BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कान्छाको बिहे...!

Published on Saturday, March 26, 2011 1:52 PM //


पुण्यतिथिको साइतमा समेत पुरेतसँग अरु आशीवर्चन केही रहेनछ । उनी बोले “लौ
अर्कोपटकको श्राद्धतिथिमा भने कान्छाको बिहा भएको देख्न पाइयोस्…।’
देवेन्द्र भट्टराई
“मेरो दुःखी मन सपना नखोज
कि ब्युँझिएर बाँच्नु मुश्किल छ मुश्किल…”
काँल्दाजुको गीतको मुखडा फेसबुकको भित्तोमा के टाँसेको थिएँ उमेर र अनुभवमा परिपक्व ठूल्दाजुले भित्तोमै तु। जवाफ लेख्नुभो- “कान्छा यति बिघ्न बैरागी नबने हुन्थ्यो…”
पूर्वेली भाकामा सन्तानमध्येको काइँलालाई “काँल्दाजु पनि भन्छन् । कवि बैरागी काइँला अथवा हामीले बुझ्ने लवजमा काँल्दाजुको गीत कविता भनेपछि धेरैलाई स्वादिलो लाग्छ । त्यसमाथि “दुःखी मनु गीत अम्बर गुरुङको संगीत-स्वरमा सुन्ने हो भने यो देश-दुनियाँमा एकैचोटी पैह्रो खसेजस्तो फिल हुन्छ । ल्यापटपमा गीत सुनिरहेको मुडमा त्यही फिलिङ फेसबुक भित्तोमा लेखेको थिएँ । बुझ्नेहरुले कि उपद्रो बुझे कि मठ्ठु बुझेनन् । अनि लेखिदिए- “कान्छा एक्लो भएपछि यस्तै हुन्छ । तुरुन्त बिहे गर…।”
यो कथा÷कहानी यहींबाट जन्मिएको हो । पश्चिमाहरु आपसको भेटघाटमा कुनै कुराकानीको थालनी गर्नुपर् यो भने “आजको मौसम कस्तो सुहाउँदो छ है अथवा बिग्रेको छ है” भन्दै मुडमा आउँछन् भन्ने सुनिएको हो । अथवा उनीहरु “तपाईंलाई कस्तो छु भन्दै भलाकुसारी थालिरहेका हुन्छन् । तर हामीकहाँ भने कुराको थालनी पनि विस्मयादिबोधक शैलीमा हुने गरेको छ । यसलाई जवाफीभन्दा पनि “नाजवाफी शैली” भने हुन्छ ।
सोह्रश्राद्धको बेलामा पिताजीको श्राद्धमा हामी जुटेका थियौं । पिताजीको पौरखले जन्मेका सात दाजुभाइमध्ये दुई-चार मात्रै भेला हुन सकिने स्थितिमा काठमाडौंका एक पुरेत “रिल काट्दै” श्राद्ध-कर्म गरिरहेका थिए । रिल यस अर्थमा काटिन्छ सबैलाई थाहा छ- सोह्रश्राद्धको पुरेत भनेपछि एकदिनमा ५÷७ बोर्डिङ स्कुलमा पढाउने घन्टे-शिक्षकजस्तै हो । श्राद्धकर्म सकिएपछि पुरेतका हातबाट सबैले टीका थाप्ने घडी आयो । कान्छो भएकाले सबैको पालोपछि म निधार थाप्दै पुगें । पुण्यतिथिको साइतमा समेत पुरेतसँग अरु आशीवर्चन केही रहेनछ । उनी बोले “लौ अर्कोपटकको श्राद्धतिथिमा भने कान्छाको बिहा भएको देख्न पाइयोस्…।”
अब के भनौं श्राद्धतिथिको साइतमा “बिहा होस् कान्छाको” भन्छन् भने यी पुरेत सद्दे होलान् कि खुस्कट “तपाईंको आशीर्वाद तपाईं नै राख्नोस्” भन्दै बाटा लागें ।
