाल पोस्टग्रजुयट गर्न अमेरिकाको पेन्सिलभेनियामा पुगेका उनले शुक्रबार कान्तिपुरसँग टेलिफोन कुराकानीमा 'बाबुराम नेपालको चम्किलो तारा' र 'राष्ट्रिय नेता' भएको बताए । 'म नेपाल छाडेर  स्वर्गमा पुगिएला भनेर अमेरिका हानिएको होइन,' २६ वर्षेले भने, 'पढाइसकेपछि नेपालै फर्किन्छु । तर, त्यहाँ भक्तमान श्रेष्ठको जस्तो दशा भोग्नु नपरोस् ।' दाहालले विश्वास गर्न नसकेका महतो अहिले स्वास्थ्यमन्त्री छन् ।
एक साताअघि बाबुरामको पहिल्यै सार्वजनिक इमेल ठेगानालाई सञ्चारमाध्यमहरूले 'प्रधामन्त्रीलाई इमेल पठाउने भए' भन्दै पुनः सार्वजनिक गरिदिएपछि शुक्रबार बिहानसम्ममा bhattaraibaburam@gmail.com मा दुई हजार इमेल पुगेका छन् र तीमध्येका थुप्रै इमेल कान्तिपुरले यो लेख तयार पार्न हेरेको थियो । प्रेषकमध्ये धेरैजसो युवाहरू छन् जसमा उनीहरूका देशमा जारी स्थितिप्रति निराशा, गुनासो र आक्रोश प्रस्टै झल्किन्छ । उनीहरूले देश विकाशका लागि आफ्ना विचार र दृष्टिकोण पठाएका छन् ।
अस्टे्रलियाको मेलवर्नमा रहेका खोटाङका सन्देश थापाले प्रधानमन्त्रीलाई इमेलमा लेखेका छन्, 'तपाईं प्रधानमन्त्री भएपछि धेरै खुसी लागेको छ । मजस्तो इन्जिनियरिङ पढिरहेको विद्यार्थीका लागि सुहाउँदो वातारण बने म मेरो देशको सेवा गर्न खुसी हुनेछु ।' २१ वर्षीय थापाले अस्टे्रलियामा रहेका धेरै नेपाली विद्यार्थी बाबुराम प्रधानमन्त्री भएपछि नेपाल फर्किन लालायित भएको कुरा एउटा टेलिफोन वार्तामा शुक्रबार कान्तिपुरलाई बताए ।
'म देख्दैछु धेरै प्राविधिक शिक्षा पढिरहेका साथीहरूलाई नेपाल फर्किने रहर छ,' उनले कान्तिपुरसँग भने, 'हामीसँग सीप छ । तर नेपाल फर्केर अवसर नपाए, हाम्रो लगानी खेर जान्छ । डिप्प्रेस भइएला ।' प्रधानमन्त्रीले आफ्नो इमेलमा व्यक्त भावना बुझ्ने र त्यहीअनुरूप काम गर्ने आशा लिएको थापाले बताए । आफूलाई विदेशमा अध्ययन गरिरहेका प्राविधिक विद्यार्थीको प्रतिनिधि बताएका उनले शान्तिपूर्ण र लगानी गर्न मिल्ने वातावरण भए चाँडै फर्किने बताए । काठमाडौंको नोबेल एकेडेमीबाट प्लस टु सकेर हानिएका उनले भने, 'यता आएपछि देशको माया थाहा पाइँदोरहेछ । धेरै खैरेले 'नेपाल नामको देश हो ?' भन्दा चित्त दुख्छ हामीलाई । नेपाल विकास भएको हेर्न मन छ ।'
