BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

लेख नपठाउने निर्णय गरेँ !

Published on Saturday, September 17, 2011 4:14 AM //

                            -चर्चित ढुंगेल 
सर्वप्रथम त म तुलिगाँडालाई लेखक ठानेर फोन हानेर लेख माग्नु भएकोमा भुईँ न भाँडामा भएको छु र फुलेर नाक घिरौँला होइन लौका जत्रो भएको छ । मौकामा भएको यो लौका जत्रो नाक राख्न पनि एउटा अर्थ न बर्थको लेख लेखेर पठाउनै पर्ने बाध्यता छ । म सानै छँदा मेरा बाउले हो कि दाजैले ुमाग्नेलाई दिनु भन्नु भएको अहिलेसम्म सम्झिन्छु र त्यही भनाइको सम्मानखातिर आङ्ग कनाइकनाइ भए पनि एउटा लेख लेखेर नदिइ धर छैन । मजस्तो लङ्कटलाई लेख मागेर धर्मशङ्कटमा पार्नु भएकाले पनि शब्द थोपरेर नाम मात्रको लेख नलेखी सुख छैन । तर यो सुखको कुरो गर्दा कहाँ कसलाई कहिले पो सुख भएको छ र ! मलाई हाइसाचो छ म सुखैसुखमा छु वा मलाई मनग्गे सुखशयल छ भनेर आजसम्म कसैले भनेको सुनेको छुइँन र नै भनेको हुँ यहाँ कसैलाई सुख छैन । दम्पत्तिले पुगे पनि मान्छेले सम्पत्तिले पुग्यो नभनेजस्तै ओइरो सुख भए पनि सधैँ आँखाको डिलैमा आँशुको पहिरो नजाने मान्छे मैले भेटेकै छैन । त्यही भएर पनि हरेक मान्छे दुःखी छ र म पनि दुःखी छु । त्यसमाथि पनि लेख मागेकाले म झनै शनैशनै दुःखी भएको छु ।
                          म जाबालाई कावा खाएर हावातालको लेख लेख्छ भन्ने जान्दाजान्दै लेख माग्ने तपाईँ मभन्दा धेरै विद्धवान धेरै जान्ने र धेरै ज्ञानी मान्छे पक्कै होइन भन्ने मैले ठानेको छु । यहाँ दिनमा आधा महाकाब्य एउटा उपन्यास दुइवटा खण्डकाब्य पाँचवटा कथा बाह्रवटा समालोचना पन्द्रवटा निबन्ध पच्चिसवटा कविता पैँतिसवटा गीत पैँतालिसवटा गजलादि लेख्ने लेखक हुँदाहुँदै मजस्तो अल्छीको राजालाई लेख मागेर हप्तौँ कुराउँदा पनि चुइँक्क गाली नगर्ने तपाईँ सम्पादकै होइन भन्ने मेरो ठम्याइ छ । त्यस्ता त्यस्ता हस्तीहरुसँग लेख नमागेर म हरीलैठकलाई लेख माग्नुको कुनै तुक छैन भन्ने मैले निष्कर्ष निकालेको छु । मागीहालेपछि दिइहाल्न सक्ने मेरो लेखकिय हैसियत नभएकाले पनि मैले कनीकुथी महिना दिनसम्ममा त एउटा लेख पठाउँने छु भन्दा पनि तपाईँ माइत गएकी स्वास्नी पर्खेजस्तो ब्याग्रताले पर्खिनुहुन्छ भने मेरो नभएर तपाईँकै दोष हो । नाम न ओहोदाका मान्छेलाई लेख पठाउन गर्नुभएको दुस्साहसको म कदर मात्र होइन इज्जत समेत गर्दछु । तर उत्तरआधुनिक जमानामा नेतादेखि अभिनेतासम्म लेखक भएको बेला मजस्तो कुरा थोपरुवालाई लेखकको सम्मान दिन तपाईँलगायतलाई कुन आइतबार कुर्नु पर्छ र !
                                   ढाँटेर लेख्ने छलेर लेख्ने बङ्ग्याएर लेख्ने नङ्ग्याएर लेख्ने चोरेर लेख्ने दशतिरका दश दर्जन कृतिभित्र चहारेर बीचबीचबाट शब्द निकाल्ने निच पो त लेखक हुन् । वाक्य चोर्ने हरफ चोर्ने पेजै चोर्ने पो लेखक हुन् । गजलै चोर्ने गीतै चोर्ने कवितै चोर्ने निबन्धै चोर्ने कथै चोर्ने उपन्यासै चोर्ने पो असली लेखक हुन् । पुस्तकै चोर्ने र लेखकको नाम मेटाएर आफ्नो नाम लेख्ने अनि पुनपर््रकाशन गर्ने पो बास्तबमा लेखक हुन् । मजस्तो साधुलाई घगडान लेखकको पगरी गुथाएर अरु स्वनामधन्य लेखकहरुलाई थाङ्गामा सुताएर मलाई लेख माग्ने तपाईँको प्रकाशनको हैसियत र म स्वयम्को हैसियत बराबर हो कि क्या हो त्यस्ता त्यस्ता लेखकलाई लेख लेखेवातप मोटो दाम दिए देखी तिनले नामैसमेत बेचिदिने थिए भन्ने मेरो भनाइ छ । तपाईँजस्तो धनवान मान्छेले मजस्ता मनवान मान्छेलाई लेख मागेर नामैसमेतको कृति बेचेर दामै कमाउने लेखकहरुप्रति अन्याय गर्नु भो । त्यस्ता लेखकको पेटमा लात हानेर प्रकाशन गरेको कुन कृतिले के ख्याँसेको छ र !
