BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

प्रा.डा. गोबिन्दराज भट्टराईसँगका केही अविष्मरणीय अनुभूति

Published on Friday, November 25, 2011 11:41 AM //


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालयको आयोजनामा नोमेम्बर ११ तारिकमा सम्पन्न १०२ औँ लक्ष्मी जन्म जयन्ती समारोहमा प्रमुख आथित्य ग्रहण गर्न नेपालबाट प्रा. डा. गोबिन्दराज भट्टराई कतार आएका थिए ।

एकसाता कतार बसाइको पहिलो दिन नोमेम्बर ९ तारिक भट्टराईको कतार आउने कार्यतालिका थियो । अनेसास कतार च्याप्टरका अध्यक्ष तथा साहित्यकार हेमन्त परदेशी, नवोदित साहित्यिक मोवाइल पुस्तकालयका कार्यवाहक अध्यक्ष तथा अनेसास कतार च्याप्टरका उपाध्यक्ष रेगिस्तानी कवि तीर्थसंगम राई र मलाई लिएर दोहा अन्तर्राष्ट्रिय विमानस्थल जान दोहाबाट मोवाइल पुस्तकालयका संयोजक कवि राजेश्वर ढकाल र कोषाध्यक्ष तथा गजलकार मित्र जगतराम बर्देवा घायल सनैया आएका थिए । हामी विमानस्थल पुगेको दस मिनेटपछि अनेसास कतार च्याप्टरका निबर्तमान अध्यक्ष तथा बर्तमान कार्यसमिति सदस्य दीपक भेटवाल, कान्तिपुरकर्मी दिनेश रेग्मी र अनेसास सचिव सागर अजनवी पनि आइपुगे ।

हामी बिमानस्थल पुग्दा बहराइन एयरले दोहाको माटो टेकिसकेको जानकारी प्रतिक्षालयको टेलिभिजन स्क्रीनले दिइसकेको थियो । एउटा ठूलो पुष्पगुच्छाबाट एकएक थुङ्गोसहितको फूल सवैलाई बाँढ्नुपर्ने भो । तीर्थसंगम राईले सवैलाई पुष्पगुच्छा हातहातमा थमाए । एकछिनपछि दीनेश रेग्मीले ‘म त हातै मिलाउ‘छु, यो अलि अफ्ठेरो लाग्यो । मेरो परिचय हात मिलाएर दिन्छु’ भने । उत्तिनैखेर तीर्थ संगम राईले ब्यङ्ग्य कसे, ‘सानो थुङ्गो भएर होला, ठूला मान्छेको ठुलै कुरो ।’ जवाफमा दिनेशले भने, ‘थुङ्गो सानो भएर होइन, मलाई हातै मिलाउन मन लाग्यो ।’ ‘सवैभन्दा छुट्टै देखिने काइदा पनि हो यो’, दीपक भेटवालले थपे । यता राजेश्वर ढकाल, सागर अजनवी र जगतराम बर्देवा भने अलिकति अधबैँशे र तालु भएको मान्छे देख्ने बित्तिकै ‘ऊ आए’ भन्दै हाम्रो ध्यानाकर्षण गराउँदै थिए ।

केही क्षणको प्रतिक्षापछि भट्टराई हामी छेउमा आइपुगे । त्यहाँका नेपाली सुरक्षाकर्मी मित्रहरुले प्रतिक्षालयतिरकै ढोकाबाट भट्टराईलाई हामी भएतिर पठाइदिए । हामी सवैले उहाँलाई पुष्पगुच्छासहित परिचय दिँदै स्वागत गर्‍यौँ तर नभन्दै दिनेश रेग्मीले हातै मिलाएर स्वागत गरे । डा. भट्टराईलाई यात्राका बारेमा सोध्दा भने, ‘एकादशी प्लेन परेछ, पानी पनि एउटी बहिनीसँग मागेर खाएँ । खानेकुरा पनि थोरै दियो । मिठो चैँ मिठो थियो ।’

बिमानस्थलबाट हामी सिधै अघिनै बुकिङ्ग गरेको नेशनलस्थित होटल क्यापिटल आयौँ । होटलको कोठा नम्बर १०६ मा प्रवेश गरेर झोला विसाएपछि भट्टराईले कार्यक्रमबारे जिज्ञासा राखे ।  तीर्थसंगम राईले कार्यक्रमको तयारी र दीपक भेटवालले भट्टराईलाई यहाँ ल्याउनुको उदेश्य स्पष्ट पारे । भट्टराईले आफुले एउटा डायस्फोरिक प्रतिबेदन ल्याएको र त्यो बाचन गर्न पाए प्रभावकारी हुने धारणा राखे । मोवाइल पुस्तकालयलाई भनेर आफुले ल्याएका र देबेन्द्रराज भट्टराईले पठाइदिएका केही कितावहरुका बारेमा पनि जानकारी दिए । कितावहरुलाई कार्यक्रममै दिँदा उपर्यक्त हुने विचार हेमन्त परदेशीले राखे ।

