BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

ओ काँशी !

Published on Saturday, November 5, 2011 4:46 AM //


                                                                       -   देवेन्द्र भट्टराई
वि.पि कोईरालाको ‘आफ्नो कथा’ र ‘आत्मवृतान्त’बाट जानिएको वनारस । ताना सर्मा र बालकृष्ण पोख्रेलहरुका झर्रोवादको किल्ला भनि सुनिएको बनारस । कमरेड पुष्पलालहरुका जनवादी सूर्यको झुल्के उदाएको वनारस । बिएचयु अर्थात बनारस हिन्दु विश्वविद्यालयमा संस्कृत पढ्दै गरेका साथीहरुले सुनाउने का“शीगाथा । घरका ढोकामा बेलाकुबेला झुल्किने गेरुवस्त्रधारी साधुहरुका संस्कृत उच्चारणमा सुन्दै आएको वाराणसी । र, भारतीय उपन्यासकार पंकज मीश्राले आफ्नो उपन्यास ‘रोमान्टिक्स’मा वर्णन गरेको बनारस । यी सबै कहावत र लिखतहरुले बनाएको कोलाज चीत्र मस्तिष्कमा बोकेर काँशी पुग्नु एउटा विचित्र अनुभव संगाल्नु रहेछ ।
                              मीश्राको उपन्यासको मुख्य पात्रले बनारसबारे यसो भनेको छ, ‘हिन्दुहरुले पुनर्जन्मको अटुट चक्रबाट मुक्ति पाएर स्वर्गमा आराम गर्ने मनसुवा राखेर सदियौँदेखि धाउँदै आएको यो तीर्थस्थल आजकल व्यापारीक कोलाहलले गुन्जायमान रहने शहरमा परिणत भएको छ ।’ यद्यपी भारतिय नवउदारवादी आर्थीक नीतिबाट नीःसृत नाफामुखी हल्ला र बाटाका छेऊछाऊमा पाक्ने बिरयानी सुगन्धका बीच पनि यो पूरानो तीर्थस्थल आफ्ना सबै मौलीक बान्कीहरु सजाएर अहिले पनि उत्तिकै भाइब्रेन्ट छ । साघुरा गल्ली, पूराना घर र मोहल्ला, साढेको ताँती, पान, चीया र मीठाई पाईने असंख्य कुनाहरु । सेता पहेंला र राता धोतीकुर्तामा बेरीएर हिड्ने पण्डा, पण्डीत, पुरेत र धर्मगुरुहरु । यी सबैको निर्वाध यात्रा अहिले पनि उसरी नै जारी छ, जसरी हामीले वषौं पहिलेदेखि जनश्रुती झैं सुन्दै आएका छौ ।


कुरा भाषासाहित्यको 
यात्राको सन्दर्भ नै साहित्यिक थियो । नेपालमा राणाशासन रहेका बेला वनारसबाट ‘उदय’ पत्रिका प्रकाशन गर्ने सम्पादक काशीबहादुर श्रेष्ठको सतवार्षीकि समारोह यात्राको मुख्य उद्देश्य थियो । कार्यक्रमको चाजो मिलाउने दिल्लीस्थित साहित्य एकेडेमी र संयोजनको भूमिका निर्वाह गर्ने उनै काशीबहादुरका छोरा दुर्गाप्रसाद श्रेष्ठ थिए जो हाल ‘उदय’ सम्पादक÷प्रकाशक हुन् ।
दुई दिने कार्यक्रममा पेश भएका कार्यपत्रहरुले काशीबहादुरका कृतित्व र व्यक्तित्वलाई अनेकन् रंगमा पोते । हाम्रा लागि धुमिल काँशीबहादुर प्रष्ट भएर प्रकट भए । आफु सिकारु हुदा नै उदयमा छापिएका कविता र लेखका प्रसंग उल्लेख गरेर भावुक भएका वैरागी काईला, ताना शर्मा र कमलमणि दीक्षित कार्यक्रमका आकर्षण थिए । आसामबाट हाम फालेर वनारस आईपुगेका के बी नेपाली र छविलाल उपाध्याय, टीकाराम उपाध्यायहरु पनि उचो स्वरमा नेपाली साहित्यको महिमा बताईरहेका थिए ।

