BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

विदेशी सपना र मेरो पाठ

Published on Tuesday, October 11, 2011 11:18 AM //

                         -कमल क्षेत्री/कतार-
त्रिभुवन विमानस्थलबाट हवाइजहाजमा उड्दा एक पटक सपनाहरुले आकाश नछुने नेपालीहरु शायद नै होलान्, चाहे ती कमाउन विदेशिएका हुन् या पढाइका लागि या अरु कुनै लक्ष्य लिई। विशेष गरी सानो आधार लिई ठूलो सपना बोक्ने वर्गमा चाँही हामी धन कमाउन विदेशिएकाहरु नै पर्ने रहेछौँ भन्ने कुरा १९ वर्षको उमेरमा ३ वर्षअघि जनवरी १७ तारिखमा कतारको दोहामा कुनै एउटा इन्टरन्यासनल एअरपोर्टमा गरिएको भव्य स्वागतबाट नै थाहा पाएको थिएँ मैले। तैपनि केही त पक्कै छ यो परदेशमा भन्ने लागेको थियो या भनौँ खुल्ला आँखामा कालोपट्टी बाँधेर देखेका ती सपनाहरु झन बढी झ्याङ्गिदै थिए। नाइँ, होइन, छैन भन्नै मानेकै थिएन यो मन। त्यो विमानस्थलबाट बाहिर निस्केको महिनौँ बितेपछि बल्ल मेरो सपनाको सागरमा मैले आफै बनाएको पुल उतिखेरै भाँच्चिएको रहेछ भन्ने थाहा पाएँ। परदेशलाई सबथोक थानी नेपालबाट उडेको थिएँ म। यहाँ आएर बल्ल देखेँ यहाँको सत्य।

त्यसपछि त सपनालाई परदेशी कम्मलमा बेरी घिसार्दै हिँड्ने सुट्केशमा पोको पारी त्यही बाटो फर्कनुपर्‍यो भन्ने सोच यो मनमा नआएको कहाँ हो र। तैपनि ती सपनाहरु जस्ताको त्यस्तै मझेरीमा छरपस्ट परेको सम्झिन सकिनँ। अनि फेरि त्यही कम्मल तानेर उराठलग्दा रातहरु काटेँ। जीवनका कुनै दर्शन काम लागेनन् मलाई। न “कर्म गर फलको आश नगर” भन्न सकेँ, न त गान्धी को “एउटा गालामा थप्पड पर्‍यो भने अर्को गाला थाप्नू” लाई नै मान्न सकेँ।
ममीले (मलाई ममी भन्न सिकाइएकोले म ममी नै भन्छु)खाना पस्किँदा तरकारी मिठो भएन वा अरु कुनै बहाना बनाएर खाना नखाइदिँदा तिनको मन कति रोएको होला- हरेक बेलुकी सुख्खा खबुस (एक प्रकारको प्याकेटमा आउने रोटी) खाँदा सम्झने गर्छु म। ती कठ्याङ्ग्रिने जाडो याममा बिहान उठी खाजा बनाई क्याम्पस जानुभन्दा पहिले मलाई उठाउँदा अटेर गरी खाजा नखाई क्याम्पस जाँदा तिनको मन दुखेको हरेक दिन दिउँसो १२ / १ बजेसम्म केही नखाइ काम गर्दा याद आउँछ मलाई। हरेक रात सुत्नुभन्दा अगाडि झुल झार्‍यो कि झारेन भनेर नहेरी नसुत्ने मेरी ममीको याद हरेक पल्ट सुत्नु भन्दा अगाडि बत्ति निभाउन खोज्दा आउँछ मलाई। जब-जब जुन,जुलाइ को ५२ डिग्रीको तापले मेरो शरीरबाट पसिनाका धाराहरु बग्छन्, त्यो समयमा आफ्ना आवश्यकतालाई बली चढाई मेरा/हाम्रा सपना किन्ने मेरा बाबाको याद आउँछ मलाई। मेरा बालसखा, मैले थर्काउन पाउने मेरो भाइसँग हुने हरेक कुकुर-बिराला लडाईंहरु याद आउँछ मलाई। समय बित्दै जाँदा बिस्तारै मान्छेहरुसँग चिनजान बढ्यो, भेटघाट हुन थाल्यो, अलिकति खुकुलो हुँदै गए मेरा सोचाइ, मेरा सपना। मजस्ता निकै नेपालीहरुसँग मेरो भेट भो, जसका कथाहरु ठ्याक्कै मेरो कथासँग मिल्दाजुल्दा थिए। कुनै रमाइला थिए, कुनै कहालीलाग्दा थिए। कसैकी श्रीमतीले छोडेका पीडा थिए त कसैका गर्लफ्रेन्डले। कोही विवाह गरेको हप्ता नबित्दै विदेशिएका थिए, कोही आएको ८-१० वर्ष हुँदा पनि फर्किएका थिएनन्। आ-आफ्नै थिए बाध्यता र विवशताहरु। यसबीच, धेरैका सपना त्रिभुवन विमानस्थलमाथि विलीन हुनुभन्दा पहिले देखिएका जस्ता थिएनन्। ती या त चकनाचुर भैसकेका थिए या त ‘मोडिफाइ’ भैसकेका थिए। अनि बिस्तारै मेरो मनमा एउटा सोचले घर बनायो जीवन यस्तै हो, यसैगरी जिउन सिक्नुपर्छ। हिम्मत हार्नुहुँदैन आदि-आदि । अनि त्यो नेशनल चोक र तरवार गेटअगाडि हरेक शुक्रबार भेटिने चेहेराहरुमा मेरो जस्तै सम्झौता पाएँ, सपना पनि बदलिएको पाएँ।
अनि अर्को कथा सुरु भो, त्यो थियो हाम्रो पीडा, हाम्रो बाध्यता, हाम्रा पीरमर्काहरुको। आफ्नै छोरीको विवाहको धून मोबाइलबाट सुन्न बाध्य बाबुको आँसु देखेको छु मैले। परिवारका सदस्यको देहान्त हुँदा फेसमास्क (गर्मीबाट बच्न अनुहारमा लगाइने कपडा)ले अनुहार ढाकी काम गरेको देखेको छु मैले। लाखौं ऋणधन गरेर आएका, तर वर्षौँसम्म पनि तिर्न नसकेकाको कथाका पाना-पाना सुनेको छु मैले।
मलाई थाहा छ मैले तिनका दु:ख बाँडेर बाँडिने छैनन्। तर पनि यो कतारी जीवनले पाठ सिकाएको छ मलाई, मेरो परिवारप्रति माया, ममता गर्न सिकाएको छ मलाई। मित्रताको महत्व सिकाएको छ मलाई। आमाको हातको खानाको मिठास सम्झाएको छ मलाई। बाबाको थर्काइमा मेरो भविस्य थियो भन्ने बुझाएको छ मलाई। सपनाहरु समयसँगै परिवर्तन हुन्छन् “अरुलाई हेरेर सन्तुष्ट हुन सिक” भन्ने पाठ सिकाएको छ मलाई।

Tags:

0 comments

Leave a comment