BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

सरकारलाई एनआरएनको पत्र

Published on Friday, November 25, 2011 11:37 AM //



-चर्चित ढुंगेल
दोहा-श्रीमान्/श्रीमति/सुश्री ६०१ को सरकारमा हामी एनआरएन अर्थात् ‘नव रङ्गी नेपाली’को हार्दिक नमस्कार, ढोग, नमन, साष्टाङ्ग दण्डवत्, सलाम, रामराम, लाल सलाम, जय नेपाल र लास्टाँ सलामवालेकम!
सर्वप्रथम त हाम्रो नामाकरणको रहस्य सरकारलाई सुनाउँन चाहन्छौँ। नयाँ नयाँ देशमा गएर नेपाली राजनितिको नयाँ रङ्गले, नयाँ ढङ्गले प्रचार प्रसारमा लाग्ने भएकाले र समस्यामा परेका नेपालीदेखि कोशौँ टाडा भाग्ने भएकाले हामीले हामीलाई एनआरएन भनेका हौँ र यो एनआरएनको पूरा रुप ‘नव रङ्गी नेपाली’ हो। हामी छेपारोले झैँ रङ्ग फेर्न र चुनावका बेला चेपारो घस्नमा माहिर छौँ। हामी यो नयाँ जमानामा नेपाललाई नयाँ बनाउनमा लाग्ने प्रणले संस्थागत भएकाले पनि हाम्रो नाम सार्थक छ भन्ने हामीलाई लाग्या छ। नामको सार्थकतापछि कामको सार्थकतातिर हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ। 
                   स्थापनाकालदेखि हामीले गर्दैआएका महान उपलब्धीलाई हामी यहाँ बाँढ्न पाउँदा खुसीले गद्गद् भएका छौँ। हामीले गरेको सवैभन्दा महान काम हाम्रो संस्थाको स्थापना हो। पृथ्विनारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेजस्तै ‘हाम्रा साना स्वार्थले आर्ज्याको संस्था होइन’। संस्था गठनपछि हामीले विश्वभरि शाखा खोलेर यो रसियाब्यापी संस्थालाई विश्वब्यापी बनाउन महान भुमिका खेल्यौँ। त्यसपछि हामीले बर्षैपिच्छे नयाँ पार्षद् थप्यौँ र पुराना पार्षद्लाई नविकरण गरायौँ। पार्षद् थप्दा र नविकरण गराउँदा हामीले मोटो रकम बटुल्ने नितिलाई निरन्तरता दियौँ। मोटो रकम असुल्ने तर परिआउँदा लुक्ने हाम्रो रणनितिले गर्दा हामीले उन्नाइसौँ लाख नेपालीमा एक लाखभन्दा कम सदस्य बनाउन सफल भएका छौँ। तर यस्तो हुनुलाई हाम्रो कार्यशैलीसँग बितृष्णा भएर सदस्य नबढेका हुन् भन्ने सरकारलाई लाग्छ भने हामी गम्भिर असहमति जाहेर गर्दछौँ। खास कुरो के हो भने ‘धेरै विरालाले मुसो मार्दैनन्’ भनेर प्रवाशी नेपालीहरुले ‘नव रङ्गी नेपाली’ जस्तो महान संस्थालाई चुस्त, दुरुस्त र तन्दुरुस्त पारीराख्न जम्बो टोली नबनाएका हुन्। चार करोड जनतामा छ सय एक सभाषद् हुनु पनि नेपाली जनताको यस्तै उदार भावनाले हो भन्ने हाम्रो बुझाइ छ। त्यसैले सदस्य संख्या बढाउन नसक्नु भन्दा पनि नचाहनुमा सरकारको पनि हाम्रैजस्तो बुझाइ हुनुपर्छ भन्ने हाम्रो माग छ।
अन्य केही महान उपलब्धीलाई हामीले यहाँ उल्लेख गरेनौँ भने गम्भिर त्रुटी हुने देखिएकाले हतारहतार हामी भनाइ र गराइमा कठिबद्ध नभए पनि यो पत्रमा लिपिबद्ध गर्न चाहन्छौँ। हामीले खाडी र मलेशियामा रहेका नेपालीलाई समेट्नुका पछाडिको कारण गुह्य छ। र त्यो के भने अन्य मुलुकमा भन्दा ति मुलुकमा काम गर्न गएका लाटासिधा नेपालीलाई फस्ल्याङ्गफुस्लुङ्ग पारेर सदस्य बनाउन सकिन्छ भन्ने भित्रि ‘ग्राइनडिजाइण्ड’ हो। यसरी एकपटक चिप्लो घसेर बसमा पारियो भने रकम हातालागी भइहाल्छ। फेरि तिनै देशमा अन्य देशमा भन्दा धेरै संख्यामा नेपाली कामदार छन्। हाम्रा सदस्य पनि तिनै देशमा धेरै छन्। यो यसै निति अनुसार सम्भव भएको हो।