वाराणसी विमानस्थलबाट बाहिरिँदै गर्दा साहित्यिक विषयवस्तुको अनुमान लगाईँदै थियो । अनुमान यस्तो थियो– सबभन्दा बढ्ता कुरा हुन्छ नेपाली भाषाको । नेपालभित्र नेपाली भाषा किलर–ल्यांग्वेज अर्थात् ‘हत्यारो भाषा’ भनि विश्लेषण हुन थालेको भएपनि आसाम, मणिपुर, दार्जीलिंग, सिक्किम लगायतका ठाउँमा छरिएर बसेका नेपालीभाषीहरुका लागि त यहि भाषाकै कुरा सबभन्दा बढ्ता महत्वको हुन्छ ।
भाषाका बारे यस्तै केहि सोच्दै गर्दा हामीसंगै रहेका पत्रकार गीरिश गीरि आफ्नो जन्मथलो वीरगञ्ज र वनारसबीच समानता खोज्न थालेका रहेछन् । हावापानी मीलेकाले होला उनी नोस्टाल्जिक बने, कवि झैं । त्यसमाथि हामी बसेको गाडी गुडाईरहेको चालकले फ्याट्ट भोजपूरी भाषा बोल्यो । गीरिशको नोस्टाल्जीया अझ बाक्लियो । उनी चालकसंग भोजपूरी भाषामा एकछिन गफिए । यो भाषा र ठाउँसंग जोडिएको एक सिरियस ईपिसोड थियो । दोश्रो ईपिसोड रचियो, होटल पुगेपछि ।
डायमन्ड होटल । होटलमा कोठा मीलाउने बेलामा आलोचक कुमार कोईराला अर्थात डा. कुकोले भने, ‘भाइ हामको अकेला सुत्नेका कमरा मीलादो । हाम ज्यादा घुर्ते हेँ, दुस्रोका डीस्टर्ब होगा ।’ अब प¥यो फसाद । त्यो होटलवाला डा. कुकोलाई छक्क परेर हेर्न थाल्यो । कुरो कसरी गढबढ भयो भने हिन्दीमा ‘घुर्न’ु भनेको एकोहोरो हेर्नु हो । त्यो बिचरो सोच्दो हो, यो नेपालबाट आएको कवि कस्तो होला जो रातभरि जागै बसेर संगै सुतेको अर्कोलाई एकोहोरो हेरिरहन्छ । एकछिन पछि कसैले कुकोलाई ठीक शब्द सुझायो । उनले फेरि भने, ‘हाम घुर्ते नही भइया, खर्राटँ मार्ते है रातभर...।’ हिन्दी लवज र भाषा बोल्नुपर्दा आफ्नो ‘लिङ्ग’ कमजोर स्वीकार्ने अभि सुवेदी नजिकै मुसुमुसु मुद्रामा थिए । पछि दोबाटे आलुचप खाइरहेका बेला उनले ढुक्कको स्वरमा भने— मेरोजस्तै हिन्दी बोल्नुपर्दा डा.कुकोको पनि लिङ्ग निकै कमजोर हुदो रहेछ ।


सारीको साइनो
लखनउको भुलभुलैयाजस्तो लाग्ने बनारसको गल्लीहरुमध्ये पनि दिनरात भीड रहने दुधबिनायकको एक चिया पसलमा उभिएर चिया पिइरहेका बेला भेटिए– भुरेभाइ । बनारसमा जन्मे, हुर्केका बिहारी मुलका भुरेभाइलाई दोहोयाएर सोध्दा पनि उनी भनिरहेका थिए— मेरो नामै भुरेभाइ !
मीठो नेपालीमा संवाद गर्न सक्ने भुरेभाइ बितेको २२ बर्षदेखि काठमाडौंको बजारमा बनारसी सारी निर्यात गर्ने एकमात्र पात्र रहेछन् । काठमाडौंको मखन, मासंगल्ली, इन्द्रचोकतिर गएर ‘भुरेभाइ’ भनेर बोलायो भने पनि धेरै व्यापारीको कान ठाडो हुन्छ रे, भुरे भनिरहेका थिए । बनारसी काइदाका सारी, सिल्कका सारी, हातले बुनिएका र सितार जडिएका सारीका उत्पादक र व्यापारी रहेछन् भुरेभाइ । ५६ बर्षे भुरेका २४ बर्षे छोरा पनि अहिले सारीको साइनो खोज्दै काठमाडौं आवातजावत गर्न थालेका रहेछन् ।
‘म काठमाडौंका बिशेष गरी नेवार समुदायमा कस्तो सारीको टेष्ट चाहिन्छ, त्यही बनाइरहेको हुन्छु,’भुरे भनिरहेका थिए—‘काठमाडौंको बजारमा २ हजारदेखि २५ हजार भारुसम्मको बनारसी सारी बिक्रीमा जाने गरेको छ ।’ नेपालमा सधैंजसो बन्द, हड्ताल र बजारिया तनाव भैरहने भएपनि भुरेभाइलाई यसको मतलब नहुने रहेछ । उनको तर्क र अठोट आफ्नै थियो । भनिरहेका थिए—‘के हाम्रा रितिरिवाज,पर्व र बिहा–शुभकर्महरु कुनै बन्द–हड्तालले रोकिएका छन् र ?’
कुरा ठीकै पनि हो । भुरेको काठमाडौंसगको सारीको साइनो गजबकै लाग्यो ।