यो सहरका बिहा भोज व्रतबन्ध न्वारान शोकशभा आर्यघाट डिस्कोथेक चाचा क्याफे वा सिमपानी कबाफ- कहींकतै पुग्नु मात्रै पर्छ जिज्ञासा आउँछ- कान्छा एक्लै मन्त्रालय अड्डा मालपोत बिजुली अफिस मोटरसाइकल ग्यारेज वा पेट्रोल पम्प- चिनिएका कोही भेटिए भने मात्रै पनि पहिलो चासो यही हुन्छ । यही अर्थात् कान्छा- यो साइतमा चैं है गर्नुपर्छ क्या †
मेरा केही आफन्त र विशेषतः इष्टका श्रीमतीहरुको एउटा “अफरु आइसकेको छ । मैले बिहा गर्ने खबर मात्रै सुनेमा पनि उनीहरुले बिहा खर्च बेहोरिदिने खसी किनिदिने वा यस्तै केही । भक्तपुरे मित्र रवीन्द्र पुरीले काभ्रेको फूलबारीमा मेरो बिहापछि बार्बिक्यु-पार्टी गर्ने “मतानु बनाइसक्नुभयो रे । ओहो ! यो देशमा यो समाजमा कति धेरै समस्या कति बिघ्न झन्झावातहरु होलान्- त्यसको कुनै ख्याल छैन । बिहा गर्नेहरुको हुर्मतयुक्त दैनिकी के छ त्यो पनि थाहा पाएको नपायै गरिएको स्थिति छ । आफ्नै घरको किचलो आफैंले जन्माएको छोराले जुठेल्नाबाट बूढी भएकी आमालाई भुइँमा झारेको दृष्टान्त हुर्केका छोराछोरीलाई आएको “ब्लफकलु आदिआदि । पितापुर्खाको घर धादिङ बताउने एकजना यारों होसमा छँदा र अझ श्रीमती-परिवारको आडमा छँदा मलाई भनिरहन्छन् “बिहा गर यार अब त… ।”
फेरि रातको बेहोसीमा अथवा मादक पदार्थले आकुल-ब्याकुल बनेपछि तिनै मित्रको फोनमा अलौकिक स्वर सुनिन्छ “हेर अरु जे गर बिहा नगर । म अहिले आफ्नै घरमा छु तर सोफामा बसेको छु । मूल कोठामा मलाई प्रवेश निषेध रे । अब कंगारुको देशमा गएर कत्रो मुश्किलले धोबी काम गर्दै यो घर बनाएँ । आज मेरै जहानले मलाई यो घरबाट निस्कनुस् भनेकी छन् । भन त म कहाँ जाउँ ” ओहो अनि त्यही फोनको तार हुँदै मेरा मित्रको सुँकसुँक आँसु बहेर मेरो कान मनमुटु मस्तिष्कमा छिरेजस्तो हुन्छ । विद्वान्हरु भन्छन्- नसाको बेहोसीमा अक्सर एउटा पुरुषले सही साँचो बकिरहेको हुन्छ ।
मेरा केही आफन्तहरु छन् जो जीवनदेखि हारेका छन्- धेरै अर्थमा । हरेक वर्ष अमेरिकी डीभी भर्नेहरु बढीमा क्यानडा वा घटीमा भारतै भए पनि उतै लुक्नेहरु जीवनमा सधैं “परीक्षणकाल” झैं एकपछि अर्को बिहा गरिरहनेहरु । यी सबै “हरुवा” हुन् जस्तो लाग्छ । कोही त जीवनदेखि हार खाएर एक÷दुईपटक इहलीला त्याग्न चाहनेहरु पनि भेटिएका छन् । बनारस हरिद्वार वा जगन्नाथपुरी गएर महिनौं बेपत्ता हुने पनि छन् केही । यी हरुवाजनहरुसँग जब आक्कल-झुक्कल भेट हुन्छ उनीहरु मेरा नजिकै आउँछन् र सोध्छन् “हन कान्छा बिहा कहिले गर्ने “
