BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

खाडीमा सुन्दरी सपना

Published on Monday, June 6, 2011 9:01 AM //


देवेन्द्र भट्टराई
ललितपुरको लगनखेलमा रोज ब्युटी पार्लर थियो, रजनी ढुङ्गानाको । दुई वर्षभन्दा बढी त्यही पार्लरमा ब्युटिसियन काम गरेपछि रजनीका आँखामा एउटा सपना उत्रियो- विदेशिने सपना । सुन्दरतामा निखार ल्याउने यो पेसा साथैमा लिएर उनी खाडीको कतार, कुवेत वा कतै जान चाहिन् । कामको संयोग मिलेर उनी गत फेब्रुवरी महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्सको आजमान सहरमा पुगिन् । काठमाडौंबाट श्रम स्वीकृति लिएरै प्रक्रियामा आजमान पुगेकी ब्युटिसियन रजनीले खाडी जगतमा व्यहोरेको सुन्दरी-सपना भने भिन्नै छ ।
इन्टरनेट सर्चबाट ब्युटिसियन जागिर खोजेपछि रजनीमा विदेशिने सपना झाङ्गिएको थियो । भएको पार्लरसमेत बिक्री गरेर उनी छिटो बाहिर उड्न चाहन्थिन् । भिसा शुल्क, हवाइ टिकट, श्रमका प्रक्रिया गरेर झन्डै एक लाख रुपैयाँ खर्चेर आजमान पुगेकी रजनीलाई १५ सय दिराम (३० हजार रुपैयाँ) मासिक तलब दिने भनिएको थियो- खाने, बस्ने सुविधासहित । आजमान उत्रनासाथ आँखा मुन्तिर आँसु थोपाको 'ट्याटु' भएको पाकिस्तानी पार्लरवालाले उनलाई कामकाज बारेमा अह्राई-खटाई गरेको रहेछ । ब्युटिसियन कर्मभन्दा बढी ट्वाइलेटदेखि भुइँसम्म सरसफाइ गर्नुपर्ने जिम्मेवारी रजनीमा थपिएको थियो ।
'साप्ताहिक विदा पनि थिएन, दैनिक १४ घन्टा काम गरिन्थ्यो', सुन्दरीको खाडी सम्झना अर्कै लाग्थ्यो- 'श्रीमान-श्रीमतीको नाताबाहेक कोही दाजुभाइ अथवा अरू साथीभाइसँग चिनजानी साइनो हुनसक्छ भन्ने कल्पना पनि गरिन्नथ्यो । कोही हाँस्दैनथ्यो, कोहीसँग मानवीय संवेदनाको कुरा हुँदैनथ्यो ।' कोही आफन्तैसँग फोनमा कुरा गर्दा पनि 'तिम्रो सेक्स पार्टनर हो ?' भनेर सोध्नेहरू अघिपछि हुनेरहेछन् । रजनीसँग फिलिपिनो र पाकिस्तानी ब्युटिसियनहरू पनि काममा थिए, जो भुइँ पुछ्न वा ट्वाइलेट फ्लस गर्न अभ्यस्त भइसकेका रहेछन् ।
'अनुहारभरि लोग्नेमान्छेको जस्तै रौं भएका अजंग शरीर भएका महिलाहरू सिंगारपटारमा आउँथे, उनीहरूले कहिल्यै मुस्कुराउन जानेकै थिएनन्', रजनी सुनाउँदै थिइन्- 'कसौंडी डिजाइनमा कपाल बनाउन लगाउँथे, मेकअपपछि घर पुगेर नुहाउँदा एउटामात्रै केश झर्‍यो भने पनि ब्युटिसियनलाई कुटौंपिटौंको व्यवहार हुन्थ्यो ।' कन्या कलेजबाट पत्रकारितामा स्नातक गरेकी रजनीले यी अन्यायका शृङ्खला र असहज दैनिकीका माझ चुप लागेर बस्न चाहिनछन् । श्रम विभागदेखि पार्लरवाला मुदिर