गायक विजय विहारी 
बनारस नजिकको बौद्ध धार्मिक केन्द्र सारनाथ पुगेर फर्कदा अटोरिक्सालाई धकेल्दै र घेर्दै आइरहेका हुन्थे, बनारसी साढे, गाइ र कुकुरका जत्थाहरु । धिमा गतीमा चलिरहेको अटोमा एकाएक एकजना ट्राफिक फुत्तै चढे, चालककै सिट आडमा । बिहार घर भएका भीएस पाण्डे अर्थात बिजय बिहारीको चिनारी ट्राफिकभन्दा पनि भिन्न रहेछ । उनी विश्वनाथ बाबा र मन्दिरमा समर्पित भएर भजन लेख्ने र गाउने गर्दा रहेछन् । जे जसो भएपनि पेशामा एक ट्राफिक भएकाले एउटा मौकामा उनलाई सोधियो—‘बिजय साब, यहाका ट्राफिकमें क्य“ु ऐसा रस्साकस्सी है ?’
‘अरे भाइसाब, ये तो यहा“का सा“ढ्का पुछ्ना चाहिए’,जवाफ आफ्नै काइदाको थियो । दिनभर सडकमा सा“ढेको राज्य चल्ने र रातमा मात्रै गंगा तटमा गाई खोज्दै हिढ्ने रहेछन् यी साढेहरु । अनि रातमा भने बनारसी ट्राफिक व्यवस्थापन निकै सहज र सिटि फुक्दा पनि सुन्ने–सुनाउन सकिने बन्ने रहेछ । किन यस्तो हालत उब्जिएको होला ? फेरि ट्राफिक बिजय बिहारीलाई सोधियो, उनी अन्र्तआत्मामा निर्भर हुदै भनिरहेका थिए—यो सबै विश्वनाथ बाबा र गंगा माताको कृपा हो ।

रंगबिरंग बनारस
दुधबिनायक गल्ली भएर गंगाघाटतिर गुज्रिरहेका बेला तुलसीदासकृत ‘बिनय पत्रिका’को शिलालेख लेखिएको भित्तो आउ“छ । त्यसैको छेउमा पानपसले भरतलाल केशरी भेटिन्छन् । बिहारका मुख्यमन्त्री लालुप्रसाद यादव केही बर्षअघि घुमघाममा यो गल्लीमा छिरेका बेला केशरीले लालुलाई समेत पान ख्वाएका रहेछन् । नेपाली ढाकाटोपी लगाएका केशरीले आफू बस्ने भित्तोमा राजा बीरेन्द्रको सपरिवार तस्वीर पनि टागेका थिए । राजालाई बिष्णुका अवतार मान्ने उनी जीवनमा एकपटक पशुपतिनाथ दर्शन गर्न भनी बनारसबाट गोरखपुर हिडेका रहेछन् । तर सुनौली नाका पुग्दानपुग्दै खबर थाहा पाएछन्—नेपालको कर्फुयु, अशान्ती र झान्झावात । त्यो दिन रहेछ— ०५८ जेठ १९ अर्थात राजदरबार हत्याकाण्डको दिन । ‘उस वक्त गोरखपुर से बापस लौटआए, पशुपति दर्शनका आखिरी इच्छा अभि भि मेरे साथमें है,’केशरी कुरा थियो ।
बिनायकघाटको छेउमैं नेपाली मन्दिर पुगेपछिको आनन्द अर्कै थियो । काशीबासमा आएका १९ जना नेपाली आमाहरु त्यहा थिए । संस्कृत पढ्ने बिद्यार्थीको हुलमा सिक्मितिरबाट आएका एकजना राई बिद्यार्थी पनि मन्दिर–घण्ट बजाइरहेका थिए । ‘भाइ, के बन्ने त भोलीपर्सी ?’
प्रश्न भुई झर्न नपाउदै तिनले भने—‘छोटा स्वामी प्रपन्नाचार्य !’
बनारसी गल्लीमा करेलादेखि परबलसम्मको मीठाइ भेटिन्थ्यो । कुकुर, साढे, गाइको जत्था यत्रतत्र देखिन्थ्यो । पान र चियाकै ब्रेकफास्ट–लन्च–डिनर झैं चलिरहेको हुन्थ्यो । गंगा किनारामा पण्डित र पुरेतहरु यसो छड्के पर्दै निशंकोच लघुशंका गरिरहेका हुन्थे । पवित्र गंगामा फोहोरको ढल र भैंसीको आहाल सगै देखिन्थ्यो । दोबाटे चियापसलेका पुराना क्यासेटहरुमा भुपेन हजारिकाको स्वर पनि एकैसाथ सुनिन्थ्यो— ‘गंगा तु बहेती हो क्य“ु ?’

Tags:

0 comments

Leave a comment