BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतारमा कामदार भिसा प्रमाणीकरण लागू

Published on Sunday, May 8, 2011 1:06 AM // , ,


दिनेश रेग्मी
दोहा वैशाख २१ - गैरकानुनी प्रक्रियाबाट कामदार झिकाउने क्रम बढेको भन्दै कतारस्थित नेपाली दूतावासले आइतबारदेखि व्यक्तिगत भिसा दूतावासमा अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने मापदण्ड लागू गरेको छ । लागू भएको दुई दिनमा पाँच कामदारको भिसा प्रमाणीकरण भएको छ ।
नेपालबाट एजेन्टले फर्जी काजगात बनाएर पठाएका कामदार समस्यामा पर्न थालेपछि दूतावासले मापदण्ड बनाएको हो । उसले कामदारको भिसा र  श्रम सम्झौता (एम्प्लाइमेन्ट कन्ट्याक) अनिवार्य रूपमा दूतावासबाट प्रमाणीकरण हुनुपर्ने जनाएको छ । दुई महिनापछि जुलाई १ -असार १७) देखि संस्थागत रूपमा आउने कामदारको भिसा प्रमाणीकरण पनि अनिवार्य रूपमा गर्नुपर्ने मापदण्ड बनाइएको छ । दूतावासले प्रमाणीकरणको जानकारी आफ्नै वेबसाइटमार्फत दिन सुरु गरेको छ । दूतावासका अनुसार सोमबार लालवीर बुढाथोकी, केसबहादुर पुर्जामगर, कृष्ण ढकाल र उमा निरौलाको भिसा प्रमाणीकरण गरी वेबसाइटमा राखिएको छ । निरौला सेक्युरिटी गार्ड र अन्य तीन जनाको पद लेबर छ । मंगलबार सेल्स गर्ल पदमा सुजिता काफ्लेको भिसा प्रमाणीकरण भएको छ ।
'ऋण काडेर आएका कामदार एकपछि अर्को समस्यामा पर्दै गएकाले नेपाली समुदायको सल्लाहमा कामदारको भिसा र श्रम सम्झौता  प्रमाणीकरण गरी त्यसको विवरण वेबसाइटमा राख्न सुरु गरेका छौं,' राजदूत सूर्यनाथ मिश्रले कान्तिपुरलाई भने, 'यसले नेपालको राजस्वमा वृद्धि र सुरक्षित आप्रवासन भएर ठगीका धेरै समस्या घटाउन सक्ने छौं ।'
दूतावासले डेड महिनाअघि कतारस्थित नेपाली समुदायसँग छलफल गरी तयार गरेको मापदण्ड कार्यान्वयनका लागि परराष्ट्र, श्रम मन्त्रालय र वदैशिक रोजगार विभागमा पत्राचार गरेको थियो । मन्त्रालयहरूले कुनै प्रतिक्रिया नजनाएपछि दूतावासले आफैं लागू गरेको हो । छलफलका सहभागीले व्यक्तिगत भिसा र श्रम सम्झौता मात्र नभएर संस्थागत रूपमा म्यानपावर कम्पनीबाट आउने कामदारहरूको भिसा र श्रम सम्झौता पनि  दूतावासबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
दूतावासले भिसा प्रमाणीकरणको जानकारी वेबसाइटमा राख्ने र काजगात द्रुत सेवाको माध्यमबाट वैदेशिक रोजगार विभागमा पठाउने जनाएको छ । उसले बिहीबार स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा वेबसाइटमा विवरण हेर्नेबारे जानकारी गराएको थियो । वेबसाइटमा व्यक्तिगत र संस्थागत कामदारको छुट्टाछुट्टै विवरण राख्ने गरी तयार गरिएको साइट बनाउने तामाङ मिडिया एन्ड मार्केटिङका कतारमा कार्यरत विनेश तामाङले बताए । दूतावासको वेबसाइट डब्लुडब्लुडब्लु डट एनइएमबिडिओएचए डट कम हो । संस्थागततर्फ ३ कम्पनीका ३९ कामदारको भिसा प्रमाणीकरण भएको विवरण दूतावासले वेबसाइटमा राखेको छ ।
दूतवासका अनुसार वेबसाइटमा प्रमाणीकरण भएका व्यक्तिगत भिसा विवरण हेर्नका लागि सम्बन्धित कामदारको पासपोर्ट नम्बर थाहा पाउनुपर्छ । संस्थागत विवरण जोसुकैले हेर्न सक्ने छन् । वेबसाइटमा भिसा प्रमाणीकरण भएका कामदारको नाम, पासपोर्ट नम्बर, भिसा नम्बर, कामदारको पद, कम्पनीको नाम,  तलब, कम्पनीको फोन नम्बरलगायत विवरण छ । 
दूतावासका अनुसार व्यक्तिगत भिसा प्रमाणीकरणका लागि कामदार मगाउने कम्पनी वा प्रतिनिधिले नेपालबाट आउने कामदारको प्रवेश भिसा, पासपोर्टको फोटोकपीसहित कतारको चेम्बर अफ कमर्सबाट प्रमाणीकरण गरेको कामदारको श्रम सम्झौता पेस गर्नुपर्ने छ । दूतावासले व्यक्तिगत भिसा प्रमाणीकरणका लागि ६० रियाल (१२ सय रुपैयाँ) लिने गरेको छ ।
व्यक्तिगत भिसाका लागि कतारमा जिम्मा लिने कम्पनी वा उसको प्रतिनिधिले दूतावासबाट कागजात प्रमाणीकरण गरेर पठाएपछि नेपालबाट आउने कामदारले कुनै म्यानपावर कम्पनी वा एजेन्टको भर पर्नु पर्दैन ।  कामदार स्वयंले वैदेशिक रोजगार बिमा, स्वास्थ्य परीक्षण, ओरिन्टेसन टे्रनिङ, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याण कोषमा रकम जम्मा र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कतार आउन सक्ने उसले जनाएको छ ।
दूतावासबाट प्रमाणीकरण गरेर व्यक्तिगत भिसामा कतार आउने संख्या एक वर्षमा १ सय पनि पुगेको छैन । दूतावासमा प्रमाणीकरण गर्नेबारे छलफल गरेपछि एक महिनाको अवधिमा २२ कामदारको भिसा प्रमाणीकरण भएको दूतावासले जनाएको छ । साढे ३ लाख नेपाली कार्यरत कतारमा प्रतिमहिना करिब ७ हजार कामदार थपिने गरेका छन् ।

0 comments

Leave a comment