(मालिक) सम्म मौखिक उजुरीमा उनी पुगिछन् । दिनमा एकपटक बिरयानी र बिफ खान पाइने खानपिन असन्तुलनका माझ राति पनि चुकुल, छिस्किनी नभएको कोठामा अडेस लागेर सुत्नुपर्ने अवस्था थियो । 'पार्लरमा राखिएको फ्रिज, एयरकन्डिसन मेसिन देखाउँदै सोधिन्थ्यो- यो के हो, कहिल्यै देखेकी छस् ?' नेपाल र नेपाली भन्नासाथ अर्कै ग्रहका मान्छे होलान् जस्तो गरिने हेपाइ व्यवहार उनले पनि व्यहोर्नुपरेछ ।
रजनीका बुझाइमा काम ब्युटिसियनको भनिए पनि 'बँधुवा मजदुर'को हैसियतमा काम गर्नुपर्ने हुन्थ्यो । 'हामी सबै दास थियौं, म भने शिक्षित दास बनेकी थिएँ', सिनामंगल घर भएकी रजनीले देखेको सपना र भोगेको यथार्थको कुरा भिन्न थियो- 'न तलब पाइन्थ्यो, न अरू खर्चबर्च । तैपनि त्यो दासताको विरोधमा बोल्ने कोही थिएन ।'
यसकारण ब्युटी पार्लरमा रहेका अरू देशका ब्युटिसियन र कामदारका दृष्टिमा रजनी 'निर्जीव प्लाष्टिक होइन, सजीव मान्छे' बनेकी रहिछन् । भनिएको तलब, सेवा-सुविधा केही नपाएपछि डेढ महिनामै विद्रोही बनेर काठमाडौं फर्किएकी उनी अहिले समय, समाज र अतिवादी संस्कार बुझ्न पनि एकपटक खाडी पुग्नु जरुरी रहेको मन्त्र बाँडिरहेकी हुन्छिन् । काठमाडौं फिरेपछि मध्यवानेश्वरको सोसाइटल स्कुलमा अंग्रेजी शिक्षिका रहेकी रजनीले देखेबुझेसम्म खाडी मुलुकमा घरेलु कामदार भएर जानु भनेको जानीजानी 'अँध्यारो कुनामा लुकेर रुवाबासी गर्न' जानु हो । 'अझ हामी महिलाहरूका लागि कुनै सपना देख्नै नसकिने ठाउँ हो त्यो', उनी भनिरहेकी थिइन्- 'पाइला-पाइलामा जोगिएर हिँड्नुपर्ने ।' युएईको दुबई, आजमानका केही डिपार्टमेन्टल स्टोरहरूको घुमफिरमा जाँदा त्यहाँ काम गर्ने नेपाली युवतीहरू भने बढी सुरक्षित र स्वतन्त्र रहनसकेको उनले
पाएकी रहिछन् ।
खाडी मुलुकमा 'हाउसमेड' पठाउने कि नपठाउने भनेर विवाद चलिरहेका बेला रजनी ब्युटिपार्लरजस्तो व्यावसायिक र सीपयुक्त काममा समेत 'जोगिएर हिँड्नुपर्ने' दुनियाँमा घरेलु कामदारको सहज जीवन कल्पनै नसकिने बताउँछिन् । खाडी मुलुकमै रोजीरोटी गरेर फिरेका एक युवकसँग विवाह गरेपछि सुन्दरता सिंगार्ने सीप देखाउन आजमान गएकी उनी अहिले त्यो दासताले भरिएको दुनियाँ सम्झेर आफैंमा थकित बनेकी छिन् । उनी नेपाली युवतीहरूले खाडीमा पाइरहेको दुर्दशा र बिचल्लीबारे योजना आयोग, महिला आयोग वा कहाँ गएर हुन्छ, दुःखको विवरण टिपाउन चाहन्छिन् । अथवा अधिकार र समानता भनेर सधैं एकनाससँग कराउनेहरूका माझमा गएर उनी उभिन चाहिन्छन् । उनलाई लागेको छ- 'सबै कामकुरामा र सधैंभरि लैङ्गकि समानता अथवा अधिकार भनेर केही हुँदैन । खाडी मुलुकको कुनै हवेली-घरको कुनामा एउटी नेपाली युवती बिचल्लीमा परेर रोएको आवाज यहाँसम्म कसले सुनिदेला र ?'  
devendraqatar@gmail.com

Shvar : ekantipur

Tags:

0 comments

Leave a comment