२००७ सालमा लोकतन्त्रको प्रादुर्भाव भएपछि नेपाली जनताले पहिलोपटक २०१५ सालमा बीपी कोइरालालाई आफैंले प्रधानमन्त्री चुनेका थिए । कोइरालाले किसानको सन्देश सम्भिmन प्रधानमन्त्री कार्यालयमा किसानको तस्बिर झुन्ड्याएका थिए । नेता चयन गर्ने र मतदानमार्फत आफ्ना चाहना आफ्नो शासकसँग जनताले अभिव्यक्त गरेको त्यो पहिलो अवसर थियो । त्यसयताका पञ्चायती ३० वर्षमा निरंकुश शासकहरू जनताबाट अलग्गिएका थिए । नेपाली जनताले आफ्ना शासकलाई सोझै सम्पर्क गर्न २०४८ को बहुदलीय चुनाव पर्खिनु पर्‍यो । हालैका वर्षहरूमा जनतालाई चुनावले मात्रै शासकहरूसँग नजिक्याएको छैन । फेसबुक र टि्वट्टरको यो जमानामा शासकहरूले अब जनतासँग लगभग प्रत्यक्ष सम्पर्क गर्न पाएका छन् । प्रधानमन्त्री हुनु थुप्रै अगाडि नै फेसबुकमार्फत सर्वसाधारणसँग अन्तक्रिर्या गरेका भट्टराईले देशको सर्वोच्च कार्यकारी पदमा पुगेपछि जनताका कुरा सुन्न अन्य माध्यमबाहेक इमेलका पनि सहयोग लिएका हुन् ।
बेलायतको लन्डनबाट स्नातक सकेका काठमाडौंका इन्दु शाही कांग्रेसले शासन सम्हालेका बेला खासै परिवर्तन नभएको उल्लेख गर्दै प्रविधि र स्वास्थ्यमा विकास गर्न प्रधानमन्त्रीलाई भनेका छन् । उनले बिमा क्षेत्र र कर तिर्ने नागरिकलाई बेलायतमा जस्तो सामाजिक सुरक्षा दिनुपर्ने इमेलमा लेखेका छन् ।
यता काठमाडौंको गोरखा एफएममा कार्यरत निरज खड्काले सञ्चारगृहमा न्यूनतम पारिश्रमिकको व्यवस्था पनि नभएकाले पहलकदमी लिन अनुरोध गरेका छन् । गैरीगाउँका चूडामणि आचार्यले बजारमा एलपी ग्यासको अभाव सिर्जना गरिएकाले ग्यास नपाएको मर्का इमेलमार्फत साटेका छन् । काठमाडौंमै बसिरहेका धुव्र भट्टराईले आपूर्ति मन्त्रालय भट्टराईलाई नै राख्न सुझाउँदै भनेका छन्, 'पेट्रोलियम पदार्थमा धेरै ठूलो लुट र चरम भ्रष्टाचार छ । त्यहाँका भ्रष्टाचारीलाई छानी-छानी कारबाही थालिदिनुहोस् । जनताले वाहवाही गर्नेछन् ।' उनले बाबुरामले सर्वसाधारणसँग हरेक साता गर्ने भेट अत्यन्तै सकारात्मक उल्लेख गर्दै हप्तामा कम्तीमा ३ घन्टा अन्तक्रिर्या गर्न माग गरेका छन् । मन्त्रिमण्डल  ठूलो देखिएको उल्लेख गर्दै उनले महँगा गाडी नचढ्न पाइने गरी आचारसंहिता कडाइकासाथ लागू गर्न भनेका छन् ।
उपत्यकाको ट्राफिक समस्या र राजस्वसम्बन्धी सुझाउँदै स्युचाटारका तीर्थराज शर्माले आफूलाई भेट्ने मौका दिए काठमाडौंको सवारी चाप कसरी घटाउनेबारे पूर्ण विवरणसहितको अध्यन बुझाउने भनेका छन् ।
