BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

खजुरबोटेको रंग

Published on Sunday, August 14, 2011 3:31 AM // , ,


-जयराज भट्टराई/कतार-
खाटमाथि जिउज्यान फ्यालेर निर्जिवझैँ लमतन्न पल्टिएका छौँ- ताताघाम मुन्तिर दिनभर बेल्चा चलाएका तीन हत्तु जवान।
कोठालाई साँघुरो बनाउने तीनओटा फलामे खाट तीनकुनामा सजिवझैँ गजधम्म सुतेका छन्। हेर्दै शङ्का लाग्छ- ती खाट कुनै प्रतिनिधि नेपालीको डल्ले ज्यान नापेर बनाइएको हुनुपर्छ। खाटको लम्बाइमा कन्जुस्याइँ झल्किन्छ- म भन्दा चारऔँला मात्र बढ्ता अग्लो छत्रेको गोलिगाँठो मुनिको भाग खाटबाहिर बेसहारा तेर्सिएको छ। चौडाइमा पनि कन्जुस्याइँ झल्किन्छ- चिलले पँखेटा फिँजाएजस्तो हात फैलाएर सुतेको डिल्लेको कुइनु देखि हत्केलासम्मको भाग लत्रिरहेको छ।
‘दर्रो खटाइ भो आज’- नमुना खाटमा पल्टेको छत्रेले दाहिने पाखुरा मुसार्दै स्वाङ् पार्‍यो- ‘पातो बेस्कन दुखिराछ’।
अचाक्ली चहकिलो घाम सहँदै पाइपलाइनको कुलो खन्ने खटाइ सधैँ दह्रो हुन्छ। पातो दुख्नलाई आज पहिलो दिनको पहिलो खटाइ थिएन। गलियो, थाकियो, हत्तु भइयो सुन्नासाथ म बुझिहाल्छु- पिउनु त छँदैछ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो…..। अस्तिका दिन डिल्लेको देब्रे पिँडुला फर्केको निहुँमा दुई बोतल लुमा रित्तिएको थियो। लुमा ट्वाइलेट क्लिनर झोल हो तर एकान्तका लेबर क्याम्पहरुमा रक्सीका नाममा हदै चलेको छ– सहरका अँध्यारा गल्लीमा सी-ग्रेड फिल्म खुब चलेजस्तो।
छत्रेले ‘पातो बेस्कन दुखिराछ’ भन्नासाथ उत्तिकै हत्तुहैरान डिल्ले जर्‍याकजुरुक्कै उठ्यो र भन्यो-’दुखाइ मार्ने दबाइ पिउने हो त?’
‘हट्! आइन्दा लुमा नखाउँ्क’- मैले चेतावनी शैलीमा भनेँ- ‘खाडिमा एक्कासी मरण हुने निहूँमध्ये लुमा पहिलो नम्बरमा आउँछ रे।’
‘धनु कमजोर भाको मान्छे चुपो लागेर सुत्ने।’- डिल्लेले उल्टै थर्कायो।
‘लुमाको रहर नगर् डिल्ले’- मैले पनि फर्काएँ-’पत्रिकामा छापिएलास्।’
‘के भनेर छापिन्छु?’
‘साइलेन्ट डेथका कारण डिल्ले चिप्लियो।’
छत्रे खितित्त हाँस्यो र भन्यो- ‘बलियो ज्यानलाई केही हुन्न। चाहिएको मात हो। मताइहाल्छ।’
केटाहरु तम्तयार भए। निस्कनुअघि ढोकैबाट छत्रेले मलाई अह्रायो – बकाला-दुकान)बाट मेरो खातामा लेखाएर तीनपोका खबुज-एकखाले नान रोटी) र दुई किलो पाङ्ग्रा ले’राइज। भुट्दै गर्। हामी तु गयौँ तु आयौँ।’
छत्रेले जाँडको एउटा भेकियारी मान्छे चिनेको छ। त्यतै गए होलान््। मैले पाङ्ग्रा ल्याएँ। पर्‍याकपुरुक भुटेर थालमा उरुङ् लगाएँ अनि केटाहरुलाई पर्खीबसेँ। पौनेघन्टामा केटा फर्कीआए। भित्र पस्नासाथ पोको फुकाउँदै डिल्लेले भन्यो- ‘आज अर्कै छ। ओर्जिनल। खजुरबोटे भन्दारैछन्। चाख्छस्?’