भोकले रन्थनिएका भट्टराईलाई लिएर हामी सम्सारा थकाली भान्छाघरतिर लाग्यौँ । हामी पसेको कोठामा मधुरो बत्ती बलिरहेको थियो । होटलका स्टाफले बत्तीको उज्यालो बढाइदिए । भीडमा कसैले सोध्यो, ‘अरे बत्ती किन मधुरो र उज्यालो भएको ?’ सागर अजनवीले भुक्तभोगीले झैँ जवाफ दिए, ‘यो फेमिली रुम हो नि त !’ खाना अर्डर गर्न लाग्दा दीपक भेटवालले ‘के खाने ?’ भनेर भट्टराईलाई सोधे । हेमन्त परदेशीले ‘खसीको मासु र भात खाऊँ’ भने । तीर्थले सोधे, ‘सरलाई मासु चल्छ ?’ भट्टराईले हाँस्दै भने ‘नेपालमा खान्न, यहाँ चैँ खान्छु, कसैलाई नभन्दिनु होला ।’ हामी सवै गलल हाँस्यौँ । दीपक भेटवाल भन्दै थिए, “अव फेसबुकमा भाइहरुले स्टाटस लेख्छन्, ‘नेपालमा खान्न, यहाँ चैँ खान्छु, कसैलाई नभन्दिनु होला ।’” जे खाए पनि ‘मिठो’ भन्ने डा. भट्टराईको बानी रहेछ । त्यसको चर्चा हामीमाझ अझै चलिरहेको छ ।

खाना खाएपछि हामी होटल गयौ‘ । दीपक भेटवालले होटलले एक जनालाई भट्टराईसँग बस्न दिने कुरो स्वीकार गरेको सुनाए । राजेश्वर, सागर, दिनेश, दीपक र तीर्थ नभ्याउने भए । बिकल्पमा म र हेमन्त परदेशीमध्ये एक जना बस्ने कुरो चल्यो । भट्टराईले हत्तपत्त भने, ‘घुर्नेसँग म पटक्क सुत्न सक्दिन ।’ साथीहरुले मेरो कोठै थर्काउने घुराइको बर्णन गरिरहँदा हेमन्तले पनि आफु जोडदार घुर्ने कुरो गरे । त्यसपछि भट्टराईलाई ‘शुभ रात्री’ भनेर दीपक भेटवाल आफ्नै कोठामा लागे भने बाँकी रहेका हामी मित्र सागर अजनवीकामा गयौँ ।

भोलिपल्ट हेमन्त परदेशी र राजेश्वर ढकालले डा. भट्टराईलाई होम साइड लगेर उ‘ट चढाउने, बेलुका सागर अजनवी पनि त्यही समुहमा मिसिएर कर्नेश वरिपरि घुमाउने र सॉझमा म पनि मिसिएर इरानी मार्केटमा हुक्का तनाउने योजना थियो ।

नोमेम्बर १० तारिक विहानै भनेको ठाउँमा गाडी नपाएर मलाई हेमन्त परदेशीले फोन गरे र मैले कतारकै एउटा कम्पनिमा चिफ एकाउण्टेन्टका रुपमा कार्यरत पकनाजोल काठमाण्डौंका मेरा मित्र राजन मानन्धरलाई सनैयाबाट पठाएँ । पछि इरानी मार्केटमा भेट भएपछि साथीहरुले डा. भट्टराईलाई उँट चढाएको, वालुवाको पहाड हिँडाएको कुरो सुनाए ।