साइलीटार लमजुङका जगदीश्वर पाण्डेले दुई पेज लामो इमेलमा आफूले भर्खरै प्रधानमन्त्रीलाई विद्यावारिधिमा सघाउने प्राध्यापकको अन्तर्वार्ता पढेको उल्लेख गरेका छन्, 'तपाईंले त्यसताका नेपालको ग्रामीण र सहरी विकास योजनाबारे लेख्न भनिएको ३ सय पेजको सोधपत्र ७ सय पेज लेख्नुभएछ । त्यो सोध अहिले नेपालका लागि उपयुक्त हुनसक्छ ?' पूर्वऊर्जामन्त्री गोकर्ण बिष्टको कार्यकालको प्रशंसा गर्दै उनले आफूमात्र नभई देशका अधिकांश सर्वसाधारणले फरक अपेक्षा गरेको बताएका छन् । प्रधानमन्त्रीको प्रशंसक भएको उल्लेख गर्दै उनले भ्रष्टाचार, ढिलासुस्ती, कालाबजारीलाई कम गर्न सञ्चारमाध्यमको भरपुर प्रयोग गर्न सल्लाह लेखेका छन् । सुदूरपश्चिमबाट विजय पन्तले सुदूरपश्चिममा विश्वविद्यालय, सेती हाइड्रो प्रोजेक्ट, सूचना प्रविधि, यातायाता, जडीबुटीलगायतलाई प्राथमिकता दिन भनेका छन् । एक विमान कम्पनीमा काम गरिरहेको बताउने काठमाडौंका शुशील पोखरेलले गरिबी घटाउने आफुसँग उपाय रहेको उल्लेख गर्दै ५ लाखलाई रोजगार दिन सक्ने योजना रहेकाले भेटका लागि समय मागेका छन् । स्नातकोत्तर सकेका र माओवादी कार्यकर्ता पनि रहेका उनले आफूलाई बाबुराम औधी मन पर्ने नेता रहेको र उनीसँग काम गर्न इच्छुक रहेको लेखेका छन् । ललितपुरको टीकाथलीबाट खानेपानी उपभोक्ता समूहले माओवादीकै सभासदलाई प्रभावित बनाई आफ्नो वडामा आएको विकास रकम अर्को समूहले लिएकाले खानेपानीको बजेट फर्काइदिए धेरै टोलवासी खुसी हुने भनेका छन् ।
बाबुराम प्रधानमन्त्री भएपछि अति खुसी भएको उल्लेख गर्दै चीनको सिन्ह्वा समाचार एजेन्सीका एक पत्रकारले बाबुरामलाई आफूले प्रकाशन गर्न लागेको तस्बिर किताबका लागि शुभकामना लेखिदिन भनेका छन् । उनले थुप्रै चिनियाँहरूले उनलाई मन पराउने उल्लेख गर्दै उक्त पुस्तक आफू नेपालमा बस्दा खिचेका ८ हजार २ सय फोटोबाट छानिएका १ सय ४० फोटोको नेपालबारेको पुस्तक भएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध थालेको कदमको स्वागत गर्दै सरोज शर्माले अध्यागमन विभागमा नक्कली कागजातमा हुने भ्रष्टाचार रोक्न अनुरोध गरेका छन् । उनले त्यहाँ कसरी केमा भ्रष्टाचार हुन्छ, विवरणसहित इमेलमा पठाएका छन् ।
दीपकप्रसाद वलीले बाबुराम प्रधानमन्त्री भएपछि धेरै खुसी हुनेमध्येको आफू पनि उल्लेख गर्दै भनेका छन्, 'सबै मिहिनती र बफादार नेपाली तपाईंलाई त्यो सर्वोच्च कुर्चीमा देखेर गौरव महसुस गरिरहेका छन् ।' स्नातकोत्तरको प्राध्यापक रहेको बताउने उनले वागमती नदीलाई धार्मिक नदीमा परिणत कसरी गर्ने विषयमा पुस्तक लेखिरहेको र पुस्तक तयारका क्रममा महावीर पुन र कर्ण शाक्यको अन्तर्वार्ता लिइसकेको उल्लेख गर्दै अब पुस्तक लेख्ने कार्य रोक्न चाहेको बताएका छन् । कारण उल्लेख गर्दै उनले आशा गरेका 'आशा छ, तपाइर्ं प्रधानमन्त्री भएपछि वागमती सफाइ हुनेछ, मैले किताब लेखेर किन मसी, पेपर र पैसा खेर फाल्नु ।'