एकसय वियासी दिन कटेकालाई सदस्य बन्न पाउने नियम बनाउनुको पनि बेग्लै कथा छ। हाम्रो मुख्य सदस्य भएका खाडी राष्ट्र र मलेशियामा तिनले चाहेर पनि युरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि देशमा जस्तो ‘ग्रिन कार्ड’ पाउँदैनन्। बरु पाए भने सिधै ‘रेड कार्ड’ पाएर नेपालै फर्किन्छन्। खाडी र मलेशियामा भएका श्रमिकको लागत पनि ख्वाप्पै र खटाइ पनि दह्रो अनि कमाइ पनि कम हुने भएकाले छुट्टिमा आउँदैजाँदै गरे पनि धेरै बर्ष बस्ने गरेका छन्। यसो हुँदा धेरै बर्ष दुहुनु गाईलाई जस्तै तिनलाई हामीले दोइरहन पाउँछौँ। कहिलै थारो नहुने गाईका रुपमा हामीले तिनलाई बर्गिकरण गरेका छौँ। एजेण्ट वा म्यानपावर कम्पनिलाई विदेश्याएवापत दिएको रकम उठाउनै तिनलाई एक सय वियासी दिन भन्दा बढि लाग्छ र करैले पनि बस्नुपर्छ। त्यही मौकामा हामी तिनलाई पार्षद् बनाइहाल्छौँ। खास कुरो यही हो।
हामीले सामुहिक लगानीको कुरो जोडतोडले उठाएका छौँ। किन पनि भने हामी नेपालीमा कहीँकतै कोहीसँग पनि मेलमिलाप छैन। खुट्टा तान्ने, छिर्की हान्ने गर्नमा हामीले ‘पिएचडि’ गरेका छौँ। कहिलै मिल्न नसक्ने नेपाली स्वभाव थाहा पाएर नै हामीले यो कुरोलाई अघि बढाएका हौँ। मिलाउनै नसकिएपछि लगानी गर्नै परेन। त्यसै पनि यो नारा लोकप्रिय भएकै छ। नारा लोकप्रिय हुनु भनेको ‘नव रङ्गी नेपाली’ लोकप्रिय हुनु हो र यो लोकप्रिय हुनु भनेको बर्षेनी पार्षद् बढ्नु र अर्थतन्त्र बलियो हुनु हो। नेपालमा चुनाव गर्नु चाहीँ सरकारलाई जनबल देखाएर मनोवल गिर्न नदिनु हो। यत्ती गरेपछि आलोचित हुनु पर्दैन भन्ने हाम्रो ठम्याइ छ। नेपालमा दर्ता गछौँ भन्ने चैँ ‘हात्तीको देखाउने दाँत’ हो। दर्ता गरेर केही गर्न नसकिने सत्यलाई गोप्य राखे पनि काम नगरेको आधारमा सरकारले खारेज गर्ला र फोकटमा आउने नाम र दामलाई गुमाइएला भनेर हो।
सरकारसँग हाम्रा केही मागहरु छन्। हामी नेपालीहरु म्ाागेरै काम चलाउँछौँ, यो हाम्रो राष्ट्रिय चरित्र हो। त्यही भएर हामीले दोहोरो नागरिकता मागेका हौँ। खासमा यसरी हामीले दोहोरो नागरिकता माग्नुका पछाडिको राज पनि गज्जबको छ। हामीमध्येका उमेद्वारहरु सवै केही न केही ब्यावसाय गर्नेहरु छौँ। यो एनसिसि र आइसिसि दुवैमा लागु हुन्छ। मन मात्रै हुनेलाई हामीले पार्षद्मै थन्क्याएर धन हुनेहरुलाई मेजर पोष्टमा तानेका छौँ। यि सवै पउँचवालाहरुलाई कालान्तरमा ग्रिन कार्ड मिल्ने देशमा ल्याउने हाम्रो योजना हो। त्यसमा पनि खाडी र मलेशियामा भएकाहरुका लागि यो दोहोरो नागरिकताका कुरा सकेसम्म लुकाउने गरेका छौँ। लुकाउनकै लागि तिनले श्रमिक ल्याएर अलपत्र पार्दा पनि ‘तैँ चुप मैँ चुप’ गरेर बसेका हौँ। किनकी हामी पश्चिमी देशमा भएकाहरुलाई बसेको देश र नेपालको नागरिकताको खाँचो छ। खाँचो किन पनि परेको हो भने यो ‘नव रङ्गी नेपाली’को संस्थामा हामीलाई हाम्रो पार्टीका मान्छेले धकेलेर/बोकेर पठाएका हुन्। भोली नेपालमा राजनिति गर्न र त्यो नभए पनि कमसेकम दशैँमा ससुरालीमा टिका थाप्न भए पनि जानै पर्छ। त्यसैका लागि मात्रै दोहोरो नागरिकताको खाँचो हो। दिने भए आउँछौँ, नदिने भए यत्रैसित्ती!
क्यान्सर कार्की
‘दमाहा’ सचिव
तथा नव रङ्गी नेपाली परिवार
अमेरिका/युरोप/रुस/क्यानाड र अष्ट्रेलिया

0 comments

Leave a comment