बडी बिल्डर्सको साहित्य–प्रेम
Published on Sunday, January 8, 2012
12:34 AM //
मनोरञ्जन
![]() |
-रामप्रसाद ढुङ्गेल

विगत चार वर्षदेखि कतारको टोयोटा कम्पनीमा अकोमोडेसन इन्चार्जको रुपमा काम गरिरहेका लक्ष्मीको परिचय यतिमै सीमित छैन । नेपाल टेलिभजनबाट २०५४ सालमा प्रसारित सिरियल बाबुको बिहेमा खलनायकको भूमिका निर्वाह गरिसकेका लक्ष्मी एक कलाकार पनि हुन् । साहित्यमा विशेष रुचि राख्ने उनले जीवन, दर्शन, माया, प्रेम र विछोडसम्बन्धी विविध रचना समेटिएको एक पुस्तकको पान्डुलिपि पनि तयार पारिसकेका छन् । आगामी वर्ष त्यसलाई प्रकाशनमा ल्याउने उनको विचार रहेछ । त्यसो त हरेक वर्ष एक महिने छुट्टीमा नेपाल जाँदा केही न केही नयँँ काम गर्ने उनको योजना रहेछ । गत जेठमा नेपाल पुगेका उनले कान्तिपुर टेलिभिजनबाट प्रसारित हाँस्य टेलीशृंखला हर्के हल्दारमा अभिनय गर्ने अवसर पनि पाएछन् । उनलाई कलाकर्मी प्रकाश सुवेदीले आफ्ना अन्य शृंखलामा पनि अभिनय गर्ने अवसर दिएका रहेछन् तर कतारको जागिरले उनलाई अगाडि बढ्न दिएन ।
गोर्खाका जगतराम बर्देवाको रामकहानी पनि कम मर्मश्पर्शी छैन । नेपालमा काठमाडौं–काँकडभिटा रुटको नाइट बसका ड्राइभर जगतरामको दैनिकी परिवारका साथमा सुखैसँग बित्दै थियो । तर, दुर्भाग्यवश एक दिन कारसँग आफ्नो बस दुर्घटनामा परेपछि जगतराम नख्खु जेलमा दिन बिताउन विवश हुन्छन् । सवारी दुर्घटना भएको १३ दिनपछि कार चालकको मुत्यु भएपछि प्रहरीले उनको बसमा खानतलासी गर्छ । दुर्भाग्यवश, यस क्रमा माओवादी छापामारले छाडेका हातहतियार उनको बसमा फेला पर्छन् । नेपालमा सरकार र माओवादी विद्रोहीबीच सशस्त्र द्वन्द्व चलिरहेको अवस्थामा राजमार्गमा नाइट बस चलाउनु कम जोखिमपूर्ण काम थिएन जगत्रामका लागि । आफ्नै गाडीमा पेस्तोल र अन्य विस्फोटक पदार्थ लुकाएर राखेको भेटेपछि ड्राइभर जगतराम पनि प्रहरीको थप शंकाको घेरामा परेछन् । यसरी आफू निर्दोष भए पनि पुनः जेलमा पर्नु पर्दा जगतराम आफ्नै भाग्यलाई दोष दिँदै जेलमै टाक्सिएर बाँच्न बाध्य हुन्छन् ।


जेलको निस्सासिँदो वातावरण, बिचल्लीमा परेको आफ्नो परिवार र आफ्नो निर्दोशपनको त्रिकोणात्मक कथालाई लोकलयमा उन्दाउन्दै अनि जेलभित्रको पुस्तकालयका पुस्तकहरु पढ्दापढ्दै जगतराममा साहित्यिक चेतना पसिसकेको हुन्छ । जेलजीवनको करिब डेढ वर्षपछि आफ्नो जीवन कहानीलाई एचबीसी एफएमका साहित्यिक कार्यक्रम प्रस्तोता दीपक शर्मामार्फत सार्वजनिक गर्ने अवसर पाएका उनले श्रोताहरुबाट अनपेक्षित फिडब्याक पाउँछन् । उनको हृदयश्पर्शी कहानी सुनेका केही श्रोताहरु पmलफूल लिएर सहानुभूति प्रकट गर्न जेलमा भेट्न आउन थालेपछि उनले साहित्यमा अनौठो शक्ति हुँदोरहेछ भनी आजीवन साहित्यको पूजा गर्ने प्रण गरेका रहेछन् । नख्खु जेलमा दुई वर्ष १८ दिन बसेर बाहिर आएपछि फेरि स्वदेशमै बस्ने कि बिदेसिने भन्ने अन्योलमा झुन्डिदा झुन्डिदै कतार हान्निएका रहेछन् जगतराम । हिजोआज गाडी कुदाउँदै भए पनि श्रुतिमधुर गजल रचना गर्ने जगतराम चार महिनाभित्रै एउटा गजलसङ्ग्रह निकाल्ने तरखरमा छन् ।
फरकफरक कथा, फरकफरक व्याथा भए पनि शारीरिक समानता भएका यी दुवैको भेट भने साहित्यिक कारणले भएको हो । नवोदित साहित्यिक मोबाइल पुस्तकालयको मासिक वाचन शृंखलामा भेटिएका यी दुवैको शरीरझैं साहित्यिक उचाइ पनि फलोस् अनि फुलोस् । हाम्रो अग्रिम शुभकामना ।
![]() |
0 comments