BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

च्याँखुरीलाई अर्को रेगिस्तानी चिठी

Published on Saturday, January 7, 2012 11:54 AM //


प्रिय च्याँखुरी!

माया र सम्झना।
म आधा सन्चो र आधा विसन्चो छु। तिमीलगायत काठमाण्डौ खाल्डोवाशी नेपालीहरु पुरै सन्चो छौ भन्ने आशा लिएको छु।
सर्वप्रथम यो मोवाइल र इन्टरनेटको जमानामा हजुरबाजे पाराले हातले चिठी लेख्नु पर्दा दुखी छु। अख्तियारले वाग्लेलाई जेलमा जाक्दा अरु वाग्लेकै जस्तो कृति गर्नेहरुलाई पिर परे जस्तै मलाई पनि चिठी लेख्नुपर्दा त्यस्तै भएको छ। मेरै बाउले पनि मौखिक सम्चारले जिन्दगीभरि काम चलाएर कहिलै नलेखेको यस्तो चिठी लेख्नु पर्दा मलाई अल्छी लागेको मात्र हैन रिसले पारो तात्तेको छ। त्यसैले म कुर्सी नपाएको नेता झैँ मनैमन मुर्मुरिएको छु। तिम्रा बाऊ विदेश जाउँन् न चिठी लेखुन् भनौली। तिनै बाउले मलाई जन्माएर हिजोअस्ती मात्रै मेरा घरआँगनमा नवनवेली दुलही भएर भित्रिएकी तिमीलाई के थाहा मेरा बाउको रामकहानी।

