BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

सिलिङ्गे खोला तरेर

Published on Tuesday, July 26, 2011 4:17 AM //



                                                                                  -देबेन्द्र भट्टराई
कतार बसाइमा लामो समय संगत गरेका नुवाकोट, झाँक्रीखोलाका मित्र अभिमानिसंह लामाको बितेको दश बर्षदेखि गुपचुप लभ रहेछ- ललितपुर, शंखु-५ कि एक युवतीसँग । यही जोडाको बिहामा यसापाला जन्ती बनेर जानु पर्ने थियो । जीवनमा धेरै वटा बिहामा जन्ती र छाते बनेर गएपनि यस्तो काइदा भने कहिल्यै बेहोर्नुपरेको थिएन । केटीको घरमा टिकाटालो र अन्तिम साइत टुङ्गयाउन हिडेका हामीहरुका अघिअघि बेहुलाबेहुली थिए- होन्डा बाइकमा । न पाचैबाजा थियो न अरु गानाबजाना । हिलाम्मे बाटोमा चिप्लिएर जन्तीले ऐयाआत्थु गरेकै क्षणमा मात्रै बरु कसैले र् याप गीत गाएको हो कि जस्तो भान पथ्र्यो ।
लामा परम्पराअनुसार सानो सगुनको पोको ,केही खानेकुरा र दानदक्षिणा बाहेक साथमा केही थिएन ।

जेनतेन ज्यान जोगाएर केटी सुमित्रा लामा (अन)को घरमा पुग्दा त्यहाँ भर्खरका देखि बुढापाकासम्म कोही होसमा थिएनन्, सबै खुशी र उन्मादले मस्तराम थिए । अथवा कोही भने कोदोको एकपाने रसपानमा परेर मस्तराम देखिन्थे । स्वभाविकै हो ठाउँअनुसारको चिसो कटाउन सबै खानपिनको आनन्दीमा डुबेका थिए ।
                                        अझ अनौठो कुरा के छ भने नुवाकोटको झाँक्रीखोला घर भएका केटा र ललितपुरको शंखु घर भएकी केटीले बितेको १० बर्षे लभ-अवधीमा कहिल्यै पनि एकअर्काको घर देखेका रहेनछन् । खोलानाला जंगल देउराली-उकाली र अनेक अक्कर पार गर्दै बेहुलीको घर पुगेपछि मोरङ इटहराका जन्ती बिनोद अधिकारी पनि भनिरहेका थिए-"यस्तो उत्तरआधुनिक बिहा गर्नुभन्दा त बरु म बिहा नगरी फुक्काफालै बस्नेछु ।"


                        बाटोमा ललितपुरको लेले पथ्र्यो पाउलीबुलु भन्ने अनौठो ठाउँ पनि रहेछ । आर्मीको ब्यारेक र कुष्ठरोगको मिसन हस्पिटल पनि बाटैमा देखियो । हिलाम्मे बाटोमा कतै ट्र्याक्टर फँसिरहेको थियो भने कतै जन्ती आफैं उत्तानेटाङ लगाइरहेका हुन्थे । यसरी निकटस्थ मित्रको शुभबिवाहमा यसपाला काठमाडौं उपत्यकाको दुर्गम र कहिल्यै नकल्पेको भेगमा पुग्न पाइयो । ललितपुरको शंखु गाविसमा पर्ने यो थलो सातदोबाटो रिङरोडबाट झण्डै ३० किलोमिटर दुरीमा रहेछ । तर लाग्थ्यो- यो ताप्लेजुङको हाङदेवा वा दिपायलको जोरायल पुगेभन्दा बिकट-अनुभव यसपाला सगाल्न जो पाइएको छ । धेरैअघि इलामको राँके-भाज्याङबाट पाँचथरको रवि थामथुम बसयात्रामा पुग्दा यस्तै बिभत्स अनुभव सँगाल्न पाएको थिएँ । बाटाको वल्लो कुना र पल्लो कुनामा िसंगौरी खेल्ने बसभित्रै एकजना लिम्बूनी दिदीले भय र त्रासका कारण सौचादि गरेको खबर बसका सबै यात्रुमाझ यसरी फैलिएको थियो मानौं त्यो कुनै खरको थुप्रोमा लागेको आगो हो ।