अजबगजबको छ हाम्रो समाज । कसैले अलिक चाँडै बीस वर्षअघि बिहा गर् यो भने पनि भन्छन् “हेर न उम्लिएको
मोरो ! स्वास्नी पाल्न नसकेपछि थाहा पाउँछ !!”
कसैले अलिक ढिलो तीसपछि बिहा गर् यो भने पनि फेरि समाज बोल्छ ुबूढेसकालमा बिहा गर् यो खोइ यसले के थेग्छ होला र “
मनोविनोदका खातिर कहिलेकाहीं युवतीसँग जयनेपालमा फिल्म हेर्न जाने मन पलाउँछ । नारिएर हिँडेको कसैले देख्नै हुँदैन । नत्र कुरो सुनिन्छ “हेर पण्डितको छोरो भएर सरमहारा बनेको…!” फेरि एक्लै हिँड्यो अनि नेपथ्यबाट कोही बोलिरहेको हुन्छ “कस्तो नामर्द मोरो यत्रो नामकाम छ । एउटा केटी लिएर पनि हिँड्न सक्दैन…थुइक्क !”
यो समाजको यस्तै चित्र-बिचित्र सम्झिरहेका बेला मैले सामुको कोटेसन-बुकमा एक महान् दार्शनिकलाई भेटें । ती दार्शनिक सोक्रेटसको भनाइलाई खुबै मन पराएर आफ्नो कोठाको भित्तामा यतिखेर मैले टाँसेको छु । सोक्रेटस भन्छन् “सबै दृष्टिबाट हेर्ने हो भने तिमी बिहा गर । यदि असल स्वास्नी पायौ भने तिम्रो जीवन सुखमय हुनेछ । तर यदि खराब पायौ भने अरु केही हुँदैन तिमी मजस्तै दार्शनिक बन्नेछौ ।”
लौ मार् यो ! अब के गर्ने जे त होला । हाम्रो जीवनका दुःखसुखहरु भवितव्य र लेखान्तहरु पनि त्यस्तै कुरा हुन् जसलाई कुनै इरेजरले पनि मेट्न सकिन्न भनेर एक विद्वान्ले भनेका रहेछन् । फेरि जोडौं एउटा बिहाभोजको कुरा । किनभने कान्छाले बिहा नगरेको “सनसनी खबरु बढीजसो यस्तै बिहाका सिजन जन्ती र भोजहरुमा सुन्न पाइन्छ । भक्तपुरे दाजु श्याम प्रधानको छोराको बिहा निम्तोमा बिहाभोज खान एउटा हूल बाँधेर रातसाँझ मात्रै समारोहमा पुगेका थियौं । त्यहाँ मसले कम्पनीवाल आफन्त सुवास भान्जाका नातेदार पनि भेट्टिए । टाढैबाट उनी मलाई चिन्ने रहेछन् प्रत्यक्ष होइन । “मैले सुनिरहेको छैन होला” भन्दै छेवैमा उनी बकिरहेका थिए “पण्डित टेकनाथको कान्छो छोरो पढेगुनेको छ । उसले देश-दुनिया घुमेको छ । ऊ सहयोगी छ । मोरो हँसीमजाक पनि गर्छ सबै गुनले युक्त छ । तर बज्याको बिहे भएको छैन खोइ के भन्नु र “
भन्नु केही थिएन । मानौं बिहा नगरिएकै कारण म एउटा “अपराधी कान्छो” हुँ । अब सुन्नु बाँकी केही रहेन । अनि फेरि काँल्दाजु सम्झें “मेरो हजुर सपना त रातभरिलाई हो…!”

Tags:

0 comments

Leave a comment