छत्रेले ठट्यौली पारामा थप्यो- ‘दुई बोतल छ। तलाईँ पनि पुग्छ।’
‘कसरी हात पारिस्?’- मैले सोधेँ।
‘हाम्रा पनि छन् नि हौ इष्टमित्र’- छत्रेले बोतल उठायो र ब्यागपाइपरको होर्डिङ्गबोर्डमा उभिएको अजय देवगनको नक्कल उतार्दै भन्यो- ‘खुब जमेगा रंग।’
बोतलमा टाँसेको लेबलमा कोरिएको अक्षर चाइनिज हुनुपर्छ। जहाँसुकैको जेसुकै होस् हामीहरु न्ेपालीकरण गर्न सिपालु छौँ। कहाँ कुन कुनामा बनेको सस्तो स्पिरिटलाई दाजुभाइहरुले ‘खजुरबोटे’ न्वारन गरिदिएछन्। तर बोतल सुन्दर थियो- कार्ल्सबर्ग वियरको जस्तो बान्की परेको। मैले पनि गिलास तेर्स्याएँ र पाङ्ग्राको उरुङ् अघिल्तिर पलेँटी कसेँ।
अनि जम्न थाल्यो रंग। आफ्नो त एकै सुरुपले घाँटी खाक्सी दलेजस्तो खस्रो बनाइदियो। उत्पात कडा रहेछ, घाँटी चिरिने। त्यही पहिलो सुरुपले छिनमै झुम पनि बनाइहाल्यो। केटाहरुलाई पत्तै नदिई बेस्सरी पानी मिसेँ। धन्य गिलास स्टिलको पर्‍यो।
छत्रे भनेे आगोको फिलुङ्गोजस्तो तेजिलो रक्सी स्वाट्स्वाटी पार्थ्यो। यस्को घाँटी किन संवेदनशील छैन? धेरै लुमा पिएर चामि्रएको होला। जुवाले पेल्दा-पेल्दा गोरुको काँध मरेजस्तो।
मलाई छत्रेसँग बसेर पिउन मज्जा लाग्छ। बेस्सरी मातेको छत्रेलाई सुन्न खुब रहर लाग्छ। उट्पट्याङ कुरा गर्छ। कहिलेकाहीँ भावनाको अति गहिर्‍याइमा पुग्छ। जस्तो कि उसलाई खेदो गर्ने सुपरभाइजरको कुरा निकालिदियो भने बेस्सरी तात्तिन्छ- पानी बिस्तारै तात्तै तात्तै भुलुक्क उम्लेजस्तो। गाउँघर सम्झाइदियो भने भावुक बन्छ। सोच्दासोच्दै बोल्न पनि छाड्छ- पानी चिसिँदै चिसिँदै ढक्क जमेजस्तो। हामी प्राय उमालिदिन्छौँ। छत्रे उम्लिन्छ। तर गति छाड्दैन। भन्न खोजेको- आवेशमा बोल्छ तर भुईँमा, भित्तामा मुडि्क बजारेको छैन, सँगै पिउँदै गरेको साथीलाई धकेलेको छैन। काठमान्डूका चोकचोकमा वियरका बोतल फुटाउँदै हिँड्ने मत्तु ठिटाहरु मैले देखेको छु। छत्रे त्यस्तो छैन।
डिल्ले भने महाको सिल्ली छ। थोरै पिएर धेरै लागेको ढर्रा पार्छ। आफूभन्दा अर्कालाई मत्ताउन सौखे छ। गिलास थोरै खाली भयो कि पत्तै नपाई थपिदिइहाल्छ।
खजुरबोटेको रंगले आँखा राता हुँदैगएपछि छत्रेले आफ्नो प्रेम सम्झेछ, लम्केर सिरानीमुनिको मोबाइल निकाल्यो र भन्यो- ‘केसरीलाई मिसकल हानिन्छ।’