                    अहिले कुनै पनि पुरस्कारले सुसज्जित नभएको पुस्तक लज्जित भएर तिरस्कृत हुने बस्तुसत्यलाई ध्यानमा राखेर पहिले नै तपाईँले ससुराली वा मावोलीतिरका कसैको नाममा कुनै पुरस्कार गुठीको स्थापना गर्ने समय हो । बरु म दुइकौडीको लेखक भनौदाको कुरो मान्नुहुन्छ भने आफैँले छद्म नाम राखेर एउटा पुरस्कार संस्थानको स्थापना गर्नुहोस् । अथवा कुनै पूर्व स्थापित पुरस्कार समितिलाई अर्कैको हातबाट आर्थिक सहयोग गर्नुहोस् । वा साम दाम दण्ड भेदका कुनै पनि निति अख्तियार गरेर हुन्छ कि प्यार गरेर हुन्छ पुस्तक प्रकाशनलगत्तै तपाईँकै पुस्तकलाई पुरस्कृत हुने चाँजोपाँजो मिलाउनुहोस् । यसो गर्नका लागि केही अगि्रम सर्त राख्न सक्नुहुन्छ । पुरस्कृत भइसकेपछि पुरस्कारको राशी तिनै संस्थानलाई फिर्ता गर्ने सर्त । आफ्नै नातेदारको कुनै अनाथ आश्रम वा स्वउपकारी संस्थालाई रकम हस्तान्तरणको सम्झौता गर्नुहोस् र सुटुक्क गएर फिर्ता लिएर आउनुहोस् । यसो गरेपछि नाम पनि आफ्नै र दाम पनि आफैँसँग रहन्छ । भोलिपल्ट अखबारले समाजसेवीको पगरी पनि तपाईँकै शिरमा लाइदिन्छ । लेखक सम्पादक हुँदै तपाईँ समाजसेवी हुन पुग्नुहुनेछ । यत्तीको नाम कमाएपछि तपाईँलाई गोष्ठी सेमिनार अन्तकृया प्रतिकृया विमोचन उद्घाटन चियापान सुरादेखि सुन्दरीपानसम्मका अर्थपूर्ण कार्यक्रममा निम्तो आउनेछ । यो खर्चिलो समयमा हरेक दिन खान बोलाउनेको लर्को लाग्नुले तपाईँको रासन जोगिने कुरामा दुई मत छैन । तर यस्ता कार्यक्रममा जाने झर्को मान्नु भएन भने तपाइँको मासिक खाना खर्चको बजेट बँच्दछ र त्यो रकमलाई बर्षभरी जम्मा गरेर फेरि अर्को छद्म नाम राखेर पुरस्कार प्रायोजन समिति बनाएर आफ्नै आगामी पुस्तकलाई पुरस्कृत गर्न सक्नुहुनेछ । यत्ती भएपछि कृति पनि फैलियो र इज्जत पनि झाङ्गियो । यस्तो फाइदा हुने काइदाको काम छोडेर तपाईँ लेख माग्दै नहिँड्नुहोस् भन्ने मेरो सुझाव छ ।
मजस्तो कुनै रेडियो टेलिभिजन वा अखबारसँग नाताको नेतीसम्म नगाँसिएको विशुद्ध खेलकलाई लेखक भनाएर लेखक बनाएर लेख प्रकासित गर्दा तपाईँलाई बेफाइदै बेफाइदा छ । रेडियोकर्मीका लेख छाप्नु भयो भने तिनले तपाईँ र तपाईँको पुस्तकको गुनगान गाउँनेछन् । टेलिभिजनकर्मीका लेख छाप्नु भो भने तिनले तपाईँलाई र तपाईँको पुस्तकलाई देखाउनेछन् । छापाखाना र अखबारकर्मीका लेख छाप्नु भो भने तपाईँ र तपाईँको पुस्तकको समालोचना र विज्ञापन छाप्नेछन् । यि र यस्ता दिग्गजहरुका लेख छाप्न छोडेर मजस्ता तन्नमको लेख छाप्छु भनेर तपाईँ हिँड्नुले मगज बिगि्रएको र गिदी थिगि्रएको शंका लाग्न थालेको छ । रातोरात चर्चाको शिखरमा पुर् याउने महान लेखकहरुलाई बाइपास गरेर तपाईँले स्वयम्को समय शक्ती र सम्पत्तिको नास गर्दै हुनुहुँन्छ भन्ने मलाई लागेको छ । यही लाग्नुले पनि आजका मितिसम्म तपाईँले मागेको लेख पठाउनु त परै जाओस् लेख्नसम्म सकेहो छैन । लेखिहालेँ भने पनि मैले लेखेको लेखको कुनै अर्थ रहने छैन र उल्टै तपाईलाई फलानाको लेख किन छापेको भनेर आक्षेप आउने निश्चित छ । बेकारमा किन मेरा कारण तपाईँ टाउको दुखाउनुहुन्छ मैले लेखै नपठाएपछि न तपाईँको टाउको दुख्छ न त मेरो र न त मेरो बाउको दुख्छ । त्यसैले मैले लेख नपठाउने निर्णय गरेँ । फुटे मेरै पित्त फुटोस् तपाईँ चित्त नदुखाउनु होला ।
 Email : charcheet_dhungel@yahoo.com 
दोहा कतार

0 comments

Leave a comment