लामाभीर सिन्धुलीका तारानिधि पोखरेलले बाबुरामको मन्त्रिमण्डलमा राष्ट्रिय पोसाक दौरा-सुरुवालको अपमान भएको उल्लेख गर्दै राष्ट्रिय पोसाकको घृणा गरिएको टिप्पणी गरेका छन् । 'प्रचन्ड प्रधानमन्त्री हुँदा उनका मन्त्रीले त लगाएका थिए तर तपाईंको कार्यकालमा कसैले पनि राष्ट्रिय पोसाक लगाएको देखिएन, चित्त दुःखेको छ ।' इन्द्रजात्रामा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशको बीचमा सर्ट पाइन्टमा रहेका प्रधानमन्त्री भट्टराई बकुल्लाजस्तो देखिएको संकेत गर्दै पोखरेलले देशको बहुसंख्यक जातको चित्त दुःखाउन नहुने भनेका छन् । मोरङका गणेश लम्सालले प्रहरीको अभाव पूर्ति गरिदिन लेखेको इमेलमा इमान्दार र फूर्तिला प्रहरी अधिकृतको माग गरिएको छ ।
प्रधानमन्त्रीसहित उनका दुई सहयोगीले पनि 'साइन इन' गर्ने जिमेल ठेगाना सञ्चारमाध्यमार्फ सार्वजनिक गरिएपछि सातायता २ हजार हाराहारी इमेल प्राप्त भएका उनका सहयोगी विश्वदीप पाण्डेले बताए । इमेल हेर्न, डाउनलोड गर्न विष्णु धिताललाई जिम्मा दिइएको छ । 'बधाई र सुझाव दिनेलाई धन्यवाद लेख्ने काम मैले र विष्णुले गर्छौ, र, कतिपय इमेलको जवाफमा प्रधानमन्त्रीको आशय बुझी जवाफ लेखिदिने पनि गरिएको छ,' पान्डेले भने, 'प्रधानमन्त्रीले जवाफ दिनुपर्ने इमेलमा उहाँ आफैंले हरेक साँझ एक घन्टा समय दिँदै आउनुभएको छ ।'
इमेलमा औशतले बाबुरामप्रति निकै आशा रहेको लेखेका छन् । निजी सचिवालयका अनुसार इमेलमा नकारात्मक टिप्पणी र आवेग छैनन् । धेरैले दौरा-सुरुवाल लगाउन, अमेरिका नगई पहिले भारत भम्रण गरिदिन अनुरोध गरेका छन् । राहतका लागि सुझाव र बजार अनुगमन लागि तीव्रता दिन पनि इमेलमा लेखिएको छ । पाण्डेका अनुसार औशत इमेल नेपाल बाहिर रहेका विद्यार्थी र कामदार रहेका छन् । त्यस्तै नेपाल भित्रका निजी स्कुलमा पढ्ने विद्यार्थीले पनि लेखेका छन् । पान्डेले अहिलेसम्म प्रधानमन्त्रीको प्रशंसा गरिएका तर उनीप्रति व्यक्तिगत आक्रोश पोखिएका इमेल नआएको दाबी गरे ।
अब पालो प्रधानमन्त्रीको छ, जनताका सुझाव लागू गर्ने र तिनका चाहना पूरा गर्ने । त्यो अनभए, अर्को साता या महिनादेखि इन्बक्समा प्रधानमन्त्रीप्रति आक्रोश पोखिएका इमेल आउन थाले आश्चर्य मान्नुपर्ने छैन ।

0 comments

Leave a comment