छत्रेले धेरैपटक भनेको छ। उसको गाउँलाई बजारसँग जोड्ने बाटोमा एउटा पुरानो काठको चौतारो छ। चौतारोमा एउटी मोटो बुलाकी लगाउने आमै हरेक दिन जाँड बेच्न बस्छिन्। आमैकी छोरी केसरीसँग छत्रेको गोप्य प्रेम छ।
मैले समयको फरक सम्झाउँदै भनेँ- ‘नेपालमा बाह्र बज्यो। तेरी केसरी निदाएकी होली। तर्सिन्छे।’
‘म कम तर्सेको छु?’–छत्रेले एक हातले कानमा मोबाइल टाँसेर र अर्को हातले गिलास स्वाट्ट पारिसकेर भन्यो- ‘म छु भन्ने कुरा सम्झाउँदै गर्नुपर्छ।’
‘चौतारोमा बस्नेको भर हुन्न छत्रे’- डिल्लेले रित्तो गिलास भरिदियो।
मैले खजुरबोटे नथपी सितनमात्र कुटुकुटु खाइरहेको डिल्लेले पत्तो पाएछ। मोबाइलमा टोलाइरहेको छत्रेलाई कोट्याउँदै भन्यो- ‘यसले थपेको छैन। पाङ्ग्रो सिध्याइसक्यो।’
छत्रे सलेदो उक्सेको टुकीजस्तो राँको भयो- ‘अग्गि नै हेर्नुपर्दैन। सकेछ गिद्धले सितन!’
केसरीले मिसकल फर्काइ। छत्रे उज्यालो भयो र भन्यो-’चौतारोमा बस्नेको पनि भर हुन्छ डिल्ले।’
त्यसपछि छत्रेले तीनपटक लगातार मिसकल मार्‍यो। चौथो पटकमा उताबाट आवाज आयो- ‘तपाईँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।’
‘थुक्क!!’- आवेशमा मोबाएल भुँयमा राख्यो र फेरि स्वाट्ट पार्‍यो।
छत्रे पुरै मात्तिसकेको थियो। डिल्लेले मलाई थपिदिन मौका छोपेको पत्तो पाइहालेँ। हातले छेकेँ।
‘अब एस्लाई थालमा हात डुबाउन दिने हैन।’–मैले नथपेकोमा डिल्ले झोँक्कियो।
‘थुक्क!!’- छत्रे ठूलो स्वरमा बोल्यो।
मैले भनेँ- ‘विस्तारो बोल केटा हो। क्याम्प बोस आउला।’
छत्रेले लर्बरिएको बोलीमा भन्यो- ‘क्याम्पबोसको चिन्ता नगर केटा। काल खोज्दै एता आयो भने तेस्लाई पछार्छु। हिलोमा पाहा पछारेजस्तो पछार्छु।’
डिल्लेले मतिर चोरऔँलो तेर्स्याउँदै भन्यो- ‘पछार्नु त यसलाई पनि पर्छ। रक्सी पिउन नसक्ने साधु।’
डिल्लेलाई अरु मातेको हेर्ने के सोख चलेको हो। छत्रेतिर फर्केर मैँले भनेँ–’पछार्नु त यो डिल्लेलाई पर्ने हो। यस्ले थोपै खाएको छैन। आफू पिउन बसेको हो यो? तँलाई थप्न बसेको।’
‘साँच्चै हो?’- छत्रे जङि्यो।
‘इ.. हेर!’ डिल्लेले झटपट गिलास उठायो, स्वाट्ट पारेर गिलास ठ्याक्क राख्यो अनि मुख कच्याककुचुक पारेर भन्यो- देखिस् छत्रे? यो सातौँ पटक हो।’
‘लु लु लु…तँ पनि सकेर देखा।’- छत्रे मतिर फर्कियो।
मैले सकिनँ। छत्रेले खिल्ली उडाउने शैलीमा भन्यो- ‘थुक्क!! लुम्जडी साधु!’