हजुरवाले भुटानको चिराँख गएर ‘चिराँखे ढुंगेल’ भनेर नाम कमाए जस्तै मेरा बाउले भारत गएर धन कमाएर फर्केपछि हजुरवाको पुर्र्ख्यौली रेकर्ड तोड्नेगरी ‘चार लाखे’ भन्ने नाम कमाएका थिए। भारतको नागाल्याण्ड र आसमको सिमानामा पर्ने धनश्री खोलाको किनारमा मेरा बाउले बैँशका रहर लाग्दा दिन तल्सिङ्गको खेत जोतेर विताएका छन्। अँधियाबाट आएको विप्रेषणले आठ गोटा जहानको पालन पोषण गरेर हुर्काएको सम्झेर मनै जिरिङ्ग हुन्छ। तिमीलाई चाँही कोनी मलाई चाँही बाउको सो कार्य बहादुरी लाग्छ। भिक्टोरिया क्रस वा परमविर चक्र पाएर गजक्क परेका नेपाली सिपाही जस्तै लाग्छन् मलाई मेरा बाउ। मेरी आमालाई आसाम ल्याएपछि आमा माथि जानुअघि पहाडमा छोडेर मुग्लान भाँसिएका बाउले कहिलै चिठीचपेटो लेखेनन्। बरु आउनेजानेलाई मुखे खबर पठाए। अव तिमी नै भन मेरा बाउले चिठी लेखेछन् त? बाउले नै नगरेको काम म कसरी गरौँ? बाउको धर्म थाम्नु परेन छोराले? तर तिम्रो मन राख्नका लागि मन नलागी नलागी यो चिठी लेख्दैछु र तिमी पढ्दैछौ।
फुन गरे पिच्छे चिठी लेख्नु भनेर फुल पारेर निस्किएको कुखुराले जस्तो करकरकरकर गर्ने गरेकीले यो चिठी लेख्न बसेको थिएँ, एउटा गज्जबको जुक्ती जन्म्यो। खर्लप्पै आधि तलबको कार्ड हालेर सर्लक्कै नसकुञ्जेल फुन राख्नु नभन्ने तिमीलाई यस्तै ‘छ महिने चिठी’ लेखेर बस्ने जुक्ती। यस्तो गहकिलो उपायलाई यहाँ भएका सवै नेपालीले अपनाए त गाँठे! नेपालमा दोब्बर रेमिट्यान्स भित्रिन्थ्यो होला! यो जुक्ती आए देखि छेउ न टुप्पाका गफ गरेर पैसोको खोलो बगाउने ‘तरतिव’बाट मुक्ति पाएको जानकारी गराउँछु। तिमीलाई निकै लाटी ठान्थेँ, बाठी पो रहिछौ।
तिमीले मेरो चिन्ता लिनु पर्दैन। म खै के जातीमा रोपिएको मुला जस्तै मोटाएको छु। आएको बर्षवटा दिनमै यसरी मेटाएकाले पाँचवटा बर्षमा घर फिर्दा प्लेनका दुईवटा सिटको टिकट लिने छाँट छ। यही तालले मोटाउँदै जाने हो भने संसारकै होचा खगेन्द्र थापामगरकै जस्तो नाम संसारकै मोटो भएर मैले पनि कमाउने सम्भावना छ। यसरी दुई नेपालीले नाम कमाएपछि जापानलाई अन्य देशसँग मागेर कम्मल दिन चाहने निकम्मा नेपाली सरकारको बेइज्यतिको ढाकछोप हुन्छ भन्ने ठानेको छु। यो वेलामा सरकारलाई सहयोग गरेपछिका फाइदा लिन म्यानपावर खोल्ने विचार छ। म्यानपावर खोलेपछि जाली पासपोर्टमा अन्य देशका नागरिकलाई खाडीमा बेचे पनि भो। नेपालीहरुलाई नै नक्कली भिषामा खाडीमा पठाए नि भो। के नै नाप्छ र नेपाली नियोगले कार्वाहिको सिफारिस पठाएर? सरकारको पुरस्कार सहितको भब्य र सम्मानित समर्थन पाएपछि? यस विषयमा तिम्रो राय लेखि पठाउनु।
तिम्रा भाइ र बाउलाई पनि दशैँ छ। तिम्रो भाइ पनि मोटाएर मोर्चा खाएको ब¨ुर जस्तो भएको छ। मसँग प्रतिस्पर्धा गर्छु भनेर अड्डी कसेर खान बसेपछि एकै साँझमा तिन साँझ मलाई पुग्ने जत्ती त ऊ एक्लैले बजाउँछ। राजेश हमालको चेलो हुन्छु भनेर कपाल पालेको छ। तोरीको गुन्द्रुक जस्तो भयो भनेर त्यही कपालमा दिनैजसो बाउ छोराको पानी बाराबारदेखि हात हालाहालसम्म हुन्छ। तिम्रो भाइले नेपाली आठ हजार हालेर किनेको डिभिडि हेर्न तिम्रा बाउ र मैले उसलाई भन्नै पर्दैन आफैँ दिन्छ, दराजमा चावी ठोकेर। त्यही डिभिडिको विषयमा पनि मैले निःशुल्क ‘महाभारत’ हेर्न पाएको छु। तिम्रो भाइ कान्छोले ल्यापटप कान्प्यूटर लिने भनेर त्यो झगडाको गुण डिभिडि बेच्न लागेको छ। बाउ नबेच भन्ने र ऊ बेच्छु भन्ने। यस विषयमा बाउ छोराको ‘रामायण’ हेर्न पाएर म गदगद भएको छु। अव कान्प्यूटर लिएपछि बाउ छोराको ‘जय हनुमान’ हेर्न पाउने कुरामा म ढुक्क छु।
तिम्रा भाइले बुहारी हेरीसकेको छ। तिम्रा बाउले पानी चल्ने ल्याए केही फरक पर्दैन भनेकाले उसले पानी चल्ने केटी हेरेको हो। त्यो केटीले काठमाण्डौमा पानी बेच्ने र अरुले पानी किनेर खाने भएकाले त्यो केटी पानी चल्ने भएकी हो। त्यही केटीलाई दिनैजसो अन्तर्राष्ट्रिय फुन गर्छ। महिना वितेसी उसका हातका तलब देखेर म छक्क पर्ने गर्छु। बाह्रवटा सय रियल तलब थाप्नेले पाँचवटा सय हातमा देखाउँदैन। कहाँबाट त्यो मोरीको फुन लम्बर पायो? कसले दियो? त्यो केटी हेर्दा कस्ती छे? घरगरि खाने परेकी छे कि नाइ? कहिले सालीसँग कुरा गरेँ भन्छ। कहिले सासुसँग कुरा गरेँ भन्छ। कहिले सानीमा सासुसँग कुरा गरेँ भन्छ। मोराले मोवाइल पनि गाउँमा भिट्टा किन्न पुग्ने गरिको पैसाले किनेको छ। हाम्लाई छुन त परै जाओस् हेर्न धरी दिँदैन। यो विषयमा पनि बाउ छोराको ‘मध्यपूर्वी युद्ध’ शुरु हुन्छ र हेर्न पाएको छु। त्यसो त ऊ मात्र हैन, अन्य धेरै नेपाली ठिटाहरु कुनै साथीले केटीको लम्बर दिए भने हरिविजोक हुनेगरि फुन गर्छन्। एउटाले पाएको लम्बर ‘एक कान दुई कान मैदान’ भने जस्तो यहाँका ठेट्नाले मुखैमा कण्ठ पार्छन्। यहाँको एउटा पत्रिकामा ‘रेखा थापालाई हिरो चाहियो’ भन्ने खबर छापिएकाले त्यो पढेपछि तिम्रो भाइ नेपाल जाने भनेर जिद्धि गर्न थालेको छ। आएको अठार महिना नभइ घर फिर्छु भनेकाले पनि तिम्रा बाउ र भाइको ‘बादविवाद प्रतियोगिता’ सम्पन्न हुन्छ। त्यही भएर म चाहीँ टिभी, डिभिडि र कान्प्यूटर नकिन्ने निचोढमा पुगेको छु। राजेश हमालले भनेजस्तो ‘भैँसी नै नपाली दुध खान पाएपछि किन भैँसी पाल्नु’?
मेरी हालकी आमाले गोबरले कपाल धुँदा पनि मुलायम नै देख्थेँ। तिमीलाई त्यो चल्दैन भन्यौ। रियल जुस कम्पनिको सावुन र श्याम्फु प्रयोग नगर्ने भनेर तिमीले पठाइदिनु भनेका सावुन र श्याम्फु कोही आउँदा पठाइ दिनेछु। आजलाई यो चिठी यहीँ सक्ने निधो गरेँ। पुग अपुग मिलाएर पढ्नु। नत्र ‘मैले उवेलामा पढाएको कहाँ गयो?’ भनेर तिम्रा बाउले भन्लान्। मेरो जस्तै तिम्रो पनि जय होस्।
रेगिस्तानबाट,
तिम्रो चर्चित

2 comments

  1. सत्यता बोकेको पत्र रैछ निकै राम्रो लाग्यो । ( चर्चित जीको आफ्नै रियल घटना हो । है भ्रममा नपर्नुस)

    ReplyDelete