BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतारमा तमू चलचित्र सैं (मन) प्रदर्शन

Published on Tuesday, June 7, 2011 12:25 AM // , ,




जुन ७, दोहा । हृवाईट लोटस स्टुडियो प्रा.लि.को दोश्रो प्रस्तुती तमू भाषाको चलचित्र सैं (मन) गत जुन ३ शुक्रबारका दिन कतारमा प्रदर्शन भयो । तमू बौद्ध सेवा समिति कतारले दोहा स्थित टप र्फम रेष्टुरेण्टको हलमा प्रदर्शन गरेको सो चलचित्र हेर्न कतारमा कार्यरत तमु तथा गैर तमूहरुको उल्लेखनिय उपस्थिती थियो । तमू खेलकुद समितिका अध्यक्ष बुद्ध तमू र कार्यसमिति सदस्य कुमार तमूको विशेष पहलमा प्रदर्शन गरिएको उक्त चलचित्रका एक जना निर्माता भिम प्रसाद तमूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
तमू भाषा, संस्कृतिमा आधारित सामाजिक चलचित्र सैं प्रदर्शनबाट दर्शकहरुले भरपुर मनोरन्जन लिएको पाईयो । चलचित्र प्रदर्शनको क्रममा आफ्नो भाषा र संस्कृतिलाई माया गर्ने दर्शकहरुले ताली बजाउदा कुनै नेपाली चलचित्र हलमा प्रदर्शन गरिएको भान परेको थियो । कतिपय दर्शकहरुले त चलचित्रले आफूलाई आफ्नो घर परिवारको संझना दिलाएको बताएका थिए । तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमू तथा महासचि खेम तमूले चलचित्र अति नै मनोरन्जनात्मक र शिक्षा प्रद भएको बताउनु भयो ।
२०६७ साल फाल्गुण २७ र २८ मा पोखरामा सम्पन्न Pokhara International Film Festival - 067 मा `दर्शक छनौट अवार्ड` प्राप्त गर्न सफल भएको यस चलचित्रको निर्माण राजु तमू, दिनेश तमू, भिम कुमारी तमूस्यो, विच बहादुर तमू, भिम प्रसाद तमू तथा निर्देशन युग तमू र नौ जङ्ग तमूले गरेका छन् । यस चलचित्रमा नायक सुनिल तमू र नायिका मिरा गुरुङले मुख्य भूमिकामा अभिनय गरेका छन् । अभिनय पक्षलाई हेर्ने हो भने कलाकारहरुले आ-आफनो भूमिकालाई न्याय गरेका छन् ।
समाजमा बढ्दो रुपमा रहेको लाहुर जाने प्रथा र यसबाट पर्न जाने पारिवारिक असरलाई यस चलचित्रमा उजगार गर्न खोजिएको छ । यस समाजिक चलचित्रले प्रष्ट्याउन खोजेको अर्को विषय भनेको पुरुष नभएको घर परिवारलाई समाजले हेर्ने दृष्ट्रिकोण पनि हो । यसका साथै आफ्नो घर परिवारलाई छोडेर विदेशिने मन नहुँदा नहुँदै पनि लाहुर जान बाध्यता पारिएको बारे र यस्तो संस्कारले समाजमा राम्रो सन्देश नदिने र व्यक्तिको अस्तित्व नै गुम्ने भएकोले यसबाट सधैं टाढा रहनु पर्ने चेतना दिने कोशिस यस चलचित्रमा गरिएको छ ।
             -बुधबल तमू /बिल बहादुर तमू

0 comments

Leave a comment