‘साधु साधु नभन् छत्रे। मेरो पिउने आफ्नै तरिका छ।’
‘लु भो। छत्रबहादुरसँग बसेर पिउन छत्रबहादुरकै तरिका पछ्याउनुपर्छ। छत्रबहादुरले होस्टे भन्दा हैँसे भन्न सक्छस् भने बसेर खा। नत्र सुत्।’
‘धन्य साथ दिइराखेको छु भन् न।’- मैले भनेँ।
डिल्लेले ठट्यौली पाराले भन्यो- ‘सुत् सुत्। तँ सुतिनस् भने भोलि हाम्लाई ड्युटी जान कसले उठाउँछ?’
छत्रे फेरि चर्कियो- ‘परमेश्वर साधुराम! परेवाको बथानले बिस्कुन सिध्याएजस्तो हाम्रो सितन ठुँगेर नबस्।’
‘तिमीहरु चाहिँ भैँसीले खोले खाएजस्तो एक डुँड सकेर लड्नु।’- मैले भनेँ र भोलिको ड्युटी सम्भि्कँदै ओछ्यानतिर पसेँ।
डिल्लेले धेरै गिलास भरिदियो। छत्रेले धेरै गिलास रित्यायो। म भने सिरकले मुख छोपेर तिनीहरुको लय बिग्रेको कुराकानी सुन्दै सुतेँ –
छत्रे- साधुरामले अघि क्याम्पबोस बोलाउँछु भनेर धम्की देको हो?
डिल्ले- होइन। क्याम्पबोस आउन सक्छ पो भनेको।
छत्रे- पक्का? हो भने त फेरि सा…धु…लाई पछार्छु।
डिल्ले- ह्या…होइन भन्दैछु।
छत्रे- तेस्ले हाम्लाई भैँसी भनेको हो?
डिल्ले- केसरी राम्री छे?
छत्रे- तेस्ले झ्याइँखट्टेजस्तो दाम्मी खजुरबोटेलाई भैँसीको खोले भन्यो?
डिल्ले- केसरीले तँसँग जाँडको पैसा लिन्थी?
छत्रे- क्याम्पबोसलाई पछार्छु।
डिल्ले- भन् न। केसरीले तँसँग जाँडको पैसा लिन्थी?
छत्रे- को केसरी? ए….केसु? मेरी केसु?
गाँठी कुरा बल्ल निक्लिदै थियो। म भुसुक्कै भएँछु।
केटाहरु कतिन्जेल बसे थाहा भएन। बिहान म उठ्दा अझै भाते निद्रामा थिए। डिल्लेलाई सजिलै
उठाएँ। तर छत्रेलाई ब्यूझाउँन हम्मे पर्‍यो। निकै पटक बेस्कन झक्झक्याए पछि बल्ल ‘हँ’ भन्यो। अनि ढुन्मुनिँदै ओछ्यान छाड्यो र आँखा मिच्दै बाहिर निस्कियो। बेलुकीको खबुज ज्यूँका त्यूँ थियो। त्यही खबुज चियामा चौप्दै छत्रेतिर फर्केर भनेँ- खजुरबोटे लुमाभन्दा धारिलो रहेछ। मेरो घाँटी चिरिदियो। तँलाई छोड्यो? कि धङ्धङे बाँकी छ?’
निधार सुम्सुम्याउँदै छत्रेले भन्यो- ‘टाउकोमाथि ठूलो भारी बोकेजस्तो दुखिराछ। झट्झट् गर्छ।’
डिल्लेले खाटमुनि हात घुसार्‍यो र आधामात्र रित्तिएको बोतल निकाल्यो। अनि मलाई देखाउँदै भन्यो-’धन्न मैले यति लुकाइदेको। छत्रे ढल्नमात्र बाँकी थियो।’
मैले जिस्किँदै भन्यो- ‘बेलुकीको धार मार्न टुच्च लगाउने हो कि?’