ट्याक्सीबाट उत्रिएर म सिधै इरानी मार्केटतिर लागेँ । त्यहाँका सुरक्षाकर्मीले मलाई रोक्न खोजे । मैले नेपालबाट ठूला साहित्यकार आएका र मेरा साथीहरु मलाई नै पर्खेर बसेको कुरो गरेपछि तिनले मलाई भित्र छिर्न दिए । साथीहरु मलाई नै पर्खिएर बसेका रहेछन् । हामी हुक्का तान्ने ठाउँमा गयौँ । जता हेरे पनि हुक्का तानिरहेका मान्छेहरु थिए । हुक्का तनाइको सुरुवात डा. भट्टराईबाट भयो । एक सर्को तानेपछि उनले भने, ‘घरमा मेरी हजुरआमाले तानेको देख्थेँ, आज आफैँले चाखेँ ।’ त्यसपछि सुरु भयो ‘कसले बढि धुवाँ निकाल्ने’ प्रतिस्पर्धा । म, राजेश्वर र सागरले फोटो खिच्न क्यामरा र मोवाइल निकाल्दा हेमन्त परदेशीले फोटो नखिच्न आग्रह गरे । तर डा. भट्टराईले हाम्रो समर्थन गर्दै फोटो खिच्ने अनुमती दिए, उनले आफ्नो क्यामरामा पनि हुक्का तानेको फोटो खिचेका छन् । अनि सुरु भयो निकै लामो फोटो सेसन । केही सर्को तानेपछि डा. भट्टराईले भने, ‘भो पुग्यो, लाग्दो रहेछ ।’ भट्टराईसँगै मलाई पनि हुक्काको मात लाग्यो तर राजेश्वर र सागरले एकअर्काको समर्थन गर्दै भने, ‘हामी त हप्तामा तीन दिन आउँछौँ ।’ भट्टराई र परदेशी उठेर नजिकै भइरहेको लाइव कन्सर्ट हेर्न गए । केही समयपछि म उठेर हिँड्दा दुई भाइ अझै हुक्का तान्नमै ब्यस्त देखिन्थे ।

भट्टराईले रोटी खाने इच्छा गरेकाले हामी गोल्डेन फर्क रेष्टुरेण्ट आयौँ । दाल, माछा र रोटीको अर्डर गर्‍यौँ । भट्टराईले वेटरलाई खोर्सानी ४८ प्रतिशत मात्रै हाल्नु भने । माछामा तिरिमिरी हुनेगरी खोर्सानी हालेको रहेछ । चार पिसमा एक पिस कष्टले खाएर भट्टराईले भने, ‘४८ प्रतिशत खोर्सानी हाल भनेको, मोराले ८४ प्रतिशत हालेछ । उल्टो सुन्छ कि क्याहो ? २४ प्रतिशत भन्नु रहेछ, त्यसो हुँदा ४२ प्रतिशत मात्रै हाल्थ्यो कि ?’ नोमेम्बर ११ तारिक कार्यक्रम सकेर सामुहिक खाना खान जाँदा पनि डा. भट्टराईले हिजोका वेटरलाई ८४ प्रतिशत खोर्सानीबारे बताउँदै थिए ।

नोमेम्बर १५ तारिक साँझमा भट्टराईलाई विदाइ गर्न दोहाको एउटा होटलमा सानो कार्यक्रम राखिएको थियो । अनेसास र नवोदितले भट्टराईलाई मायाको चिनो स्वरुप काठको डुङ्गा दिए । ‘साहित्य समुन्द्रजस्तै हो, हामी सवै सिकारुहरु डुङ्गामा चढेका छौँ र त्यो डुङ्गाको चालक डा. भट्टराई हुनुहुन्छ’, तीर्थ संगम राईले डुङ्गा दिनुको बिम्बात्मक अर्थ लगाए । ब्यक्तिगत रुपमा चिनो दिने पनि देखिए । बुटवलका अतृप्त कमलले सानो आकारको हुक्का सेट दिए । भट्टराईले त्यसलाई सेट गरेर तानेजस्तो गरेर स्वीकार गरे । सागर अजनवीले समुन्द्रजत्रै भनेर ठूलो आकारको एउटा किताव दिए । मैले खिया नलाग्ने स्टीलमा लेजर इन्ग्रेभिङ्ग गरेर नेपाली र अंग्रेजीमा ‘प्रा. डा. गोबिन्दराज भट्टराई निवास’ लेखेर दिएँ । यो देखेर दीपक भेटवालले भने, ‘सरको घर खोज्न हामीलाई अव कसैलाई सोधिरहनु परेन, बाहिरै यो ट्याग देखेपछि हामी सिधै घरभित्र छिर्ने भयौँ ।’ डा. भट्टराईले भने, ‘मैले चर्चितलाई घरबाट निस्किँदा र घर फर्किँदा साह्रै याद गर्ने भएँ ।’ केही अरु साहित्यिक कुराकानी भए । अन्त्यमा भट्टराईले ‘साहित्यको घोडा राजनितिमा चढाउनु, राजनितिको घोडा साहित्यमा होइन’ भन्दै विदा लिए । नोमेम्बर १६ तारिक विहान ९ बजे उनी नेपाल फर्किए ।

चर्चित ढुंगेल
दोहा कतार
मोवाइल नं. ००९७४७७१३६६३९

 ·  ·  · Share

0 comments

Leave a comment