                       हो चापागाउँ मास्तिर लेले-मार्ग छेउसम्म बाटो ठीकै थियो त्यहाँबाट उता भने नेपाली सेनाका मालबाहक ट्रक समेत हिलोमा गाडिएर अड्किरहेको अभेद्य बाटोमा हामी पुगेका थियौं । घना जंगलको बीचमा बेलाबेला चितुवा कराएको हो कि जस्तो भान पथ्र्यो । साथीको बिहेका जन्तीहरु जम्मा छ वटा मोटरसाइकलमा थियौं जन्ती संख्या जम्मा १२ थियो । बेहुला-बेहुली सकेसम्मको नयाँ झिल्के लुगामा चमेलीको तेल दलेर अघिअघि कुदिरहेका थिए । बाटोमा कुनै पसल थिएन कुनै बिसौनी थिएन । साथीको बिहा भनेर छालाको महंगा जुत्ता लगाएर िहंडेका जन्तीहरुको खुट्टामा जुत्ता छ या कुनै ढाडिएको छालाको डल्लो(गोबर-हिलो ?),थाहा हुन सकिरहेको थिएन । बाहैमास हुस्सुले छोपिरहने इलाम, फिक्कलजस्तै शंखु गाउँमा रहेको बेहुलीको मुलघरबाट मकवानपुरको ठेङ्गन पुग्न अब केही घण्टा मात्रै लाग्छ भनिरहेका थिए, स्थानीय रमितेहरु । बाटोमा एउटा खोला पनि पर्ने रहेछ सिलिङ्गे खोला । बर्खे झरीले ठूलै भेल पसेको खोला तर्न जन्तीहरु आफ्ना नयाँ पेन्ट खोलिरहेका थिए, जुत्ता हात-हातमा थिए । बेहुलाको काम भने जन्तीहरुको मोटरसाइकल तार्ने जिम्मेवारी थियो ।

धन्य एकजना जन्ती मापसे (मादक पदार्थ सेवनको) अति-बेहोसीमा पुगेका रहेछन् । तिनले आफ्ना जुत्ता खोले, हेर्दाहेर्दै पेन्ट खोले र "अन्दरकी बात"( डोरा कट्टु) पनि खोलौंला कि झैं गरिरहेका थिए । कसोकसो तिनलाई रोक्ने काम भयो । उनैले बाकी रहेका जन्तीहरुलाई आडभरोस दिएर सिलिङ्गे खोला तर्नमा सघाउ पुर्याए । खोला बीचमा लड्ने र पानी पिउने जन्तीको गन्ती यहा नगरौं ।
                   

   खोला तरिरहेका बेला कति होस र कति बेहोसीमा एकसाथ भनिरहेका थिए-"सभासद बर्षामान पुन जिन्दाबाद ! हामीले माओबादीका बर्षमानलाई चुनाव जिताएका कारण आज यो चिसो र कन्चन खोलामा पाउकष्ट गर्दै तर्न पाइरहेका छौं । अरुलाई जिताएको भए यहाँ पुल बनिसक्ने थियो होला । बर्षामान जिन्दाबाद !!" शायद यो एउटा व्यङ्गय थियो कि ??
ओहो ! त्यो कन्तबिजोगका सामु जन्ती बनेर गएका चाचा क्याफेका हर्ताकर्ता गोर्खा फिस्लिङका बुद्ध गुरुङले आक्रोशमैं दावी गरे-"चाहे मेरो लभ नै किन नपरोस् केटीको घर यस्तो दुर्गम र असाध्य ठाउँमा भएको थाहा पाएँ भने बरु बिहा नै गर्दिन । लुजास्त !!"

Tags:

0 comments

Leave a comment