‘हो यार ह्याङ् हराउँछ।’- डिल्लेले हौस्यायो।
बेलुकीको गिलास आफैँ मातेजस्तो भुँयमै लडिराथ्यो। छत्रेले त्यसैमा थोरै हाल्यो र ठाडो घाँटी लगायो। एकै मिनेटपछि ‘सन्चो भयो’ भन्यो। सन्चो त भयो तर छत्रेलाई त्यसले नयाँ उर्जा पनि दिएछ- ढिलो हुन लागेको थियो। ‘ओए! ओए!’ भन्दाभन्दै उभिएरै सुइँसुइँ पुरा रित्याइदियो।
ड्युटीमा म साह्रै डराएँ। बेल्चा चलाउँदा हरेक पटक छत्रे हल्का लर्बरिन्थयो। बोली टुङ्गोमा थिएन। खानाको मेस खुल्ने समय हुनलाग्दा सुपरभाइजर टुप्लुक्क देखापर्‍यो।
‘गुड मर्निङ् सर’- छत्रे बोलिहाल्यो।
वास्तै नगरी सुपरभाइजरले सहज ‘मर्निङ्’ फर्कायो।
मैले छत्रेतिर नहेरी सानो स्वरले ‘नबोल छत्रे’ भनेँ। आँटले भरिएको छत्रे के रोकिन्थ्यो। अझ बेल्चा भुइामा बिसायो र कम्मरमा दुवैहात अड्याएर ठूलो स्वरले बोलायो- ‘सर…’
सुपरभाइजर छत्रेतिर फर्कियो। घामले राप्पिएको बेला सबैको अनुहार मात्तिएको देखिन्छ। पत्तो पाएन। सहजै भन्यो- ‘ह्वाट?’
छत्रेले बरबाद हुनेभयो। लर्बरिदै भनि त हाल्यो- ‘सर! नेपाली वर्कर गुड। बट स्यालरी नो गुड’
नचिताएको सवालले सुपरभाइजर एकक्षण झस्कियो। शङ्का लागेछ, नजिकै गएर छत्रेको अनुहारसामु निहुरियो। खजुरबोटेको हरक हुसुसु आइहाल्यो। अनि रिसले कुर्लियो- ‘दिस फकिङ् इडियट इज ड्रङ्क!!’
छत्रेले बुझेन। फेरि भन्यो- ‘सर स्यालरी नो गुड।’ म भने लल्याकलुलुक भैसकेको थिएँ।
सुपरभाइजर चिच्यायो- ‘सिक्युरिटी….सिक्युरिटी….’
‘सिक्युरिटी’ सुन्नासाथ छत्रे निद्राबाट ब्यूँझिएजस्तो भयो। होसहवास गुम भएछ, थरर्र कामेर थुचुक्क बस्यो। ‘झट्टै माफ मागिहाल’- मैले आत्तिएर भनेँ। छत्रे झन् आत्तिएको थियो। सरी भन्न जिब्रो फट्कारिएन।
मिलिक्कै सिक्युरिटी आइपुगे। सुपरभाइजरले खाउँलाजस्तो आँखा पारेर भन्यो- टेक दिस इडियट आउट अफ माइ साइट।’
अनि हामीतिर फर्केर मुटु हल्लाउने घोषणा गर्‍यो- ‘नाउ आइ ब्रिङ्ग द अल्कोहोल डिटेक्टर। आइ विल फाइन्ड आउट इफ दियर आर अदर बास्टर्डस्।’
त्यो सुनेपछि डरले खङ्ग्रङ्ग भएँ। काम गर्ने मुड भएन। छत्रेलाई कता लगे होलान्? अल्कोहोल बर्जित मुलुकमा पुलिससम्म कुरो पुग्यो भने बरबाद हुन्छ। आफू पनि फस्न बेर छैन। खानाको मेसमा डिल्लेसँग भेट भयो। त्यसका पनि नौनाडी गले। मनैमन डिल्लेसँग रिसाएँ, आफैँसँग पनि रिसाएँ। नानाभाँती सोच्दासोच्दा दिन कट्यो।
क्याम्पमा छत्रे भेटिएन। डिल्ले चुक्चुकाउँदै थचक्क बस्यो। कोठालाई साँघुरो पार्ने निर्जिव खाटहरुले गिज्याउन लागे।

0 comments

Leave a comment